२ जेष्ठ २०८१, बुधबार

पहिलोपटक सडकसञ्जालसंग जोडियो महाकालीपारीको दोधाराचाँदनी (तस्बिरसहित)



महेन्द्रनगर/ लामो प्रतिक्षापछि कञ्चनपुरको सदरमुकामसंग महाकाली नदी पारीको दोधारा–चाँदनी सडक मार्गद्धारा जोडिएको छ । निर्माणधिन नेपाल सरकारको राष्ट्रि«य गौरवको योजना अन्र्तगत रहेको चार लेनको पक्की पुल निर्माणकोे काम शतप्रतिशत सकिएपछि ती बस्ती जोडिएका हुन ।

पुल निर्माण भएसंगै महाकाली पारीको दोधारा–चांदनी नगरपालिका पहिलो पटक सडक सञ्जालसंग जोडिएको हो । महाकाली पुल आयोजनाले नगरपालिकालाई सडक सञ्जालसंग जोड्नुका साथै पुल निर्माण हुने क्षेत्रलाई पर्यटकी क्षेत्र बनाउने तथा दोधारा चांदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरि महाकालीमा चार लेनको पक्की पुल र गड्डाचौकीमा रहेको कञ्चनपुर भन्सार कार्यालयसम्म ७.८ किलोमीटर पहुँचमार्ग (सडक) निर्माण भइरहेको हो ।

निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार ३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको काम सकिएको र बनाउनुपर्ने ७.८ किलोमिटर सडकमध्ये एक हजार दुई सय मिटर मात्र बनाउन बाँकी रहेको ‘पुलको काम सकिएको छ, रंगरोगन गर्न मात्र बाँकी छ, सडकमा पनि पुलको वारी छ सय मिटर र पारी छ सय मिटर गरेर एक हजार दुई सय मिटर मात्र कालोपत्रे गर्न बाँकी छ ।

महाकाली पुल आयोजनाले चालु आ.व. मा भुक्तानी दिएको ४० करोड रुपियाँ खर्च भएर थप ३५ करोड रुपियाँको काम गरेका छौ, आयोजनाले भुक्तानी दिएको छैन उनले भने रकम समयमा नआएमा काम प्रभावित हुनसक्छ ।

इन्जिनियर पाण्डेयले भने, हामीले अहिलेसम्म काम रोकेका छैनौ तर अब पनि भुक्तानी नभएमा काम रोकिन सक्छ । अहिले बजारको अवस्था खराब छ, हामीलाई चाहिने डिजेल, छड, सिमेन्ट सबै नगदमै ल्याउन परेको छ, पहिले व्यापारीले बैंक ग्यारेन्टी मान्थे अहिले मान्दैनन्, श्रमिकले त झन् मान्ने कुरै भएन उनले भने ।

महाकाली पुल योजनाको समग्र कार्यमा ८७ प्रतिशत प्रगति भएको महाकाली पुल आयोजनाका साइड हेर्ने इन्जिनियर तथा सूचना अधिकारी सविना रानाभाटले बताइन । पुलको काम शतप्रतिशत पूरा भएको छ, अलिकति श्रृंङ्गारपटार, रङ्गरोगन मात्र बाँकी हो, सबै बनेपछि एकैपटक गर्ने भनेर अन्य काम भइरहेको छ । उनले भनिन, ‘समग्र आयोजनाको कुरा गर्ने हो भने भौतिक रुपमा ८७ प्रतिशत र वित्तिय रुपमा ८३ प्रतिशत काम भएको छ, बजेट अभावले गरेको कामको भुक्तानी नहुँदा वित्तिय प्रगति कम देखिएको हो ।

पुलको दुवैतिर बनाउनुपर्ने साना पुल निर्माणको काम समेत पूरा भएको छ । ‘पुलमा आवतजावत एक वर्ष पहिलेबाटै चलेको हो, बिचमा केही दिन पुलको अगाडि निर्माण कार्य चलेकोले बन्द गरिएको थियो, अहिले शुरु भइसकेको छ ।’ सूचना अधिकारी रानाभाटले भनिन, ‘सडक किनारमा निर्माण गर्नुपर्ने १६ किलोमिटर नाली मध्ये १४.६ किलोमिटर निर्माण भएको छ, अब आयोजना अनुसार बनाउन बाँकी गाईडबण्ड, नदी नियन्त्रणका लागि तटबन्ध, बायो इन्जिनियरिङ्ग, ईलेक्ट्रीसिटी, पोखरी निर्माण लगायतका काम बाँकी छन्, सबै काम भइरहेका छन्, बजेट अभाव भए पनि काम रोकिएको छैन ।’

भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चाँदनीलाई जोडने गरेर निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।

आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको सहितको आयोजनाको काम तीन वर्षभित्र सक्ने गरेर कुमार सिएफइसी जेभीसंग तीन अर्व २७ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आ“खा आकारको पोखरी निर्माण गरेर पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरेर पुलको डिजाइन गरिएको छ ।

पुलको उत्तरपट्टि एक वर्गकिलोमिटर भन्दा ठूला दुईवटा पोखरी र दक्षिणपट्टि ०.३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण गरिनेछ । उत्तरपट्टिको तालमा छवटा आईसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टकारुपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ ।

बोटको प्रयोगले त्यहाँ जाने प्रवन्ध मिलाएर पर्यटकीय क्षेत्रका साथै रोजगारी सृजना हुने गरेर पुलको डिजाइन गरिएको हो । तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरेर २०८० चैत १५ सम्म कायम गरिएको सूचना अधिकारी रानाभाटले बताइन ।

‘पोखरीको डिजाइन परिवर्तनका कारण म्याद थप गर्नुप¥यो’ निमार्ण कम्पनीका इन्जिनियर पाण्डेयले भने, ‘अब म्यादभित्र काम सकिन्छ, अब कुनै अवरोध छैन तर बजेट अभावले फेरि समस्या आउँदै छ ।’

पुल निर्माण भएसंगै यस क्षेत्रका व्यापार व्यवसायसंगै सडक सञ्जालबाट टाढा रहेको महाकाली पारीको क्षेत्रलाई पनि यातायातसंगैको पहुचसंग जोडेको छ । आयोजना पूरा भएपछि बन्ने भनिएको बन्दरगाह बनेमा कञ्चनपुर मात्र होइन सुदूरपश्चिमले विकासमा फड्को मार्नेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षाैदेखि पक्की पुलको माग गर्दै आएका थिए ।

‘पुलले निमार्ण भएसंगै दोधाराचाँदनी सदरमुकाम महेन्द्रनगरसंग जोडिएको छ, भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ, सबै जनता खुसी छन् ।’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले भने, ‘महाकाली पारीका जनाताका दुःखमा यस पुलले मलम लगाउने काम गर्नेछ, यहाँ उत्पादन हुने खाद्यान्न, दुध, तरकारी लगायतका वस्तुहरुलाई नेपाली बजारमा बेच्न सहजता भएको छ यसका साथै स्कुलबस सञ्चालन हुने हुँदा यहाँका जनताका छोराछोरीले पनि सदरमुकामका विद्यालयहरुमा पढ्न पाउनेछन् ।’

म्याद थपिदै, लागत बढ्दैै
ठेकेदार कम्पनीसंग सम्झौतापछि चौथो पटक म्याद थपिएको छ । २०७४ भदौ ७ मा तीन वर्षभित्र निर्माण पूरा गर्ने गरेर ठेक्का सम्झौता भएको थियो । त्यसपछि २०७८ जेठ २, २०७८ फागुन १५, २०७८ चैत ३० र २०७९ कात्तिक १४ गते गरेर चार पटक म्याद थप भईसकेको छ । अहिले २०८० चैत १५ सम्म काम पूरा गर्न म्याद दिइएको सूचना अधिकारी रानाभाटले बताइन ।

आयोजना भित्र पर्ने पोखरी निर्माणको कार्यको डिनाइन परिवर्तन भएर आएपछि काम भइरहेको छ । ‘भेरिएसन अडर वान डिजाइन परिवर्तन) र भेरिएसन अडर टु पास भएको छ, अझै भेरिएसन अडर थ्री आंशिक रुपमा मात्र पास भयो, थपिनुपर्ने बजेटको १४.९८ प्रतिशत मात्रै पास भएको छ ।’ रानाभाटले भनिन ‘काम रोकिन थालेपछि नराकियोस् भनेर केही प्रतिशत बजेट आउने गरेर कागजपत्र मिलाएका थियौं तर त्यो पनि पूरा आएको छैन, डिजाइन परिवर्तनपछि थप्नुपर्ने पूरै बजेट पास गर्न चाँही मन्त्री परिषदमै लैजानुपर्छ ।’

‘डिजाइन परिवर्तनसंगै लागत रकम २५ प्रतिशतभन्दा बढी बढाउनुपर्ने भएको छ, १५ प्रतिशतसम्म डिजी र २५ प्रतिशतसम्म सचिवले पास गर्न मिल्छ तर यसभन्दा माथि मन्त्रीपरिषदले पास गर्नुपर्दछ ।’

डिजाईन धेरै कामहरु थप्नुपर्ने भएपछि लागतमा २५ प्रतिशतभन्दा बढी रकम थप्नुपर्ने भएको महाकाली पुल योजनाका रानाभाटले बताइन ।

चार अर्ब २० करोड ८३ लाख ६३ हजार ७०५ रुपियाँ लागत अनुमान गरिएको योजनामा ठेकेदार कम्पनीसंग २२ प्रतिशत घटीमा तीन अर्ब २७ करोड ९३ लाख ४९१ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसपछि काम गर्दै जाँदा केही सामान आवश्यक नभएको भेटिएपछि पूर्नमूल्याङ्कन गर्दा तीन अर्ब २४ करोड २५ लाख रुपियाँ हुन पुगेको थियो । दोस्रो पटक केही सामान थप्नुपर्ने भएपछि पूर्नमूल्याङ्कन रकम थपेर तीन अरब ६६ करोड, तेस्रो र चौथो पटक म्याद थप्दा तीन अरब ७७ करोड पाँच लाख रुपियाँ पुगेको रानाभाटले बताइन ।

पुल लगायतका पूर्वाधारका सुन्दर तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार