१५ बैशाख २०८१, शनिबार

कमैया मुक्तीका २३ वर्ष : मुक्ती दिवस उल्लासका साथ मनाउन पाइने अवस्था अझै आएन



धनगढी/ मुक्त कमैया महिला विकास मञ्च, कैलालीले कमैया मुक्तीको २३ वर्ष पुग्दा पनि पुनरस्थापना कार्य पूरा नभएको जनाएको छ ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलन महिला विकास मञ्चका पूर्व अध्यक्ष कौशिला चौधरीले मुक्त कमैयाको पुनरस्थापनामा सहयोग गर्न सरकारदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थासम्मलाई अनुरोध गरिन ।


उनले भनिन मुक्ती दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझै पीडा र दुःखले मनाउनु परेको बताइन ।
महिला विकास मञ्चले एक प्रेस विज्ञप्ती समेत जारी गरेर कैलालीमा ९ हजार ७६२ मुक्त कमैया परिवारको रहेकोमा ९५३ जनाको अझै उचित पुनरस्थापना नभएको बताएको छ ।

सो संस्थाका अध्यक्ष सीमा चौधरद्धारा जारी गरिएको विज्ञप्तीमा शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जिविकीपार्जन, सामाजिक शसक्तिकरण र समावेशीकरण सम्वन्धी मुद्धामा प्राथमिकता नदिंदा आर्थिक, राजनीतिक तथा सामाजिकरुपमा पछि परेको उल्लेख गरिएको छ । ती अधिकार प्राप्तीका लागि र राज्य तथा गैरसरकारी क्षेत्रको सहयोग आवश्यक रहेकोले त्यसमा समर्थन र ऐक्यबद्धता जनाउन पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

विज्ञप्तीमा जो जहाँ छन् त्यही स्थलगत अध्ययन गरेर परिचय पत्र सहित पुनरस्थापना गर्न, जनता आवास कार्यक्रम लागू गर्न, आधारभूत आवश्यक्ता बाटोघाटो, विजुलीवत्ती , खानेपानीको व्यवस्था गर्न, मुक्त कमैयाका बालबालिका, कमलहरी तथा युवाका लागि निशुल्क प्रावधिक शिक्षाको व्यवस्था गरियोस, मुक्त कमैया बस्तीमा रहेका रुख हटाइयोस, सरकार र कम्लहरी प्रथा उन्मुलन संजालबीच भएको १० बुँदे सम्झौता कार्यान्वयन गरियोस, मुक्त कमैया, कमलहरी, हलिया र हरुवाचरुवाको बस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरियोस, मुक्त कमैयाहरुलाई व्यवसाय सञ्चालनका लागि विना धितो पाँच लाखसम्म पाँच वर्षका लागि ऋण उपलव्ध गराइयोस र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरियोस भन्ने माग राखिएको छ ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायधिवक्ता कुलानन्द उपाध्यायले प्रदेश सरकारले मुक्त कमैया, कमलहरी र हलिया सम्वन्धमा विद्येयक तयार गरेको बताउदै त्यो प्रदेश सभामा टेवुल भएर पारित हुँदा धैरै राहत पुग्ने बताए ।

कमैया मुक्ती र मुक्त कमैयाका अधिकारका लागि क्रियाशिल संविधान सभाका सदस्य हरि श्रीपाइलीले आउदो वर्ष खुसी र उल्लासका साथ मुक्ती दिवस मनाउने गरेर मुक्त कमैयाका समस्या समाधान गर्नका लागि पत्रकार, नागरिक समाज मिलेर सरकारमाथि दवाव सिर्जना गर्नुपर्ने बताए । उनले कमैया मुक्तीमा समेत पत्रकार र नागरिक समाजको समेत ठूलो सहयोग रहेको स्मरण गरे ।

दासकै जस्तो जीवन विताइरहेका कैलाली, कञ्चनपुर, वर्दिया, बाँके र दांगका कमैयालाई २०५७ साल साउन २ गते तत्कालिन गिरिजाप्रसाद कोइरालको सरकारले मुक्त भएको घोषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार