२६ पुष २०८१, शुक्रबार

इजरायलबाट नेपाल फर्किने कुरा सपना लाग्थ्योः वीरेन्द्र चौधरी



प्रकाश मिश्र
सुखड, कात्तिक २ गते ।
भविस्य निर्माणको सपना बुनेर परदेसी भूमि इजरायलमा सिक्दै कमाउँदै कार्यक्रममा गएका कैलालीको भजनी नगरपालिका–४ का वीरेन्द्र चौधरीले जिउँदै घर फर्कन पाउला भनेर सोचेका थिएनन् ।

हमासले इजरायलमा गरेको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाए अझ भनौ हमासले १० नेपालीलाई मारे । ती मारिएका १० नेपालीसंगै बंकरमा १२ घण्टासम्म जीवन जिउन लुकामारी खेलेका वीरेन्द्र अहिले घर फर्किएर घटना विवरण सुनाउँदा सपना जस्तो लागेको बताउँछन् ।

उनि भन्छन्, हामीलाई इजरायल पुग्नेबेलानै भनिएको थियो गोला बारुद हुने बित्तिकै बंकरमा छिर्नु । हमलाको दिन हामी काममै थियौ रकेट प्रहार भएको देखेर हामी बंकरमा छिर्यौ जम्मा हामी १७ जना नेपाली थियौ । हामी बंकरमा छिरेर खुशी थियौ, केही साथीहरू लुडो पनि खेलिरहेका थिए मानौ हामी सुरक्षित छौं ।

बंकरमा छिरेका हामी मध्येका एक गणेश नेपालीले ढोकाबाट बाहिरको भिडियो खिचिरहेका थिए । त्यत्तिकैमा अकस्मात फायरिङ भयो फायरिङ सुनेर भागेर हामीतिर आउन खोज्दा आतंककारीहरूको गोली लागेर गणेशको ठाउँको ठाउँ मृत्यु भयो । त्यो देखेर हामी सबै डरायौं । गणेशलाई गोली लागिसकेपछि हाम्रो ग्रुपका लिडर दीपेशराज बिस्ट हामी नेपाली हौं “वि आर नेपाली” भन्दै बाहिर निस्कन लाग्दा उनलाई पनि आतंककारीहरूले गोली हानेर मारे । त्यसपछि उनीहरूले २ वटा ग्रीनेट बम हामी बसेको बंकरमा फाले अनि उनीहरू गए । हामीलाई फालिएको २ ग्रीनेट मध्ये १ ग्रीनेट चाहिँ बिपिन जोशीले हामी नभएको र हामलाई क्षति नपुग्ने ठाउँतिर फालिदिए । “बिपिनले साच्चै साहस देखाए नत्र हामी त्यही सबैजना मर्ने थियौ, वीरेन्द्रले भने ।

हामीतिर फालिएका २ ग्रीनेटमध्ये १ ग्रीनेट पड्कियो हाम्रा ५ जना साथीहरू सार्है घाइते भए । कसैका खुट्टा तलतिरको भागबाट चुडिए कसैका हातमा सार्है चोट लाग्यो त्यहाँ रगताम्य भए ५ जना साथीहरू । हामीले हाम्रा लिडरलाई भिडियो बनाएर पनि पठायौं । एकछिनपछि हामीहरू ठाउँ इजरायली प्रहरी आएर हाम्रा घाइते साथीहरूको प्राथमिक उपचार गर्न थाले अनि हामीलाई किचनतिर सारे हाम्रो किचन पनि बंकरनै थियो, वीरेन्द्रले भने ।

हामी यता किचनमा आयौ हाम्रा घाइते साथीहरूलाई अस्पताल लान्छु भनेर भनेका प्रहरीले पनि छोडे छन सायद उनीहरूलाई पनि आतंककारीहरूले लगेकी थाहा भएन । उता घाइते साथीहरू हामीलाई फोन गरिरहेका थिए । चिच्याइरहेका थिए, तर उनीहरूलाई लिन जाने हाम्रो हिम्मत भएन किनकि फायरिङ भैरहेको थियो ।

त्यत्तिकैमा हामी बसेको किचनमा पनि आतंककारीहरू हल्ला गर्दै फायरिङ गर्दै आए हामीहरू कोही टेबलमा कोही चामलका पछाडि लुक्यौ । उनीहरूले आउने बित्तिकै बिपिन जोशीलाई तानेर लगे र अरुलाई फायरिङ गरे हाम्रा ५ जना साथीलाई गोली लाग्यो । म चाहिँ ढोकाको कुनामा लुकेको भएर देखेनन् अनि म बाँचे । गोली प्रहार गरेर आतंककारीहरू फर्कन लागेका थिए, गोली लागेका हाम्रा साथी चिच्याएपछि उनीहरूले फेरि गोली हानेर हत्या गरे र अर्को रुममा थाइलेनी बस्थिए उनीहरूकोमा आगो लगाएर गए । यो सब ढोकाको कुनामा लुकेर हेरिरहे, वीरेन्द्रले मसिनो स्वरमा भने ।

करिब ७/८ घण्टापछि त्यहाँ इजरायली सेना आएर हामी बाचेका साथीहरूलाई सुरक्षित घरमा लगियो तर हामीमा त्रास कायमै थियो ।

नेपाल आउन पाउने कुराले मनमा निकै खुशी छाएको थियो, तर ज्यान गुमाएका साथीहरूलाई सम्झेर मन निकै रोएको थियो । उनले युद्धग्रस्त क्षेत्रबाट छिटोभन्दा छिटो आफ्नो देश फर्काएकोका नेपाल सरकारलाई आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार