२० बैशाख २०८१, बिहीबार

कैलालीका स्थानीय पालिकामा वर्षकै लामो बिदा, व्यवस्थित गरिनुपर्ने विज्ञहरुको सुझाव



टीकापुर / कैलालीका स्थानीय पालिकामा लगातार छ दिन बिदा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्व र स्थानीय सरकारले दुई दिन माघी पर्वको स्थानीय विदा थपेपछि बिदा लामो भएको हो । यसैबेला पुस २७ मा राष्ट्रिय एकता दिवस, माघ १ गते माघे सङ्क्रान्ति र एउटा शनिबार परेको थियो । जबकी यस वर्ष दशैं र तिहारमा पनि पाँच/पाँच दिन मात्रै सार्वजनिक विदा थियो ।

सुदूरपश्चिमका केही पहाडी जिल्लामा मनाइने भुवा पर्वलाई प्रदेश सरकारले प्रदेशभरि र थारु बहुल क्षेत्रका पालिकाले माघे संङ्क्रान्तिको एकदिन अघि र एकदिन पछि स्थानीय बिदा दिएका छन् । माघ १ गते थारु समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष माघी पर्दछ ।

पुसको अन्तिम दिन थारु समुदायले जीता (बङ्गुर, सुगर) मारेर माघी शुरु गर्छन भने माघ १ गते तिहार मानिन्छ । माघ २ गते छोरीबहिनीहरुलाई अग्रासन पु¥याउने चलन छ । थारु समुदायमा माघ महिनाभरि नयाँ वर्षका रुपमा मनाउने चलन छ । यस अवधिमा नयाँ वर्षका लागि गाउँको भल्मन्सा छान्ने, नयाँ कामको शुरुवात गर्ने, घर फाटने (अंशबण्डा गर्ने) लगायतका काम गर्छन भने अन्य समुदायमा पनि माघ महिनालाई पवित्र महिनाको रुपमा मनाउने, सेल रोटीका परिकार बनाउने, छोरी, बहिनी, भान्जीलाई चेली तिहार पु¥याउने चलन छ ।

आर्थिक र सामाजिकरुपमा पछि परेको सुदूरपश्चिम प्रदेश साँस्कृतिकरुपमा भने भरीपूर्ण छ । यसैले पर्व विदा पनि प्रशस्तै छन् ।
कैलाली कञ्चनपुरमा बिदै बिदा
आर्थिक वर्ष २०८०/८१ पहिलो छ महिनामा सुदुरपश्चिममा २६ वटा शनिबार र २९ दिन पर्व र स्थानीय गरी ५५ दिन बिदा परेको छ ।

सुदूरपश्चिममा डोटेली, थारु, रानाथारु, खस संस्कृतिका मानिसको मिश्रित बसोबास छ । तपाईका कैलाली कञ्चनपुरमा पूर्वबाट बसाइ सरेका थारु, पहाडबाट बसाइ सरेका डोटेली र खस संस्कृतिका मानिससंगै तिनीहरुका संस्कृति पनि सरेका छन् भने तिनीहरुले मान्ने सास्कृतिक पर्वहरु पनि महत्वका साथ मनाइन थालिएको छ । पर्वहरुमा तीनवटै तहका सरकारले बिदा दिदा दिन बढेका छन् । बिदाले केही नागरिक खुशी भए पनि कामकाजी मानिसहरु, सरकारी सेवा लिनुपर्ने सेवाग्राहीहरु भने प्रभावित हुने गरेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले दिएको बिदालाई आधार मान्दा साउनमा २ गते मुक्त कमैंया दिवस र ४ शनिबार गरेर ५ दिन बिदा परेको छ । भदौमा १२ दिन विदा परेको छ । भदौ १ गते ओल्के पर्व, ४ गते गुरही नागपञ्चमी, ७ र ८ गते गौरा पर्व, १४ गते रक्षाबन्धन, २८ गते शोक विदा र ३१ गते अतवारी विदा परेको छ भने ५ वटा शनिबार परेका छन् ।

असोजमा ३ गते संविधान दिवस, २८ गते घटस्थापना र ४ शनिबार गरी ७ दिन विदा परेको छ । असोज १ गते तीजमा महिला विदा थियो । कात्तिकमा दशैंका ५ दिन, तिहारका ५ दिन र ४ वटा शनिबार गरी १४ दिन बिदा परेको छ । मङ्सिरमा ३ गते छठ, १७ गते शोक विदा र ५ वटा शनिबार गरी ७ दिन बिदा परेको छ । अद्र्धवार्षिक प्रगति देखिनु पर्ने पुस महिनाका २९ दिन मध्ये १० दिन विदा परेको छ । क्रिसमस, तमु ल्होसार, भुवा पर्व, राष्ट्रिय एकता दिवस, माघी पर्व गरी छ दिन र ४ शनिबार गरेर १० दिन बिदा परेको हो । जानकी जस्तै थारु बहुल बसोबास भएको टीकापुर भजनी नगरपालिका, जोशीपुर, कैलारी लगायतका पालिकामा पनि बिदा दिइएको छ ।

यसका साथै सरकारी कर्मचारीलाई वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा र ६ दिन भैपरी बिदा पाउने सुविधा छ । औसत निकाल्दा कयौं कर्मचारीले २४ दिनसम्म बिदा सुविधा पनि लिइरहेका छन् भने क्रिया, सुत्केरी, सुत्केरी स्याहार जस्ता विशेष बिदा पनि पर्दछन् । यसका साथै तराईमा बाढी डुवान भएका कारण वर्षामा कार्यालयको सेवा प्रभावित हुने गरेको छ ।
बिदाको असर कार्यालय र राजश्वमा
बिदा धेरै हुँदा यसको असर कार्यालय र राजश्व सङ्कलनमा पर्ने गरेको जानकारहरु बताउछन् । स्थानीय तहमा बिदा हुँदा सरकारी सेवाको शुरु सेवा बिन्दु वडा कार्यालयमा सिफारिस रोकिन्छ । सिफारिस रोकिदा प्रशासन, मालपोत, नापी जस्ता सधैं खुल्ने कार्यालयमा पनि सेवाग्राही आउदैनन् ।

बिदा लगत्तै भने सेवाग्राहीको भीड बढेर सेवा दिनै हम्मेहम्मे हुने र कुनै कार्यालयमा सेवाग्राहीको पालो नै आउदैन । ‘प्रशासन कार्यालय पृथ्वी जयन्तिका दिन पनि खोल्यौं, सबै कर्मचारी त आए तर सेवाग्राही आएनन्,’ इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीबी राना भन्छन्, ‘छ दिनपछि कार्यालय खुल्दा सेवाग्राहीको भीड कस्तो होला ?’ साँस्कृतिक सम्पन्नताले गर्दा नेपालमा पर्वहरु धेरै पर्छन यसलाई क्षेत्र विशेष बनाएर व्यवस्थित गर्न जरुरी छ । जसको पर्व हो उही समुदाय वा जुन क्षेत्रमा मनाइन्छ त्यही क्षेत्रमा मात्रै बिदा दिए नागरिकलाई सहजरुपमा सेवा दिन सकिने । प्रशासनका उपसचिव चिरञ्जीबी रानाको सुझाव छ ।

बिदा धेरै परेकाले आर्थिक वर्षको आधा भैसक्दा पनि पालिकामा लक्ष्य अनुसारको राजश्व उठन सकेको छैन् । वार्षिक ३ करोड ७९ लाख रुपियाँको राजश्व लक्ष्य लिएको जानकी गाउँपालिकाको छ महिनामा ७४ लाख मात्रै राजश्व उठेको छ भने ढुङ्गागिट्टी ठेक्काबाट एक करोड आएको राजश्व शाखाका प्रमुख गङ्गा चौधरीको भनाई छ । यस्तै सात करोड ५० लाख राजश्व लक्ष्य लिएको टीकापुरमा दुई करोड ३८ लाख मात्रै सङ्कलन भएको राजश्व शाखा प्रमुख नन्दबहादुर केसीले जानकारी दिए ।

सुदूरपश्चिम विश्व विद्यालयका उपप्राध्यापक तथा स्थानीय शासनका अध्येता मीनबहादुर शाही बिदाले राष्ट्रको उत्पादन र उत्पादकत्वमा असर परेको, सेवाप्रवाह गर्दा सरकारको र सेवा लिँदा नागरिकको लागत बढिरहेको बताउछन् । ‘तीब्र आर्थिक विकास गरिरहेका देशमा २४ घण्टालाई पनि सिफ्टमा बाँडेर काम भैरहेको छ,’ उपप्राध्यापक शाही भन्नुहुन्छ, ‘बिदालाई भावानात्मक रुपमा, स्थानीय सरकारको अधिकारका रुपमा लिनु हुदैन, यसले रोजगारी, सरकारी आय, अर्थतन्त्रमा असर पर्छ ।’
बिदामा पनि काम
पटकपटक बिदा भैरहँदा कार्यालयका कामहरु पनि प्रभावित हुने भएकाले कर्मचारीहरुले बिदाका दिन पनि काम गरिरहनु परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको बिदा दिएको दिन कैलालीका जानकी र टीकापुर नगरपालिकाका केही कर्मचारीहरु कार्यालयमा काम गरिरहेका भेटिए ।

जानकी गाउँपालिकाको प्रशासन शाखाका प्रमुख मेवालाल चौधरीसहितका सात जना पुस २८ गते पालिकाले आयोजना गरेको माघीमिलन कार्यक्रमको तयारीमा व्यवस्त थिए । चौधरी भन्छन्, ‘पालिकाको कार्यक्रम नपरेको शनिबारवाहेकका बिदामा घर बस्न पाइदैन ।

पालिकाले ठूला कार्यक्रम शनिबार राख्ने भएकाले कतिपय शनिबार पनि काम भैरहन्छ ।’ यस्तै टीकापुर नगरपालिकाका प्राविधिक दिनेश बोगटी कार्यालय खुलेका दिनले मात्रै काम नसकिने भएकाले स्टमेट गर्ने लगायतका काम गर्न बिदाको दिन सजिलो हुने बताउछन् ।

टीकापुर नगरपालिकाको राजश्व शाखाका प्रमुख नन्दबहादुर केसी आफू भर्खरै शाखामा सरुवा भएर आएकाले ऐन कानुन र शाखाको अवस्था अध्ययन गर्न बिदाका दिन पनि कार्यालय आइरहेको बताउछन् । बिदाका दिन टीकापुर नगरपालिकामा काम गरिरहेका अन्य कर्मचारीले पनि बिदाको दिन काम गरिरहेका भेटिए । बिदाको दिन काम गरे पनि हाजिर नलाग्ने भएकाले काम गरेको भन्नुको अर्थ नरहने उनीहरुको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार