२४ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सभामा आर्थिक सर्वेक्षण प्रस्तुत



धनगढी/ आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर प्रतिशत ४.७८ प्रतिशत रहेको थियो ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बिहीबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गर्ने क्रममा सो अनुमान पेश गरेका हुन ।

प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७९ को दफा १६ को उपदफा २ बमोजिम प्रदेश सभामा पहिलो पटक प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको छ ।

प्रस्तुत सर्वेक्षण अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रुपियाँ रहने छ ।

मन्त्री शाहीका अनुसार राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहने अनुमान रहेको छ । कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.६७ प्रतिशत र २.१३ प्रतिशत हुने अनुमान गरिएको छ । प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६६ प्रतिशत र ३.२४ प्रतिशत रहेको छ । धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर ०.६४ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा प्रदेशको आय एक हजार ६० अमेरिकी डलर रहेको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशभरि बैंक तथा वित्तीय संस्थाको कुल शाखा ८४३ पुगेको छ । बझाङको साइपाल गाउँपालिकाबाहेक बाँकी सबै (८७) स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्रदेशमा दर्ता भएका सहकारी संस्थाको संख्या ३६५ पुगेको छ । यसैगरी, सोही अवधिसम्म प्रदेशमा बीमा कम्पनीको संख्या ३०८ पुगेको जनाइएको छ ।

नेपाल मानव विकास प्रतिवेदन २०२० अनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.४३१, लैङ्गिक विकास सूचकाङ्क ०.९०३ र लैङ्गिक असमानता सूचकाङ्कको मापन ०.५२२ रहेको जनाइएको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/७६ को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको औसत बेरोजगारी दर ११.५ प्रतिशत रहेको छ । २०७९ सालको फागुनसम्म यो प्रदेशका ७३.० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । यहि अवधिसम्म प्रदेशमा १०८ मेगावाट विद्युत उत्पादन भएको छ ।

२०७९ को फागुनसम्म प्रदेशमा २१ हजार ८५४ उद्योग दर्ता भइ ३० अर्ब ६७ करोड रुपियाँ लगानी स्वीकृत भएको छ । यसबाट एक लाख एक हजार ४५६ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ । प्रदेशमा प्रति उद्योग रोजगारी दर ४.८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारबाट कालोपत्रे, खण्डस्मिथ र माटे सडक गरी थप ५९ किलोमिटर सडक निर्माण भएको छ । यहि अवधिमा प्रादेशिक र स्थानीयस्तरका सडकको कुल लम्बाई पाँच हजार ६०४ किलोमिटर पुगेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशमा २५.२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । यसैगरी, स्मार्ट फोन प्रयोग गर्ने घरधुरी ६२.७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार ५८ सवारी साधन दर्ता भएका छन् ।

प्रदेशमा शैक्षिक सत्र २०७९ सम्म आधारभूत तह ( १ देखि ५ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या १० हजार ९०८, आधारभूत तह (१ देखि ८ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ७०३ पुगेको छ । यसैगरी, माध्यमिक तह (१ देखि १० कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४११ र माध्यमिक तह (१ देखि १२ कक्षा) सञ्चालन गर्ने विद्यालय सङ्ख्या ४४४ रहेका छन् । निजीतर्फ यस्ता विद्यालयको सङ्ख्या क्रमशः १८९, २५५, १७९ र ६७ रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशभरि स्वास्थ्य संस्था सङ्ख्या ६९२ पुगेको छ । जिल्ला र प्रादेशिक अस्पतालमा गरी सञ्चालनमा रहेको शøया सङ्ख्या ५२६ पुगेको छ । प्रदेशभरि स्वास्थ्य क्षेत्रमा छ हजार ६६४ जनशक्ति कार्यरत छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म धानबाली उत्पादन छ लाख ६२ हजार मेट्रिकटन, मकै १०३ मेट्रिकटन र कोदो १७ मेट्रिकटन उत्पादन हुने अनुमान रहेको छ ।

२०७९ को फागुनसम्म प्रदेशमा नौ लाख ९९ हजार २३८ हेक्टर वनक्षेत्र रहेको छ । प्रदेशको कुल भू–भागको ४९.२४ प्रतिशत भू–भाग वनक्षेत्रले ओगटेको मन्त्री शाहीले जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार