१५ बैशाख २०८१, शनिबार

चीनको एउटा विकट गाउँ : जो कफी खेतीले ११ वर्षमै फेरियो



बाउसान ( युन्नान,चीन), कात्तिक ११ गते / ११ वर्षमै एउटा पहाडी विकट गाउँ सुगममा परिवर्तन हुन्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर नेपालको उत्तरी छिमेकी चीनको युन्नान प्रान्तमा त्यो सम्भव भएको छ ।


युन्नानको लोङयाङ जिल्लास्थित एउटा पहाडी विकट गाउँ सिन्जाई ११ वर्षको प्रयासमै देशकै नमुना बनेको हो ।
युन्नानको भाओसान सहरबाट म्यानमार (बर्मा) को सीमानजिकै रहेको यो गाउँ पुग्न एक घण्टाको बस यात्रा गर्नु पर्दछ ।

“म ११ वर्षअघि आइपुग्दा यो गाउँ निकै विकट थियो, सडक, बिजुली थिएन, शिक्षा र सामाजिक सुरक्षामा निक्कै पछाडि थियो”, सिन्झाई गाउँस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरी वाङ चिवाई भन्छन्, “अहिले यो गाउँ हरेक हिसाबले सुगम, नमुना र हराभरा भइसकेको छ । ”

५६ वर्षीय वाङ २२ वर्ष आर्किटेक इन्जिनियरका रुपमा काम गरेर पार्टीको जिम्मेवारीसहित सो गाउँमा पुगेका हुन । “यो गाउँले नेता खोजिरहेको थियो,” उनले भने, “यसलाई देशकै नमुना बनाउनुपर्छ भनेर मैले गाउँ पार्टी सेक्रेटरीको जिम्मा लिएँ । अब आफ्नो लक्ष्यमा सफल भएको छु । तर अझै पनि औद्योगीकरणमा लैजाने उपायको खोजीमा लागेको छु ।”

वाङ पार्टी स्रेक्रेटरी भएर आएपछि ५५० घरधुरीमा चार हजार जनाको बसोबास रहेको यो गाउँका ५१ जनालाई विश्वविद्यालयमा पढाउन पठाए । सडक यातायातबाट टाढा भएकोले यो गाउँ शिक्षाको पहुँचबाट पनि टाढा थियो । अहिले सडक पनि पुगेको छ । वाङले पढनुपर्छ भनेर जनतालाई चेतना पनि भरेका छन् ।

नेता वाङले सिन्झाई गाउँलाई कफीको नमुना बस्तीका रुपमा देशभर चिनाउने प्रयास गरे अनुसार नै अहिले कफी गाउँका रुपमा चिनिएको छ । कफी गाउँलाई नमुना बनाउन उनले व्यवस्थित सडक पुगाए । कफी खेतीलाई व्यवसायिक बनाउन जनतालाई सहमत बनाए । त्यो प्रयासअनुसार अहिले गाउँबासीको प्रतिव्यक्ति वार्षिक आम्दानी तीन हजार युयानबाट बढेर ३० हजार नाघेको छ ।

सिन्झाइमा दोस्रो विश्वयुद्धपछि सन् १९५१ ताका म्यानमारका सेनाले पहिलो पटक कफी भित्राएको बताइन्छ । तर त्यहाँ सन् १९९३ बाट व्यवसायिक रुपमा कफी खेती हुन थालेको थियो । यद्यपि अहिले पछिल्लो १० वर्षयता यो गाउँलाई कफीको नमुनाका रुपमा चिन्न थालिएको छ ।

पार्टी सेक्रेटरी वाङकै प्रयासमा अहिले सिन्झाई गाउँका चारवटा टोलमा नौवटा समूह छन्, आदिवासी जनजाति र अन्यसहितका यी समूहले कफी खेती गर्छन । ती समूहले यो गाउँको एक हजार छ सय हेक्टरमा कफी लगाएर वर्षमा चार हजार टन उत्पादन गर्छन् । यी गाउँलेका लागि स्थानीय सातवटा सहकारी संस्थाले पुँजी परिचालन गर्छन् ।

खास गरेर कफी अरविका लगाउने सिन्झाई गाउँका बाासिन्दाले कफी बेचेर वर्षमा १२० मिलियन युयानसम्म भित्र्याउने गरेका छन् । यस्तै गत वर्ष अनलाइन विक्रीबाट १० मिलियन युयानको कफी बेचिएको छ ।

चीनको नेशनल कंग्रेसले उद्यम बढाउन र युवा पुस्तालाई सक्षम बनाउने लगायतका छ वटा नीति पास गरेपछि सेक्रेटरी वाङले सिन्झाई गाउँलाई कफी र कृषि पर्यटकीय गाउँका रुपमा पनि अघि बढाउन खोजेका छन् । अहिले उक्त गाउँको कफीसहितको विकास हेर्न चीन र अन्य विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेका छन् ।

नेपाल जस्तै अग्लो पहाड र बेंसी भूभाग रहेको सिन्झार्ई गाउँको भीर र समथर क्षेत्रमा जताततै कफी र मौसम अनुसारको तरकारी तथा फलफूल खेती गरिएको छ । नेता वाङ भन्छन्, “अहिले यहाँका चार हजार मानिसमध्ये दुई हजार जना कफी खेतीमा छन् । त्यसमा एक हजार जनाले दिनहुँ कफी खेतीमा काम गरिरहेका हुन्छन् तीमध्ये तीन सयजना कफी प्राविधिक छन् । गाउँका थप तीन सयजना इलोक्ट्रोनिक इन्जिनियर पनि छन्,” उनले भने ।

यो गाउँका सातवटा सहकारबाट, कफी बिस्तार र बिक्रीमा सहयोग पुगेको छ भने चीनसरकारले कफीको प्रोसेसिङ गर्न, मेशिन किन्न र बेच्न पनि सहयोग गरिरहेको छ । तर अहिले कफीको मूल्य घटेको छ । त्यहीकारण कृषकहरु कफीको मूल्य बढ्ने आशामा छन् । सरकारले कफी सिकाउन यहाँका किसान तथा युवालाई अन्य प्रान्तमा पनि पठाउने गरेको छ ।

“यो गाउँलाई कुनैबेला चिनियाँहरुले काम नलाग्ने भिर भन्थे । हामीले गुणस्तरिय कफी अरविका फलाउन थालेर गाउँको मुहार फेरिएपछि ओहो कस्तो गाउँ कस्तो भयो भन्नेहरु धेरै छन्”, नेता वाङले आफ्नो अनुभव सुनाए , “अहिले यो गाउँ पहाडमुनीको कफी गाउँका रुपमा प्रख्यात छ ।”

पहाडी चुचुरोबाट सुन्दर देखिने यो गाउँमा फोटो खिच्नेको पनि भीड लाग्ने गर्छ । त्यहाँ सुविधा सम्पन्न होमस्टे भएकोले पर्यटकहरुलाई सहज भएको छ ।

सिन्झाई गाउँभन्दा केही तल चीनकै लामो नुचियाङ नदी बग्छ । तिव्बतबाट आएको यो नदी म्यानमार हुँदै हिन्द महासागरमा मिल्छ । यो नदीका कारण पनि सो क्षेत्रको पर्यटकीय गतिविधि बढ्को अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार