२४ बैशाख २०८१, सोमबार

दृष्टि फाउण्डेसनका पीडित महिलाले लिए मानसिक सवास्थ्य सेवा



धनगढी/ दृष्टि फाउण्डेसन नेपाल धनगढीमा रहेका लैङ्गिक हिंसा पीडित महिलाहरुले गुणस्तरिय मानसकि स्वास्थ्य सेवा लिएका छन् ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत फाउण्डेसनमा बुधबार सञ्चालन भएको मानसिक स्वास्थ्य सेवाबाट ३४ जना हिंसा पीडित महिलाहरुले मानसिक स्वास्थ्य लिएका हुन् ।

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वयमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा मानसिक स्वास्थ्य सेवा संचालन भएको हो ।

नाम परिवर्तन ७७ वर्षिय माया घिमिरेले औषधि खाएपछि डाक्टरले निको हुन्छ भनेका छन् । आफूलाई निको बनाउन नियमित औषधि खाने उनले बताईन् । आफ्नो नाम समेत बिर्सेकी १५ वर्षीय किशोरीको नाम दर्ता गर्दाखेरी उनको खुसी नाम राखेर उपचार गरिएको छ । उपचार सेवा लिएका महिला र फाउण्डेसनका कर्मचारीलाई फलोअप र निरन्तर औषधि सेवनको समस्याले पिरोली रहेको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताइन् । निरन्तर सेवा दिन उनले अनुरोध समेत गरेकी छन् ।

दृष्टि फाउण्डेसन नेपालका चन्द्रा तिरुवाले मानसिक समस्या भएका व्यक्तिलाई औषधि खुवाउने समस्या झेलिरहेका बेला संस्थाले औषधि सहित मानसिक रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा दिएकोमा आफूलाई धेरै खुसी लागेको बताईन् ।

अरुबाट मागरे ल्याई खानाको व्यवस्था गर्नु परेको बताउदै सामाजिक अपमान र तिरस्कार खेप्नु परेको भोगाई सुनाउँदा तिरुवा भावुक बनेकी थिईन् । तिरुवाको भोगाई सुनेर कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । उनले भनिन् ‘राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौं, राज्यले समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’

मानसकि स्वास्थ्य सेवाको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले पहिलो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताए । राज्यले गर्नुपर्ने काम दृष्टि फाउण्डेसनले गरेको भन्दै फाउण्डेसनका कामको प्रशंसा गरेका थिए । उनले भने ‘म सदूरपश्चिम आएको एक महिना भयो । म आउने वित्तिकै प्रमुख जिल्ला अधिकारीले दृष्टि फाउण्डेसनका बारेमा जानकारी गराउनु भएको थियो ।’ मेरो ध्यान केन्द्रित भएको छ ।

विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फाउण्डेसनमा रहेका पीडित महिलाहरुले आफू बसिरहेको ठाउँमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाउदा खुसी लागेको बताए । औषधि उपचारपछि मानसिक रोग निको हुने भएकोले औषधि अति आवश्यक रहेको कट्टेलले बताए । मान्छेलाई पशु सरह व्यवहार गरी घरबाट निकालिएको छ । सडकमा अलपत्र परेका महिलाको उद्धार गरी मानविय सेवा गर्ने फाउण्डेसनले धेरै राम्रो काम गरेको बताए । मानसिक स्वास्थ्य सेवा संचालन गर्ने संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण भट्टराईले प्रमुख जिल्ला अधिकारीको समन्वयमा मानसिक स्वास्थ्य सेवा संचालन गरिएको बताए । हिंसामा परेका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नीति बनाई काम गर्नुपर्ने उनले बताए । हिंसासंग जोडिएका व्यक्तिहरु मानसिक समस्यामा पर्ने भएकोले फाउण्डेसनमा रहेका महिलाहरुको उपचारको लागि मानसिक स्वास्थ्य सेवा दिएको भट्टराईले बताए ।

आगामी दिनमा मानसिक स्वास्थ्य सेवा निरन्तर रुपमा दिने आईपास नेपालका विष्णु नेपाली बताउछन् ।

मानसिक स्वास्थ्य सेवाको अवलोकन र अनुगमन गरेका धनगढी उपमहानगरपाकिाका मेयर गोपाल हमालले स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिएको बताउँदै मानसिक रोगको बारेमा समाजमा खुलेर कुरा गर्नुपर्ने बताए । मानव सेवाको काम गर्दै आएका फाउण्डेसनलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । फेरि पनि आवश्यक सहयोग गर्न तयार रहेको हमालले बताए ।

मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले कडा खालको मानसिक रोगी भएकोले दीघकालीन समयसम्म बिरामीले औषधि खानुपर्ने बताइन् । औषधिसंगै केहीलाई मनोसामाजिक परामर्श सेवा पनि जरुरी रहेको उनले बताइन् ।

मनोसामाजिक परामशकर्ता धनराज विकले उद्घाटन समारोह कार्यक्रमको सहजीकरण गरेका थिए । विगत दुई वर्षदेखि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढी उपमहानगरपालिकामा संचालन भईरहेको युएनएपपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरीले बताए ।

धनगढी उपमहानगरपालिका,महिला शाखा, स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, वडा नम्बर १३ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समन्वयका लागि सहयोगी भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार