५ जेष्ठ २०८१, शनिबार

सरकारले समुदायलाई अधिकारबाट बञ्चित गराउन खोजेको आरोप



धनगढी/ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश महासंघको दोस्रो अधिबेशन मंगलबार धनगढीमा शुरु भएको छ ।

प्रदेश अधिबेशनको महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले उद्घाटन गरेकी हुन् । अधिवेशन उद्घाटनमा बोल्दै केन्द्रीय अध्यक्ष पाठकले आफ्नो श्रम र समय खर्चेर समुदायले संरक्षण गरेको वनबाट लाभ लिन समुदायलाई बञ्चित गर्ने ढङ्गले प्रदेश सरकारहरु नीति निर्माण गर्ने काममा लागिरहेको आरोप लगाइन् ।

उनले समुदायले संरक्षण गरेको वनबाट लाभ पनि समुदायले नै लिने व्यवस्थाका लागि आफुहरुले आन्दोलन गरिरहेको बताइन् । सामुदायिक बन उपभोक्ता महासंघका पदाधिकारी तथा सदस्यहरु पनि जनप्रतिनिधि रहेकोले सबैले आ–आफ्नो क्षेत्रबाट वनमा समुदायको अधिकार स्थापित गर्न लाग्नुपर्ने अधयक्ष पाठकको भनाई छ ।

बाग्मती प्रदेश सभाको सदस्य समेत रहेकी पाठकले वनमा बन्ने संरचना निर्माण हुनुपूर्व गरिने वातावरणीय प्रभाव मुल्यांकनको प्रविेदन स्वीकृत गर्ने जिम्मेवारी वन तथा वातावरण मन्त्रीको रहेकोमा अहिले मन्त्रालयमा मन्त्री नरहेको अवस्थामा सचिव वा विभागीय प्रमुखले स्वीकृत गर्ने गरेर कानूनमा संशोधन गर्न कर्मचारीतन्त्रले प्रतिनिधि सभामा वन ऐनमा संशोधन प्रस्ताव दर्ता गराएको बताउँदै यस्तो कामको सामुदयिक वन उपभोक्ता महासंघले विरोध गर्ने बताइन् ।

अधिबेशनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) का प्रदेश कमिटी सचिव धर्मराज पाठकले सामुदायिक वन उपभोक्ता समूहहरुले उदाहरणीय कामहरु गरेको बताए । वनका बिषयमा कानूनमा केही नमिलेका कुराहरु रहेको र तिनमा संशोधनका लागि आफुले आफ्नो तर्फबाट प्रयास गर्ने प्रदेश सभा सदस्य पाठकले बताए ।

उनले जनताका गुनासा र कानूनमा नमिलेका कुराहरु बारे छलफल गर्ने थलो संसद भएको बताउँदै जनतासंग प्रतिवद्धता व्यक्त गरेका बिषयमा छलफल गर्न प्रदेश सभा नचलेकोले समस्या भएको बताए ।

प्रदेश सरकार गठन भएको तीन महिना पूरा हुँदासमम पनि प्रदेश सरकार पूर्ण नभएको र प्रदेश सभालाई बिजनेश दिन नसकेका कारण प्रदेश सभा नचलेको उनले बताए ।

प्रदेश सभा सदस्य पाठकले सामुदायिक वन उपभोक्ता समुहहरुले संरक्षण र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वनको समस्या सरकारले वुझ्न नचाहेको आरेप लगाए ।

महासंघका प्रदेश अध्यक्ष देबबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव ठाकुर शर्मा, स्थायी समिति सदस्य नेत्रप्रसाद खनाल लगायतले बालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार