१६ चैत्र २०८०, शुक्रबार

विदेश भएकालाई फर्काएर सुदूरपश्चिम बनाउ : मन्त्री धामी (युवा महोत्सवको घोषणा पत्र सहित)



धनगढी/ सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले प्रादेशकि नीति संवाद तथा युवा महोत्सवको सन्देश गाउँगाउँमा पुग्ने विश्वास गरेका छन् ।

दुई दिने युवा महोत्सवको समापन कार्यक्रममा बोल्दै मन्त्री धामीले युवालाई विदेश जाने सपना अन्त्य गरेर सुदूरपश्चिम प्रदेश बनाउने जिम्मा लिनु पर्ने बताए ।

उनले जल, धार्मिक पर्यटन, जंगल, जमिन उपयोग गरेर युवालाई रोजगारीमा समेटेर प्रदेश सरकार अघि बढ्ने बताए । उनले आफ्नो मन्त्रालय युवामैत्री हुने बताउदै विदेशमा रहेका युवालाई समेत स्वदेश फर्काउने वातावरणका बनाउन आग्रह गरे ।

युवा उद्य्मशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ती, यौन तथा प्रजनन् स्वाथ्य बारे विज्ञहरुद्धारा अभिमुखीकरण भएको थियो । कार्यक्रममा नेपालको जनसंख्याको ४२.५ प्रतिशत जनसंख्या १६ देखि ४० वर्षसम्मका युवाको रहेको उल्लेख गर्दे उनीहरुको क्षमता अभिबृद्धि र राष्ट्र निर्माणको मुल प्रवाहिकरणमा उनीहरुलाई समाहित गर्नुपर्ने माग राखेर २१ बुँदे धनगढी घोषण पत्र जारी गरिएको छ ।

घोषणा पत्रमा युवाको संस्थागतरुपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गर्ने, यसका लागि प्रदेश युवा परिषद् तथा स्थानिय तहमा पालिका स्तरिय युवा परिषद्को गठन गर्न, प्रदेश युवा नीति निर्माण गर्न, प्रदेशका सिमान्तकृत समुदायमा रहेका दलित समुदाय, अपागंतामा रहेका युवा, मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा लगायतका समूहहरुलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरेर रोजगारीको सुनिश्चितता गर्ने, बढ्दो आधुनिकिकरणसँगै डिजिटल माध्यममा युवाको पहुँच बढाउन, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिको सिकार रोक्न, बढ्दो आधुनिकिकरणसँगै युवामा बढेको कुलतको जोखिम न्युन गर्ने लगायतका माग गरिएको छ ।

युवालयका अध्यक्ष सन्तोष महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य किरण थापा लगायतले बोलेका थिए ।
हेर्नुस घोषणा पत्रको पूर्ण पाठ

“समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट”
सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सव
जेठ १४ र १५ गते, २०८०
घोषणा – पत्र
युवा शक्ति हरेक राष्ट्रको अमुल्य सम्पत्ती हो । युवाहरु कुनै पनि सामाजिक, आर्थिक, सास्कृतिक तथा
राजनैतिक परिवर्तनका बाहक हुन्। युवाहरुसँग रहेका सृजनात्मक क्षमता, सिकाईको स्तर, जोश तथा
उच्च तहको आत्मबलका कारण युवाहरुलाई कुनै पनि देशको अमुल्य निधिको रुपमा पनि मानिन्छ ।
जुन कुनै पनि राष्ट्र निर्माणका लागि प्रमुख स्रोतको रुपमा पनि लिइन्छ । हाल नेपालमा कुल
जनसंख्याको ४२.५ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष सम्मका युवाहरुको रहेको छ । राष्ट्रको एक
प्रमुख हिस्साको रुपमा युवाहरु रहेका कारणले उनिहरुको क्षमता अभिबृद्धि गर्दै राष्ट्र निर्माणको मुल
प्रवाहिकरणमा उनीहरुलाई समाहित गर्नुपर्ने देखिन्छ । नेपालको इतिहासमा भएका विभिन्न आन्दोलनहरु
हेर्ने हो भने युवाहरुको सहभागितामा भएका आन्दोलनले देशमा प्रमुख परिवर्तनहरु ल्याउन सफल
भएको पाइन्छ । चाहे त्यो राजनैतिक आन्दोलन होस्या सामाजिक आन्दोलन नै । युवाहरु नै कुनै पनि
देशको परिवर्तनका बाहकका रुपमा हुन्छन् र छन् पनि । सोहि कुरालाई मध्यनजर गर्दै राष्ट्रिय युवा
निति २०६६ तथा संघिय नेपालको संविधान २०७२ ले राखेको सोच राष्ट्र निर्माणमा युवाहरुको
सहभागिता, युवाहरुको आधारभूत आवश्यकताहरुको परिपूर्ति, आधारभूत मानवअधिकार, लोकतान्त्रिक
मुल्य र मान्यता, विश्व शान्ति, सह अस्तित्व लगायतका भावना अनुरुप विभिन्न गतिविधिहरु तीन वटै
तहका सरकारबाट आफ्ना कामहरु मार्फत अगाडी आइरहेको देखिन्छ । सोही सन्दर्भमा युवाहरुको
अधिकारलाई कुनै पनि व्यक्तिको मुलभुत मानवअधिकारको रुपमा ब्याख्या गरिएको पाइन्छ छ ।
नेपालको सन्दर्भमा हेर्दा पनि एतिहासिक काल खण्ददेखि नै युवाहरु समुदाय स्तरमा आफ्नै तरिकाले
सहभागी हुदै आइरहेको पाइन्छ । यसलाई औपाचारिक रुपमा संगठित पार्ने काम वि.सं २०४६ सालको
राजनैतिक परिवर्तन पश्चात औपचारिक रुपमा अझ ब्यापक रुपमा अगाडी बढेको पाइन्छ । तत्
पश्चात विभिन्न राजनैतिक दलहरु तथा युवाहरुको अधिकारको क्षेत्रमा कार्यरत विभिन्न विकास
साझेदार संस्थाहरुले यसलाई थप विस्तार गर्ने काम गर्यो । संघियताको मर्मलाई कार्यान्वयनक गर्दै
युवाहरुको सवाललाई स्थापित गर्दै क्रमश कार्यान्वयन गर्दै अगाडी बढेकोमा हामी युवाहरु निकै नै खुसी
छौ । यसै क्रममा हामी युवाहरु तीन वटा नै सरकार युवा मैत्री भएको हेर्न चाहन्छौ । हाम्रा नगरहरु
युवा मैत्री नभई प्रदेश कुनै पनि हालतमा युवामैत्री बन्न सक्दैन । यसै सन्दर्भमा मिति २०८० जेठ १४
र १५ गते सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय युवा परिषदको सहकार्य, प्रदेश युवा परिषद्, सुदूरपश्चिम
प्रदेशको समन्वयमा र युवालयको आयोजना तथा विभिन्न संघसंस्थाहरुको साझेदारीमा समुन्नत
सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रादेशिक नीति संवाद
तथा युवा महोत्सवमा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण ९ वटै जिल्लाहरुलाई प्रतिनिधित्व गर्दै उपस्थित
१२० भन्दा बढी विभिन्न क्षेत्रका युवाहरुको सक्रिय सहभागितामा भएका अन्तरक्रिया तथा छलफलबाट
आएका सुझावहरुको निष्कर्ष स्वरुप यो २१ बुँदे घोषणा पत्र जारी गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक नीति संवाद तथा युवा महोत्सवबाट जारी भएका घोषणा पत्रका विषयहरु
१. प्रदेशका युवाहरुको संस्थागत रुपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गरिने छ । यसका
लागि प्रदेश युवा परिषद् तथा स्थानिय तहमा पालिका स्तरिय युवा परिषद्को गठन लगायतका
आवश्यक संरचनालाई थप सक्रियता गराई नीतिगत व्यवस्था सँगै अन्य पहल कदमी लिन आह्वान
गरिनेछ ।
२. प्रदेश युवा नीति निर्माण गर्न पहल गरिनेछ ।
३. यस प्रदेशमा सिमान्तकृत समुदायमा रहेका दलित समुदाय, अपागंतामा रहेका युवाहरु, मुस्लिम,
मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा
लगायतका समूहहरुलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरि
रोजगारीको सुनिश्चिितता गर्ने प्रयत्न गरिनेछ ।
४. युवाहरुको स्वरोजगार अभिबृद्धिका निमित्त बैज्ञानिक भू उपयोग नीतिको व्यवस्था, आधुनिक कृषि
उपज उत्पादन गर्ने व्यवस्था, उचित बजारिकरण लगायतका उपायहरुकालागी स्थानिय तहसँगको
समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तिय साक्षरता कक्षाको सुनिश्चितता तथा
सहुलियत रुपमा उचित पूँजी तथा विमा प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न पहल गरिनेछ । सो
क्रममा यस क्षेत्रमा सिमान्तकृत समुदायका युवाहरुलाई प्राथमिकता दिइनेछ । साथै यसको समुचित
प्रयोगको सुनिश्चितता गर्न र प्रभावकारी कार्यान्वयनको प्रभावकारिताका लागि स्थानिय बासिन्दाको र
विशेषगरी युवा सहभागिता सुनिश्चितता गरि आवश्यक अनुगमन गरिनेछ ।
५. बढ्दो आधुनिकिकरणसँगै डिजिटल माध्यममा युवाहरको पहुँच बढिरहेको हामी सबैलाई सर्वविधित नै
छ । यसका साथै उनीहरु विभिन्न गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणस्पद अभिव्यक्तिको सिकार
पनि भइरहेको छ । यसलाई मध्य नजर गर्दै गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद
अभिव्यक्तिबाट जोगाउनका निमित्त विभिन्न सचेतीकरणका कार्यक्रमहरु सञ्चालन गर्न
सरोकारवालहरुसँग पहल गरिनेछ । साथै, प्रदेश तथा स्थानीय तहमा युवा तथा अपांगमैत्री सुचना
केन्द्रहरुको स्थापना र सोको प्रभावकारी कार्यान्वनका लागि पहल गरिनेछ ।
६. बढ्दो आधुनिकिकरणसँगै युवाहरु कुलतको जोखिम परिरहेका छन् । यसलाई मध्यनजर गर्दै
युवाहरुलाई कुलतबाट जोगाउनका निमित्त विभिन्न नितीगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका
कार्यक्रमहरु आयोजना गर्न पहल गरिनेछ । साथै यो विषय विद्यमान युवाहरुको प्रमुख समस्याका रुपमा
अगाडि आईरहेको कारणले स्थानिय तथा प्रादेशिक सरकारले आवश्यक बजेट विनियोजन गर्दै
समुदायमा स्थानिय सरकारकै अग्रसरतामा विशेष जानकारी मुलक सन्देशहरु राखिनेछ ।
७. स्थानीय तथा प्रादेशिक तहको योजना तर्जुमा गर्दा अनिवार्य रुपमा युवाको सहभागिता तथा
युवाहरुको जनसांख्यिकिय लाभ बहुआयामिक रुपमा प्राप्तिका निमित्त आवश्यक पहल गर्न अनुरोध
गरिनेछ । साथै यस प्रक्रियामा समावेशि सहभागिताको सुनिश्चितता गरिनेछ ।
८. विकास निर्माणमा युवाहरुको भूमिका अहम् छ । यसर्थ युवाहरुको अर्थपूर्ण सहभागिताका निमित्त
स्थानिय तहसँगको समन्वयमा प्रदेश भित्रका युवा तथा युवा समूहहरुको आवश्यक तथ्यांक संकलन,
क्षमता विकास र संस्थागत विकासमा सहयोग र आवद्धताको व्यवस्था गरिनेछ ।
९. यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरि
सामाजिकिकरणका लागि आवश्यक व्यवस्था तथा नीति निर्माण गर्न पहल गरिने छ ।
१०.युवाहरुको मनोभावनाको मध्यनजर गर्दै पढाइमा सहज बनाउनको लागि कोष स्थापना गर्ने र पढ्दै
कमाउदै कार्यक्रम सञ्चालन गर्न स्थानिय तथा प्रादेशिक सरकारलाई अनुरोध गरिने छ ।
११. सबै प्रकारका अपांगतमा रहेका युवाहरु, यौनिक तथा लैंगिक अल्पखंख्यक युवाहरु तथा पछाडि
पारिएका युवाहरुको संरक्षण तथा विकासका निमित्त आवश्यक व्यवस्था गरिनेछ । साथै उनिहरुको
राजनैतिक सहभागिताको सुनिश्चितता लागि पनि उचित पहल गरिने छ ।
१२. समाजमा विद्यमान रहेका छाउपडि प्रथा, बालबिवाह वा छिटो उमेरमा हुने र जबरजस्ती हुने
विवाह लगायत अन्य हानिकारक सामाजिक मूल्य मान्यताहरु न्यूनिकरणका निमित्त भएका कानुनहरुको
उचित तथा प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी पहल गरिनेछ । साथै यसको समुचित
प्रभावकारी प्रचार प्रसारका निमित्त आवश्यक पहलकदमी लिईनेछ ।
१३. युवाहरुका निमित्त औपचारिक शिक्षाका साथै जीवनोपयोगी शिक्षा तथा जीवन पर्यन्त सिकाइ तथा
सीपमुलक सीपको व्यवस्था गरिनेछ । यस क्रममा आवश्यक शैक्षिक सामग्रीहरु अपांगतामा रहेका
युवाहरुले प्राप्त गरेको सुनिश्चितता गरिनेछ ।
१४. विभिन्न अभियानमा संलग्न भएका युवाहरुको अभियानलाई उच्च कदर गर्दै उनीहरुलाई विभिन्न
कार्यक्रमहरुमा पनि उचित स्थान प्रदान गरिनेछ ।
१५. विभिन्न हिंसा तथा मानव बेचिविखनबाट प्रभावित युवाहरुको संरक्षणका निमित्त मनोसामाजिक
परामशर्, पुनरस्थापना, कानुनी संरक्षणको व्यवस्था लगायत अन्य आवश्यक उचित व्यवस्था गरिनेछ ।
१६. सुदूरपश्चिम प्रदेश विपद् जोखिमको सवालमा निकै नै शंवेदनशील रहेको कुरा हामी सबैलाई
जानकार नै छ । यसै सवालमा युवाहरुको सहभागिता सहयोगी मात्र नभई उनिहरुकै नेतृत्वमा विपद्
न्यूनिकरण एवम्जलवायु परिवर्तन अनुकुलन लगायतका गतिविधिहरु सञ्चालन गर्न आवश्यक व्यवस्था
गरिनेछ ।
१७. सुदूरपश्चिम प्रदेश पर्यटनको क्षेत्रमा उच्च रुपमा सम्भावना भएको क्षेत्र हो । यस कार्यमा लागेका
युवाहरुकोबृद्धि विकासका लागि आवश्यक सामग्री लगायत क्षमता विकासका लागि आवश्यक व्यवस्था
गरिनेछ ।
१८. प्रदेशमा रहेका युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद लगायत व्ययामशाला
वा स्थानहरु तथा साहसिक खेलहरुको आवश्यक मात्रामा व्यवस्था तथा खेलाडीलाई प्रोत्सान गर्न
सम्मान गरिने छ । यसक्रममा अपांगतामा रहेका युवाहरु तथा अपांग मैत्री खेल संरचनाको व्यवस्था
भएको सुनिश्चितता गरिनेछ ।
१९. यस प्रदेश अन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवाहरु समावेशी युवा मैत्री बनाउँनका निमित्त सम्बन्धित
निकायहरुसँगको समन्वयमा आवश्यक पहल गरिने छ । साथै युवाहरुको नेतृत्वमा सञ्चालन गरिने
विभिन्न अनुसन्धान कार्यहरुको सहयोगका निमित्त आवश्यक व्यवस्था गरिने छ । र सञ्चालित
कार्यक्रमहरुको आवधिक रुपमा समिक्षा पनि सञ्चालन गरिने छ ।
२०. सुदूरपश्चिम प्रदेशलाई देशकै युवामैत्री प्रदेश निर्माणका लागि सरकारी पहल सँगै तमाम युवाहरु र
सरोकार राख्ने सम्पूर्ण साझेदार निकायसँग समन्वय, सहकार्य र सहयोग गरी यस अभियानलाई साझा
अभियान बनाउँदै अगाडि बढिनेछ ।
२१. नवविवाहित युवाहरुलाई सुखी जिवनयापन, प्रारम्भिक बालविकास तथा सकारात्मक अभिभावकत्व
सम्बन्धि उचित जानकारी तथा ज्ञान दिन स्थानिय सरकारसँगको समन्वयमा आवश्यक पहलकदमी
लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार