१७ बैशाख २०८१, सोमबार

करार र ज्यालादारी डाक्टरको भरमा, सेवा सुधार्दै टीकापुर अस्पताल



टीकापुर, माघ १८ गते / टीकापुर अस्पतालको आकस्मिक उपचार कक्ष सुधार गरिएको छ । २०७२ सालमा ५१ शैयाको अस्पताल स्वीकृत भए पछि कोठाकोठामा बेड राखेर चलाइएको आकस्मिक कक्ष व्यवस्थापन गरी १५ ओटा बेड एउटै वार्डमा राखिएका छन् । वार्डमा चार वटा एयर कण्डिशनर राखेर वातानुकूलित बनाइएको छ भने वार्डसंगै दुईवटा शौचालय पनि जोडिएका छन् ।

एकतले भवनमा रहेको आकस्मिक वार्डमा यसअघि गर्मीमा अति गर्मी र चिसोमा अति जाडो हुने गरेको थियो । उच्च रक्तचाप भएर अस्पताल भर्ना भएका टेकबहादुर थापाले भने, ‘एसीमा बसेर उपचार पाउँदा सजिलो भया अस्पतालका सेवा सुधार गर्दै जानुपर्छ ।’

टीकापुर अस्पतालमा शल्यक्रिया कक्ष, एचडीयू, एनआइसीयू, अक्सिजन प्लाण्ट सञ्चालनमा छन् । अस्पतालमा डाइलासिस सेवा सञ्चालनको तयारी हुदैछ । पाँच बेडको डाइलासिस सेवा चलाउन मेशिन आइसकेका छन् । अक्सिजन र पानीको पाइपलाइन बनाइ सकिएको छ । जडान गर्ने प्राविधिक आएपछि सेवा शुरु गरिनेछ । यसका लागि अस्पतालको जनशक्तिलाई तालिम दिइ सकेको अस्पताल विकाससमितिका अध्यक्ष झपटबहादुर सोडारी बताउछन् ।

दैनिक पाँच सयदेखि सात सय जना बिरामी आउने टीकापुर अस्पतालमा साउनदेखि पुससम्म छ महिनाको अवधिमा ६९ हजार ५२२ जनाले सेवा लिएका व्यवस्थापक सरोज चौधरीले जानकारी दिए । वि.सं. २०६४ सालमा १५ शैया र २०७२ सालमा ५१ शैया स्वीकृत भएको टीकापुर अस्पतालमा कैलाली, पश्चिम बर्दिया, डोटी र सुर्खेतका केही ठाउँबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।

करार ज्यालादारीका चिकित्सकको भर
पटकपटक भर्नाको सूचना जारी गरे पनि आवश्यक सङ्ख्यामा चिकित्सक नपाएको टीकापुर अस्पतालले आर्थिक वर्ष आधा भैसकेपछि मात्रै चिकित्सक पाएको हो । यही माघदेखि एक जना बालरोग विशेषज्ञ, एक जना अर्थोपेडिक सर्जन, पाँच जना मेडिकल अधिकृत र एक जना नर्सिङ अधिकृत थपिएका छन् भने रेडियोलोजिष्टमा भने यसपटक पनि आवेदन परेन । नयाँ चिकित्सक थपिए संगै विशेषज्ञ र मेडिकल अधिकृतको सङ्ख्या २४ पुगेको छ ।

चिकित्सक पुगेपछि अस्पतालमा दिनभर लाइन लागेर जचाउनै नपाई घर फर्किनु परेको अवस्थाको अन्त्य भएको छ । यसपाली अस्पतालमा समयमै पालो पाएको टीकापुर ब्लक नम्बर १० का दुर्गाप्रसाद भण्डारीले बताए ।

स्वास्थ्य मन्त्रालयबाट वरिष्ठ अर्थोपेडिक सर्जन, जनरल सर्जन काजमा रहेका छन् । प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ टीकापुर नगरपालिकाले राखेको छ । कोइकाबाट एक जना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ राखिएको छ । प्रदेशका विभिन्न कार्यक्रमबाट अर्थोपेडिक सर्जन दुई, बालरोग विशेषज्ञ, मनोचिकित्सक, जनरल फिजिसियन, एमडीजीपी, दुई जना डेन्टल सर्जन र अस्पतालको खर्चमा एनेस्थेसियोलोजिष्ट भर्ना गरिएका छन् । करार र ज्यालादारीमा भर्ना गरेर चिकित्सकको सङ्ख्या बढेपनि काज र कार्यक्रमबाट काम चलाइएकाले सम्झौता सकिने वित्तिकै बजेट र नयाँ करारको तनाव हुने अध्यक्ष सोडारीको भनाई छ ।

जनशक्ति र पूर्वाधार अभाव
५१ शैयाको अस्पताल हुँदा स्वीकृत भएका दरबन्दीमा नौ जना विशेषज्ञ, चार जना मेडिकल अधिकृत, एकएक जना डेन्टर सर्जन, फिजियोथेरापिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट हुने व्यवस्था भए पनि सबै पद खाली छन् ।

५९ जनाको दरबन्दीमा २७ पदमा मात्रै कर्मचारी छन भने ३२ पद खाली छन् । तर अस्पतालमा विभिन्न कार्यक्रम, स्थानीय तह, दातृ संस्थाबाट थप १३१ जना, अस्पताल व्यवस्थापन समितिबाट २७ जना र काजमा चार जना गरी १८९ जना कर्मचारीबाट काम चलिरहेको छ ।

५१ शैयाको स्वीकृत अस्पताल हाल ७६ शैया चलिरहेको छ । अस्पतालमा नाक कान घाँटीरोग विशेषज्ञ र छालारोगको चिकित्सक छैन भने डाइलाइसिस, सेवा, आइसीयू सेवा सञ्चालनको तयारी भैरहेकाले थप चिकित्सक र नर्सहरुको आवश्यक रहेको छ ।

‘नेपाल सरकारको गुणस्तरीय सेवा सञ्चालन मापदण्ड अनुसार हरेक वार्डमा अलगअलग स्टेशन हुनुपर्ने र हरेक स्टेशनमा नर्सिङ स्टाफ हुनुपर्छ अहिले वार्डहरु जोडिएकाले काम चलाइएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी भन्छन्, ‘डाइलालसिस शुरु हुनै लाग्यो त्यसका लागि फिजिसियन, नर्स र प्रोटोकल अनुसार चलाउन आकस्मिक कक्षमा दुई जना नर्सको तत्काल खाँचो छ ।’

प्रदेश सरकारले टीकापुर अस्पताललाई १०१ शैया बनाउन गरेको निर्णय कार्यान्वयन भएमा मात्रै पूर्वाधार, जनशक्ति र उपकरण उपलब्ध भई अस्पतालका सेवाहरु निरन्तर हुने अपेक्षा गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डाक्टर रेमकुमार राई बताउछन् ।

हाल करार ज्यालादारीमा २५ जना र काजमा एक गरी २६ जना स्टाफनर्स थपेको अस्पतालमा दरबन्दीका सात जना मात्रै छन् । टीकापुर अस्पताल सुदूरपश्चिम प्रदेश मातहत आएको तर प्रदेश सरकारले स्थायी पदपूर्ति नगरेका कारण दरबन्दी रिक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार