८ बैशाख २०८१, शनिबार

बझाङको मष्टा गाउँपालिकालाई रैथाने बालीको हब बनाइने



धनगढी/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले मष्टा गाउँपालिकाले उत्पादन गरिहेको रैथाने अन्नको क्षेत्र विस्तार गर्ने कुरामा प्रदेश सरकार सकरात्मक रहेकोे बताएका छन् ।

शुक्रबार धनगढीमा रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले उत्पादन बढाउन, सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई प्राविधिक सहयोग गर्न सरकार तयार रहेको पनि बताए ।

मन्त्री सिंहले भने, अन्य क्षेत्रमा पनि रैथाने बालीको कुन जिल्लामा, कुन स्थानीय तहमा के को सम्भावना छ त्यसका लागि आफूले पहल गर्ने बताए । त्यसका लागि नीति बनाउने कुरामा आफूले पहल गर्ने र प्रदेश सरकारले ल्याउनै लागेको नीति तथा कार्यक्रममा पनि ती कुरा समावेश गर्ने उनको भनाइ छ ।

यस्तै प्रदेश सरकारका प्रदेश सरकारका प्रमुख सचिव नारायण शर्मा दुवाडीले पनि रैथाने बालीको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । उनले आवश्यक तयारीका साथ रैथाने बालीको सम्भाव्यता पहिचान गरेर कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । यस्तै उत्पाादित बालीलाई प्रवद्र्धन तथा बजारीकरण गर्नका लागि सरकारले अन्न मार्टमा राख्ने कुरामा सहयोग गर्ने उनले बताए । बालीको बजारीकरण र प्रचारप्रसार तथा मार्टमा राख्दा लाग्ने भाडा समेत सरकारले तिरिदिने व्यवस्था गरिने उनको भनाइ छ ।

यसक्रममा बझाङस्थित मष्टा गाउँपालिकालाई रैथाने बाली हब बनाइने सो अवसरमा बताइएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतको सहयोगमा मष्टा गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा रैथाने बालीको उत्पादन, सम्भावना चुनौती लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार मष्टा गाउँपालिकामा यो वर्ष मात्रै दुई सय हेक्टर क्षेत्रमा कोदो खेती र ५० हेक्टर क्षेत्रफलमा सिमी खेती गरिएको थियो । यस्तै पालिकाले अब अन्य रैथाने बालीको क्षेत्र पनि विस्तार गरि उत्पादन बढाएर बजारीकरणमा किसानलाई सहयोग गर्ने नीति लिइएको छ ।

गाउँपालिकाको रैथाने अन्नलाई उत्पादन, उपभोग र बिक्रीवितरणसँग जोड्ने पनि जनाएको छ । रैथाने बालीको उत्पादन तथा बिक्रीवितरण गरेर रोजगारी बढाउने पालिकाको लक्ष्य छ । पालिकामा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित परियोजनाबाट रैथाने अन्न बालीको उत्पादन, उपभोग र बजारीकरणको योजना कार्यान्वयन भइरहेको हो । गाउँपालिकाले अब कोदो, फापर, जौ, लट्टे अर्थात् बेथे, कागुनो, सिमी र चोनो जस्ता रैथाने बालीको उत्पादन र उपभोग बढाउने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकारसँग साझेदार गर्दै नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रैथाने बालीको उत्पादन, उपभोग र बजारीकरणको विकास गर्न परियोजना नै सञ्चालन गरिएको छ ।

सो कार्यक्रमबाट तीन हजार २३८ जना लाभान्वित हुने गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले बताए । उनले हरेक हप्ताका छ दिन स्कुलमा पनि रैथाने बालीका उत्पादन भएका जाउलो, कोदोको ढिडो, क्वाँटी, सातु, चिउरा तरकारी, आलु चटनीको खाजा खुवाउने ‘मेनु’ बनाइएको पनि बताए ।

पालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले किसानलाई रैथाने बाली उत्पादन गराउने र संरक्षण गर्ने उद्धेश्यले उनीहरुका उत्पादन किनी दिने बताउदै उत्पादनको न्युनतम मुल्य तोकिने बताए । बरु उत्पादन विक्री नभएर हाम्रो गोदाममा थन्कियोस तर उत्पादन पालिकाले किन्ने छ किसानलाई विश्वास दिलाउदै उनले भने ।

कार्यक्रममा कृषि प्रसार अधिकृत टीकाराम थापाले सन् १९६० पछि उन्नत ९वर्णशंकर० विउ आयातित हुँदा ५० प्रतिशत रैथाने बिउ लोप हुन थालेको बताए ।

नेपालमा अहिले ३६३ आयातित बिउ रहेकोमा १२ हजार जति संरक्षण गरिएको उनले बताए । वि.सं.२०६१ को कृषि नीतिले परम्परागत, स्थानीय, मौलिक बालीको संरक्षण गर्ने बताएको छ उनले भने, रैथाने बाली संरक्षण गर्दा पोष्टिक आहार खान त पाइन्छ नै उन्नत बिउको विकासका लागि अनुसन्धान गर्न समेत चाहिन्छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दे ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार