१६ बैशाख २०८१, आईतवार

नेपाल विश्वभरका एलजीबीटीआइको सुरक्षित गन्तव्य, स्वागत गर्न तयार



काठमाडौं / नेपालमा पहिलो पटक समावेशी (रेन्बो) पर्यटन सम्भाव्यताबारे राष्ट्रिय परामर्श भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पर्यटन बोर्डले समावेशी (रेन्बो) पर्यटनका लागि सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ।  

सांस्कृतिक दूत नियुक्त एसियाकै पहिलो समलिङ्गी सभासद् पन्तले नेपाल, एसिया र सम्पूर्ण विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवर्द्धन गर्ने बताएका छन्।  

संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युएनडिपीको सहयोगमा पर्यटन बोर्डले सञ्चालन गरेको जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन कार्यक्रम अन्तर्गत शुक्रवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राष्ट्रिय परामर्श भएको हो।  

परामर्शले पिंक टुरिजम कोरअर्डिनेशन कमिटी गठन गरेको छ। कमिटीको नेतृत्व सांस्कृतिक दूत पन्तलाई दिइएको छ। कमिटीको उपाध्यक्षमा आयाम पौडेल, सचिवमा सुरेन्द्र पाण्डे, कोषाध्यक्षमा विश्वराज अधिकारी, सदस्यहरूमा त्रिसाङ्गी शाक्य, अनुज प्रधान, स्मारिका राई, टिना राई, दीपक महर्जन हनि, आनिक राना, सरोजी न्यौपाने, खुशी गुरुङ्ग, सनरोज मास्के रहेका छन्। 

कमिटीले आउँदो अप्रिलमा हुने अन्तर्राष्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सम्मेलनको तयारी गर्ने जनाएको छ।  बोर्डले २५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई पर्यटन सम्बन्धी तालिम दिइसकेको छ। 

नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्न तयार रहेको बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताइन। उनले अरू देशको भन्दा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचानसहितको सम्मान पाएको बताइन। 

उनले नेपालमा रेन्बो टुरिजमको सम्भावना राम्रो रहेको बताइन। त्यसका लागि मायाको पहिचान नेपालले पर्यटन बोर्डसँगको समन्वयमा अप्रिल महिनामा अन्तर्राष्ट्रिय सम्मेलन  गर्न लागेको उनले जानकारी दिइन। ‘यो पहिलो सुरुवात हो’उनले भनिन्। 

सांस्कृतिक दूत नियुक्त पन्तले समावेशी पर्यटन सम्भावना सम्बन्धी परामर्श पहिलो भएको बताए। गरिबी निवारण, आर्थिक सम्बृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने पन्तले बताए। पिंक टुरिजमको अर्थतन्त्रमा ठुलो योगदान रहेको बताए। 

नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद नभएको पन्तले बताए। ‘जहाँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार त्यहाँ धेरै पर्यटक,’पन्तले भने,‘नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ।’ 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए। नेपाल दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह गर्ने देश बनेको छ। माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा पहिलो विवाह दर्ता गरेका छन्। यसले विश्वभरका समलिङ्गी जोडीलाई नेपाल हनिमुन मनाउने स्थान बन्न सक्ने पन्तले बताए। 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीविकोपार्जनमा सहयोग गर्न तयार रहेको बताइन। राष्ट्रिय परामर्श आयोजना गरेकोमा मायाको पहिचान नेपाल र पर्यटन बोर्डलाई धन्यवाद दिँदै उनले नेपाल समावेशी देश रहेको बताइन। 

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि मिलेर काम गरेको बताइन। उनले सम्भवतः नेपालमा विश्वमै पहिलो पटक २०६८ को जनगणनामा तेस्रोलिंगीको गणना भएको सुनाइन। ‘तथ्याङ्क सार्वजनिक भएन, तर गणना भएको थियो’उनले भनिन्। 

अमेरिकी दूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसनका जेसन पी. मिक्सले सन् २०२४ मा धेरै अमेरिकनहरू नेपाल घुम्न आउने बताए। नेपाल ट्राभल डेस्टिनेसनको सम्भावित ठाउँ भएको उनले बताए। नेपाल सरकारको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारमा नेतृत्वकर्ता रहेको बताए। 

नेपाल पर्यटन बोर्डकी राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री वातावरण रहेको नेपालमा रेन्बो टुरिजमको राम्रो सम्भावना रहेको बताइन। उनले यो समुदायका लागि नेपालमा यात्रा गर्दा कहीँ कतै विभेद नहुने भन्दै सुरक्षित रहेको बताइन। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि पर्यटन व्यवसाय रोजगारीको उपयुक्त क्षेत्र हुने सनरोज मास्केले बताइन। नेपाल भित्र यो समुदायलाई रोजगारीमा विभेद हुने गरेको सुनाउँदै उनले सडकमा उभिनु पर्ने अवस्था अन्त्य गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण माध्यम बन्ने बताइन। 

राष्ट्रिय परामर्शमा कम्पनी दर्ता गर्न, सञ्चालन गर्न र व्यापार व्यवसायमा सफलता पाउनका लागि अधिवक्ता सुवास देवकोटाले कानुनी प्रक्रिया सुझाएका थिए। 

मिस डायमन्ड नेपाल २०२१ र साहसी कदम नेपालका उपाध्यक्ष सरोजी न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल समावेशी रहेको सन्देश परामर्शबाट जाने बताइन। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार