१९ आश्विन २०८१, शनिबार

विपद् नियन्त्रणका लागि प्रविधि, जनशक्ति र बजेटको अभाव




काठमाडौ/ नेपालमा विपद्का नियन्त्रण गर्नका लागि पर्याप्त प्रविधि, जनशक्ति र बजेटको अभाव रहेको यहाँ औल्याइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा शनिबार काठमाडौमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना अन्र्तगत, नेपालमा विपद् : चुनौती र सम्वोधन विषयक कार्यक्रममा बोल्दै राजनीतिज्ञ र विज्ञहरुले सो कुरा बताएका हुन ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले यसपटकको विपद् राज्य र धनीको लापरवाही र मनोमानीका कारण आएको बताउदै सँधैभरि प्राकृतिक कारण विपद् आएको हो भन्नु गल्ती हुने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पर्याप्त बजेट नहुँदा पूर्वतयारी, राहत तथा उद्धार गर्न नसकिएको बताए । उनले भने विपद्मा लड्नका लागि विभिन्न खालका क्षमता बढाउन २० अर्ब रुपियाँ आवश्यक छ तर चालु खर्च बजेट चार करोड रुपियाँको मात्र छ, त्यो रकमले राम्रो एम्बुलेन्स पनि किन्न सकिदैन, डडेलो निक्कै बढेको छ त्यसको नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउन जरुरी छ ।

भूगर्बविद डा. सुवोध ढकालले सडक बनाउदा ध्यान नदिदा समेत कठिनाइ आएको बताउदै सडक विभागमा भूगर्बविद नराख्नुले पनि सडक संरचना बलिया नहुने र विपद् निम्त्याउने गरेको बताए ।

हामीले सीमित कर्मचारी र उपकरणमा मौसम सम्वन्धी पूर्वाअनुमान गरिरहेका छौ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश कर्माचार्यले भने यी कुरामा सरकारले ध्यान दिन जरुरी छ ।

सो अवसरमा पहिले भएका विपद् विर्सेर फेरि विपद् आउन नदिने गरेर काम नगर्दा समस्या भइरहेको बताइएको थियो । सो क्रममा बोल्दै विपद् पूर्वतयारी सञ्जाल नेटवर्कका सल्लाहकार दिनानाथ भण्डारीले भने हामीले हिसाव गर्ने हो भने धेरै विपद् भोगेका छौ तर विर्सेदै जान्छौ त्यसैले विपद्को प्रभाव कम गर्न सक्ने गरेर काम गर्नुपर्छ र विपद्बाट उठ्न सक्ने गरेर तयारी गर्न जरुरी छ ।

सन् २००० मा भारत र पाकिस्तान धेरै कुरामा समान थिए तर पाकिस्तानले ठूला विपद् भोग्नु परेपछि आज पाकिस्तानको अवस्था कस्तो छ सबैले देखेकै छौ नेपालले पाकिस्तानबाट पाठ सिक्न जरुरी छ ।

उनले शासनतन्त्र र कर्मचारीतन्त्र सुधार भए मात्र विपद्ले ल्याउने क्षति कम गर्न सकिन्छ ।

राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका सदस्य डा. सुमित्रा ढकालले विकास निर्माण गर्दा ध्यान दिन सके पनि विपद्मा कम क्षति हुने बताइन । कार्यक्रममा विज्ञहरु डा. रविनराज निरौला, डा. मन्दिप सुवेदी, डा. उत्तमवाबु श्रेष्ठ लगायतले विपद्ले गर्ने क्षति रोक्न गर्नु पर्ने काम बारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रम पूर्वमन्त्री तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष गिरीराजमणी पोख्रेलको अध्यक्षतामा भएको थियो । नेता पोख्रेलले यस्तो खालको बहस देशैभर गर्न जरुरी रहेको बताउदै पूर्वाधार बनाउदा खास गरेर स्थानीय तहले धेरै ध्यान दिनु पर्ने, विपद्मा लड्न तीनै तहका सरकार र समुदायलाई जोड्नु पर्ने आवश्यक्ता औल्याए ।

सो कार्यक्रम पूर्वमन्त्री तथा माओवादी नेता गणेश साहले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार