१९ बैशाख २०८१, बुधबार

सोडारीले गरे सुदूरपश्चिमको चौथो मुख्यमन्त्रीको रुपमा सपथ र पदभार



धनगढी/ सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई सपथग्रहण गराएका हुन । प्रदेश प्रमुख मियाले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

सपथग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री सोडारीले सुदूरपश्चिमको विकासका लागि सबै राजनीतिक दल लगायतका क्षेत्रसंग सरसल्लाह र सहकार्य गरेर जाने बताए ।

मुख्यमन्त्री सोडारीले सत्ता गठवन्धनका दलहरुसंग छलफल गरेर चाँडै मन्त्री परिषदलाई पूर्णता दिने पनि बताए ।

उनले बिहीबार राति नै मुख्यमन्त्री कार्यालय गएर आफ्नो पदभार ग्रहण गरे । पदभार गर्दे उनले सुदूरपश्चिम सरकारद्धारा सञ्चालित कार्यक्रमहरुको अनुगमन र मूल्यांकन अझ प्रभावकारी बनाउने पहिलो निर्णय गरेका छन् ।

सपथग्रहण कार्यक्रममा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राष्ट्रिय सभाका सदस्य मदनकुमारी शाह (गरिमा), पूर्व मुख्यमन्त्रीहरु राजेन्द्रसिंह रावल, त्रिलोचन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा ( एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तीका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ ।

सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन् ।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गरेपछि उत्पन्न भएपछि समाजवादीका दलका नेता सोडारीले मुख्यमन्त्री हुने अवसर पाएका हुन ।

यस्तो छ मुख्यमन्त्री सोडारीको विगत
मुख्यमन्त्री दीर्घबहादुर सोडारी बुवा लोकबहादुर सोडारी र आमा कटुदेवीको कोखबाट २०३४ फागुन १६ गते अछाम जिल्लाको हालको मंगलसैन नगरपालिकाको कालागाउँमा जन्मेका हुन ।

सोडारीको माविसम्मको शिक्षा अन्नपूर्ण माविमा भएको थियो भने उच्च शिक्षाको अध्ययन कैलाली बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक तहसम्मको अध्ययन गरेका सोडारी २०४६ सालमै नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूको सदस्य, २०४८ सालमा अछाम क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव भए । उनी कैलाली बुहुमुखी क्याम्पसमा ०५१ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटीको उपाध्यक्ष, अध्यक्ष हुदै जिल्ला सदस्य र केन्द्रीय सदस्य भए ।

२०५० सालदेखि मसुरियामा बसोबास र पार्टी राजनीति थालेका सोडारीले पार्टीको तत्कालिन इलाका कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै छैठौं जिल्ला अधिवेशनबाट २०६६ सालमा पार्टीको जिल्ला सचिव चुनिए । उनी सातौ अधिवेशन बाट २०७० सालमा नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

प्रसस्त पाका पुराना पार्टी नेताहरुको उपस्थिति रहेको कैलाली जिल्लामा पुरानो र नयाँ पुस्ताबीच समन्वयकारी भूमिकामा पोख्त सोडारी ३६ वर्ष कै उमेरमा एमालेको अध्यक्ष चुनिएका थिए । यसका साथै उनले नेकपा (एमाले) को आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न अवसर पाएका थिए ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पदमा उम्मेदवार भएका सोडारी माओवादी केन्द्रका उम्मेदवारसंग पराजित भए भने २०७४ एमाले र माओवादी गठवन्धनका साझा उम्मेदवार भएर चुनाव कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट जितेका थिए ।

कुशल संगठककारुपका क्रियाशील युवा नेता सोडारी २०७४ असारमा सम्पन्न स्थानीयको तहको निर्वाचनमा नेकपा (एमाले) कैलालीका १३ मध्ये ७ वटा तहमा प्रमुख पदमा निर्वाचित गराउन सफल भए । उनकै पार्टी नेतृत्वकालमा एमालेले कैलालीमा पहिलो पटक जिल्ला समन्वय समिति वनाउन सफलता हासिल गरेको थियो ।

उनी ०७४ को सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास र भौतिक पूर्वाधार विकासमन्त्री गरेर दुईपटक मन्त्री भएका थिए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुनु भएका सोडारी सोही बेला समाजवादीको दलको नेता भएका थिए ।

०७९ मा कांग्रेस, माओवादीबाट कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभाक (क) बाट फेरि निर्वाचित हुनु भएका मुख्यमन्त्री सोडारी अहिले समाजवादीको दलको नेता छन् ।

उनले विभिन्न समयमा जापान, बंगलादेश पाकिस्तान, भारत, कम्वोडिया, चीन, थाइलैण्डको भ्रमण गरेका छन् । उनी देश भित्रका जनपक्षीय आन्दोलन तथा लोकतन्त्र पुनस्थापना र सवलीकरणका आन्दोलनमा १४ पटक गिरफ्तारीमा परेर जेल बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार