३१ भाद्र २०८१, सोमबार

भारतमा योजना नेपाल फर्केर व्यवसायिक तरकारी खेतीमा





टीकापुर/रोजगारीका लागि भारत भासिएका टीकापुर एक युवा स्वदेश फर्किएर व्यवसायिक तरकारी किसान हुनुभएको छ । पाँच वर्ष अघि कर्णाली नदी फुटेर टीकापुर नगरपालिका–८ बनगाउँमा बगाएका बेला भारतको गुजरातमा भारी बोक्ने काममा लागेका बनगाउँमा रामप्रसाद चौधरी त्यहीबाट स्वदेशमै तरकारी खेती गरेर रोजगार बन्ने सोचमा घर फर्केर व्यवसायमा लाग्नु भएको हो ।

‘गुजरातमा काम गर्दा साथीले ढुङ्गै ढुङ्गा भएको डेढ विघा जतिमा मुला लगाएको देखे साथीलाई सोध्दा १५ रुपियाँ किलो बच्छु भनेको सुने, दिनरात भारी बोकेको सम्झेँ, गाउँमा बाढी पसेको सम्झेँ, आफ्नो मलिाले माटो भएको जग्गा सम्झे, तरकारी खेती त यहाँ पनि होला सोच्दै फर्केर आएँ,’ रामप्रसाद भन्छन् ‘अञ्जना कृषि फर्म दर्ता गरेर आफूसंग भएको दश कठ्ठा मध्ये केहीमा तरकारी खेती शुरु गरे मुला, टमाटर लगाए, फल्न त फल्यो कमाइ राम्रो भएन ।’

तरकारी खेतीले घर धान्देन कि भनेर विचलित भैरहेका बेला रामप्रसादलाई अर्को संयोग मिल्यो । चिनेको व्यक्ति दिगो विकास समाजका कर्मचारी प्रभु ढकालले तालिम लिनुपर्छ तरकारी खेती गर्नुपर्छ भनेपछि तीन दिनको तालिम लिएको बताउने रामप्रसाद कक्षा दशसम्मको अध्ययन गरेको भए पनि तरकारी खेती बारे भन्ने तालिममा मात्रै धेरै कुरा सिकेको बताउनुहुन्छ । तालिम लिएर खेती गर्दा कमाइ बढेको, जोस, जाँगर थपिएको रामप्रसादको अनुभव छ ।

खेतीमा लागेपछि सहयोगी थपिए
व्यवसायिक तरकारी खेतीमा लागेका रामप्रसादलाई हरियो वन कार्यक्रमले एक हप्ताको तालिम दियो । तालिमको अन्तिममा प्रतिवद्धता जनाउनु पर्ने थियो रामप्रसादले आफू एक विघामा तरकारी खेती गर्छु भन्ने प्रतिवद्धता जनाएको बताउछन् । यही प्रतिवद्धताअघिल्ला तालिम, तरकारी खेती गर्ने हुटुहटीले रामप्रसादले एक विघा जग्गा भाडामा लिएका छन् ।

ठूलो जग्गा भाडामा लिएपछि बारीमा बार लगाउन मात्र डेढ लाख खर्च भएको छ । सिजनमा तरकारी खेती गर्न तयार भएका रामप्रसादलाई बेमौसममा पनि खेती गर्न त्यसपछि झन सहयोग जुट्यो । भन्छन्, ‘दिगो विकास समाजले साढे तीन लाख बराबरको कृषि सामग्री दियो, टीकापुरनगरपालिका–८ ले एउटा टनेल दियो, कृषि ज्ञान केन्द्रलेपानी मोटर, पोषण ट्याङ्की दिएको छ ।’

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बनगाउँ क्षेत्रका किसानले तरकारी खेती गरेर राम्रो प्रगति गरेका बताउनुहुन्छ । ‘स्थानीय उत्पादन बढाउने योजना अनुसार कृषकलाई पालिका र अन्य सहयोगी संस्थाबाट सहयोग जुटिरहेको छ’ वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, ‘’रामप्रसाद चौधरी लगायतका युवाहरुले ठूलो परिमाणमा बाह्रै महिना तरकारी खेती गर्दा तरकारी आयात प्रतिस्थापनमा सहयोग पुगेको छ यसमा दिगो विकास समाज भजानी जस्ता संस्थाको सहयोगले टेवा पुगेको छ ।’

‘महिनामा दुई हजार पाँच सयमा भारतमा काम गरेको म अहिले मासिक ७० हजार बराबरको तरकारी बेचिरहेको छु‘ रामप्रसाद भन्छन् ‘’तरकारीको अभाव छ युवाले मिहिनेत गरे बजार छदैछ कमाइ पनि हुन्छ तर कोरा युवालाई सीप सिकाएर जोस्याउन स्थानीय सरकार लाग्नुपर्छ ।’ रामप्रसादको तरकारी बारीमा श्रीमती र बुबाले सघाउछन नपुगेको बेला दैनिक ६०० ज्यालामा अरुलाई काममा लगाउने गरेका छन् ।

बारीमै बजार
व्यवसायिक खेती गरेको पछिल्लो एक वर्षको अवधिका रामप्रसादले तरकारी बेचन बजार जानु परेको छैन् । टीकापुर, राजापुर, सत्तीका व्यापारी बारीमै पुगेर लैजाने गरेका छन् । चौधरी एक वर्षमा नौ लाख जतिको तरकारी बिक्री गरेको अनुमान गर्नुहुन्छ ।

रामप्रसादको बारीमा अहिले सात कठ्ठामा भिण्डी, चार कठ्ठामा लौका, दुई कठ्ठामा करेला, तीन कठ्ठामा बोडी, डेढ कठ्ठा काक्रा फलिरहेका छन भने केही जग्गा खुर्सानी लगाउन तयार गरिएको छ ।

साउनमा ७० रुपियाँ किलो लौका, ८० रुपियाँ भिण्डी, करेला ७० मा बिक्री भएपनि अहिले भाउ आधा घटेको छ तर बोडी एक सय रुपियाँ किलोमा बिक्री भैरहेकाले कमाइ भैरहेको रामप्रसादको भनाई छ ।

रामप्रसादको बारीमा जेठमा रोपेको तरकारी साउनदेखि फल्न शुरु भएको हो ।टीकापुर नगरपालिका–८ बनगाउँ तरकारीका लागि पकेट क्षेत्र हो । यहाँ रामप्रसाद जस्तै धेरै किसान तरकारी खेतीमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार