१५ बैशाख २०८१, शनिबार

पुस १ को त्यो कालो दिन



गैरराजावादीहरुले २०१७ साल पुस १ गतेको तत्कालिन राजा महेन्द्रको कदमलाई कालो दिनका रुपमा लिने गरेका छन् । सोही कारण वाम तथा प्रजातन्त्रवादीहरुले आज अर्थात पुस १ लाई विभिन्न तरिकाले कालो दिन भन्ने पुष्टी गर्न विभिन्न खालका सन्देश विभिन्न माध्यामबाट दिइरहेका छन् ।

भरखरै उदाउदै गरेको प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेको कारण महेन्द्रको कदमको विरोध हुनु आजपर्यन्त पनि ठिक हो । प्रजातन्त्रको अर्को विकल्प आजको विश्वमा छैन । हो १०४ वर्षीय राणातन्त्रको २००७ फागुन ७ गते अन्त्य भयो । त्यसपछिका करिब १० वर्ष तत्कालिन राजा त्रिभुवन, महेन्द्र र नेपाली काँग्रेसको असक्षमताका कारण राजनीतिक अस्थिरता उत्पन्न भयो ।

त्यही बेला भएको आम चुनावले नेपाली काँग्रेसप्रति जनताले जनविश्वास व्यक्त गरेर दुईतिहाई सिटमा विजयी गराए । शुरुवाती बेला भएकोले काँग्रेस सरकारले केही कमीकमजोरी गरेको पनि थियो होला । तर त्यसको मूल्यांकन तत्कालिन राजाले होइन जनताले निर्वाचनका माध्यामबाट गर्नुपर्ने थियो । तर राजाले आफैले कांग्रेसले जनचाहना अनुसार काम गरेन भनेर बहुदलिय प्रजातन्त्र मासे ।

तत्कालिन राजा महेन्द्रको त्यही कदमले अन्तत : नेपालबाट पञ्चायत मात्र फालेन राजतन्त्र नै फाल्यो । राजतन्त्रप्रतिको वितृष्णा फैलाउन महेन्द्रले विजारोपण गरे भने ज्ञानेन्द्रले त्यो वितृष्णालाई चुलीमा पुगाए जसले नेपाली जनता गणतन्त्रमा जान तयार भए ।
हो गणतन्त्रले पनि जनताका चाहना पूरा गरेनन् तर पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हो । अव कसैले चाहेर पनि अहिलेको नेपाल प्रतिगमनमा फर्कन सक्दैन । बरु समयमै नेपाली नेता र दल सुधार हुन जरुरी छ ।

बरु महेन्द्रले प्रजातन्त्रलाई हरण गर्ने एउटा ठूलो गल्ती गरे पनि नेपाललाई संसारभर स्थापित गर्न, कतिपय कुरामा भारतको निर्भरता अन्त्य गर्न, भारतीय सेना उत्तरी क्षेत्रबाट हटाउन, विमानस्थल, पूर्वपश्चिम राजमार्गको अवधारण, विश्वविद्यालय, राष्ट्र बैक, पञ्चवर्षिय योजना, योजना आयोग, दर्जनौ उद्योग स्थापना गर्ने जस्ता धेरै ऐतिहासिक र दूरगामी महत्व काम गरेको इतिहास साक्षी छ ।

तर ०४६ सालपछि राजनीतिक परिवर्तन र अधिकार स्थापना गर्ने बाहेक जनता र देशको उन्नती हुने र मुलुकको हीतमा दूरगामी महत्व राख्ने काम केही भएको देखिदैन । त्यसैले पुस १ राजनीतिक कदमको विरोध गरौ तर महेन्द्रका राम्रा कामलाई स्वीकार गरेर अझ राम्रा काम गरेर गणतन्त्रलाई बलियो बनाउन दल र दलका नेताहरु निक्कै जिम्मेवार भएर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार