५ जेष्ठ २०८१, शनिबार

एमाले नेताको प्रश्न : टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो हुनुहन्छ कि, खोजी गर्नुपर्ने बेला आएको छ




काठमाडौं/ नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भनेर सरकारलाई सोधेका छन् । ‘म पनि नेपाल सरकारलाई सोध्दैछु– सरकारमा बस्नेहरुले किन खोज्न सक्नुभएन ? उहाँहरुकै निगरानीमा हुनुहुन्छ । सार्वजनकि कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौं ।

सार्वजनिक कार्यक्रममा पुलिस/प्रशासन पनि थियो होला । पक्राउ पुर्जी जारी गर्यो भन्ने पनि सुनेको हो, सरकारको दायित्व र जिम्मेवारी यो हुन्छ कि नेपालको क्षेत्रफलभित्र को/कहाँ छ ?भनेर हेर्ने हो, फरार भन्न मिल्दैन् । सरकारले खोजि गर्न नसक्ने हो भने, त्यो सरकार होईन ।’–तामाङ्ले भने ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त प्रकरणमा मुछिएका रायमाझीलाई कतै गैरन्यायिक हिरासतमा राखिएको हो कि भनेर प्रश्नसमेत सोधे । ‘सरकारले मेरो आँखा पुगेन भन्न मिल्छ र ? एक लाख ४७ हजार ५ १६ वर्ग किलोमिटर क्षेत्रफलभित्र सरकारले सबै ठाउँमा मेरो आँखा पुगेको छ भन्नुपर्छ । सरकारलाई नै प्रश्न छ–टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो छ कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’–उनले भने ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने विश्वास दिलाए । उनले थपे–‘जहाँसम्म यो विषय उठैकै छ । एमाले यो विषयमा सरकारले गरिरहेको अनुसन्धानमा सहयोग नै गर्छ ।

यो विषय खासगरी प्रश्न उठेपछि यो छिनोफानो हुनैपर्छ । एमालेको कोणबाट अनुसन्धान प्रभावित गर्ने कुनैपनि भूमिका हुँदैन् । एमालेले कसैलाई बचाउनुपर्ने आवश्यकत्ता छैन । एमालेको छाता ओढेर कसैले बेईमानी गर्छ भने, त्यसलाई बचाउने काम गर्दैन् । बचाउनुपनि हुँदैन् । त्यसैले यो विषयमा म प्रष्ट पार्न चाहन्छु ।’

उनले उक्त प्रकरणको अनुसन्धान प्रक्रियालाई लिएर आफूहरुलाई अलि–अलि शंका लाग्न थालेको पनि गुनासो पोखे । उनले थपे–‘यो प्रकरणमा प्रश्न अरुमाथि पनि तेर्सिएकै छन् । अरु धेरै मान्छेहरुको नाम मुछिएका छन् । केही सिमित मान्छेहरुलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको त छैन् ? यो विषय एक वर्षदेखि छानबिन भैरहेको छ भन्ने कुरा आएको छ, बयानका क्रममा आएका विषय आज गुपचुप राखिँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा के–के भएको हो, सत्य–तथ्य सबै बाहिर ल्याउनुपर्छ भन्नुभएको छ, कसैलाई बचाउने वा अरुलाई फसाउने काम गर्नुहुँदैन भनेर भन्नुभएको छ । यसमा मुछिएका जतिपनि छन्, ती सबै बाहिर आउनुपर्छ । अपराधीहरु छुट्न पाईँदैन् ।

जुनसुकै दल र जुनसुकै पदका होउन्, यो संगठित मानव तस्करी हो । राज्य पक्ष मिलेर गरिएको मानव तस्करी हो । यो जघन्य अपराध हो । यसको अन्त्य गरिनुपर्छ । यसमा संलग्न दोषीहरुलाई कारबाहीको दायरालाई ल्याउनुपर्छ । यसको खुट्टा नकमाई छिनोफानो गरिनुपर्छ ।’

तामाङ्ले सुडान घोटाला काण्डमा पनि केही हाईप्रोफाईल मान्छे जेल परेको र केहीले उन्मुत्ति पाएको पनि स्मरण गराए । उनले भने,‘सुडान घोटाला काण्डमा एकचोटी ठूलो नेता जेल पनि परे । चिरञ्जिवीजस्ता नेता जेल परे । यतिले भ्रष्टाचार रोकियो त ?’
उनले वर्तमान सरकारले पाँच वर्षभन्दा पूरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढंगले संसद्बाट कानून पारित गर्न खोजेको पनि आरोप लगाए । उनले उक्त कानून तत्काल फिर्ता लिनुपनि सरकारसमक्ष माग गरे । उनले भने,‘यो कानून तत्काल फिर्ता लिनुपर्छ । २०४७ साल यता भएका सबै भ्रष्टाचारबारे छानबिन गर्नुपर्छ । सबै दलका नेता, प्रशासकहरु, न्यायाधीशहरुको सम्पत्ति एकपटक जाँचौ । को कति पानीमा छ, त्यसपछि प्रष्ट थाहा हुन्छ ।’

उनले सरकारलाई सुशासन कायम गर्नको लागि केही सुझाव पनि दिए । उनले भने,‘यो सरकारले सबै सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति सार्वजनिक गर्ने कानून बनाओस । दोस्रो कुरा, खरिद ऐनको पनि संशोधन जरुरी छ । सबै खरिदहरुका कमिशन राज्यकोषमै जानेगरि कानून बनाउनुपर्छ । यो तीन काम गर्यो भने म पनि स्यावाशी दिन्छु ।’

उनले भुटानी शरणार्थी प्रकरणमा कसै कसैलाई उन्मुक्ति दिने नियत देखिसकेको आरोप लगाए । उनले भने,‘यो प्रकरणमा दोषी कोही पनि नबचुन् भन्नेमा एमाले प्रष्ट छ । एमाले कोही भ्रष्टाचारीलई जोगाएर राख्नुपर्छ भन्ने पार्टी होईन ।’ उनले कुर्सी आँफैमा भ्रष्टाचारी नहुने र त्यहाँ बस्नेको नियतले भ्रष्टाचार हुने गरेको टिप्पणी गरे ।

उनले रायमाझीलाई एमालेले लुकाएको भन्ने आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । उनले उल्टै प्रश्न गरे–‘एमालेले लुकाएको छ भन्ने लागेको छ भने एमालेको नेताहरुको घरघरमा छापा हाने भयो त । कसले रोकेको छ त ? शंका लाग्छ भने तत्काल छापा हानियोस । पार्टी र नेताहरुभन्दा राज्य–प्रशासन बलियो हुन्छ ।’

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

उनले भने,‘नेपाली समाजमा भ्रष्टाचार एउटा अंग भनेर बसेको जस्तो छ, हामी सबैले भ्रष्टाचार भैरहेको छ भनेर चिन्ता जाहेर गरेका छौं । तर, कसरी यसलाई निर्मुलीकरण गर्ने भन्नेबारे ठोस पहलकदमी नभएको कारण नेपाली समाजमा राजनीतिक नेतृत्वप्रति आक्रोश छ । हुँदाहुँदै व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता पनि लागेको छ । जहाँसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय छ, यो समाप्त हुनैपर्छ । यो हामीले गर्नैपर्छ ।’

यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघातको संज्ञा दिए । उनले भने, । उनले भने,‘यो एकप्रकारको राष्टघात र दशेद्रोह हो । यो राज्यसत्ताको विश्वसनियतामाथिको प्रश्न हो । नेपाली समाजमा कानूनी राज्य, विधिको शासन लागु गर्ने जिम्मा लिएर बसेका नेतृत्वहरु नै यो प्रकरणमा संलग्न भएपछि नेपाली राज्यसत्तालाई कुन दृष्टिले हेर्ने भन्ने कुरा छ । यो भ्रष्टाचारमात्रै होईन । यो महाअपराध हो । यसलाई छुट दिनुहुँदैन् ।’

उनले उक्त प्रकरणमा संलग्नलाई राजनीतिक उन्मुक्ति दिने काम कुनै दलबाट भयो भने ती दल नै समाप्त हुने चेतावनी दिए । उनले भने,‘मलाई लाग्छ अब यो प्रकरणमा दोषीलाई बचाउन जो लाग्छ, उसलाई दुनियाँको कुनै शक्तिले बचाउन सक्दैन् । अब नेपाली समाज जागिसकेको छ । जनता जागिसकेको अवस्था छ । प्रभावशाली व्यक्ति वा नेतृत्व नै किन नहोस, यदि यो वा त्यो नाममा आफ्नो मान्छे, आफ्नो पार्टी अनि नजिकको मान्छे भनेर बचाउन खोजियो भने र कुनै पार्टी लाग्यो भने त्यो पार्टी नै सकिन्छ । नेता लागे नेता पनि सकिन्छन् । र, यो सकाउनुपर्छ ।’

यादवले भ्रष्टाचारजस्तो रोगलाई समाप्त नपारीकन व्यवस्था बचाउन नसकिने पनि चिन्ता व्यक्त गरे । उनले भने,‘भ्रष्टाचारजन्य रोगलाई समाप्त नपारी हामी अब यो व्यवस्था पनि बचाउन सक्दैनौं । यो जुनप्रकारको हामीमाथि प्रश्नचिन्ह खडा भएको छ, बास्तवमा गम्भीर प्रश्न खडा भएको छ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने हामी युवा पुस्ताका नेता पनि हौं । गल्ती अरुले गर्ने अनि त्यसको भारी र दोष हामीले पनि खेप्नुपर्ने ? यो हाम्रो लागि बडो चिन्ताको विषय हो । केही गलत मान्छेको कारण समग्र राजनीति बदनाम भएको छ ।’

उनले अहिलेको भ्रष्टाचार प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउनुपर्नेमा जोड दिए । उनले थपे–‘यसमा जस्तोसुकै प्रभावशाली या ठूला, सानो माछा समातिन्छन् अनि ठूला समातिँदैनन् भन्ने कथन थियो, अब ठूला माछापनि समातिनेगरि सबैले भूमिका खेलौं । क्यान्सररुपी यो भ्रष्टाचारको रोगलाई भगाउनुपर्छ ।’

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको सुनाए । उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि यो ऐतिहासिक अवसर हो । यहाँले हिजो जनयुद्ध र परिवर्तनको अगु्वा गर्दै गर्दा नेपाली समाजलाई त्यसको औचित्य पुष्टि गर्नुछ भने कुनै दबाब र प्रभावमा नपरी, अनि खुट्टा नकमाईकन, लोभ र लालचमा नफसी यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । जुन पार्टीका भएपनि कानूनी कठघरामा ल्याउनुपर्छ । नयाँ कानून बनाएर भएपनि यिनीहरुलाई कडा सजाय दिनुपर्छ । यसलाई एउटा क्राईमको रुपमा लिएर अघि बढ्नुपर्छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा साहसिक कदम चालेको भन्दै प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाको प्रशंसा गरे । र, उनले प्रधानमन्त्री, गृहमन्त्रीलगायत अनुसन्धानमा लागिपरेका सबैलाई सहयोग पुर्याउनुपर्ने आवश्यकत्ता पनि औंल्याए । उनले भने,‘यो राष्ट्रधर्म परमकर्तव्य हो भनेर वोध गरेर यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । यसपटक पनि, यसबाट ठूला पार्टीका ठूला नेताहरु, लहरो तान्दा पहरो जाने कुरा हेडलाईन आएका छन् । प्रभावशाली, बलिया, अवैध रुपमा सम्पत्ति आर्जन गरेकाहरु फस्ने कुरा छ, यसबाट अनुसन्धान प्रभावित हुने त होईन भन्ने कुरा छ, यो त पार्टीहरुको लागि पनि परीक्षा हो । राजनीतिक जीवन बचाउनुछ भने कुनै पनि प्रभावमा नपरी यसको जरोसम्म पुगेर, दुधको दुध अनि पानीको पानी छुट्याएर यसमा संलग्न सबैलाई कानूनी कारबाहीमा ल्याउनुर्पछ ।’

उनले आफ्नो दल सोह«ै आना उक्त अनुसन्धानमा सहयोग गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘हामी कुनैपनि कारणले यो अनुसन्धानको विषय गडबड नहोस भन्नेमा सचेत छौं । टाउको माथिबाट भ्रष्टाचार निर्मुल पारौं ।’

नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।
उनले भनिन्–‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त बनाउनको निम्ति प्रचण्ड सरकार, प्रधानमन्त्री र गृहमन्त्रीज्यूले नक्कली शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउनुभएको छ । यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’

उनले अहिले भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म मौलाएको सुनाईन् । उनले भनिन्–‘भ्रष्टाचार त नीतिगत रुपमा मौलाएको छ, राजनीतिक आडमा मौलाएको छ । अर्को, स्थानीय तहको विकास निर्माणमा गरिने, सार्वजनिक खरिद ऐनमार्फत धेरै भ्रष्टाचार मौलाएका छन् । खुलमखुला आयोजनाको लागत अनुमान धेरै गर्ने अनि भ्रष्टाचार गर्ने काम भएका छन्, राजनीतिक संरक्षणकै कारण भ्रष्टाचार मौलाएको छ । नागरिकले दललाई भ्रष्टाचारीको संज्ञा दिन थालेका छन् । कसले भ्रष्टाचार गरेको छ भनेर देखाउन पनि सकेको छैन् । हामीले जीवन नै राजनीतिमा दिएको हो । राजनीति गर्नेबित्तिकै भ्रष्टाचारी भनिने गरिएको छ । मिडिया क्षेत्रले रातोलाई रातो अनि कालोलाई कालो भनिदिए सरकारले थालेको कामले सार्थकता पाउँछ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकारले अनुसन्धान थाल्दा राजनीतिक हस्तक्षेप भएको संकेत गरिन् । उनले थपिन्–‘सरकारले केही काम सुरु गर्यो, यहाँ हस्तक्षेप भएको छ । यो नक्कली शरणार्थी प्रकरण तुहिँदैन् । प्रधानमन्त्रीज्यूले म जस्तोसुकै दबाब थेग्न तयार छु भन्नुभएको छ । पार्टीको तर्फबाट म पनि प्रतिबद्धता जनाउन चाहन्छु कि अब सबै भ्रष्टाचारका फाईल खोलिनुपर्छ । जुन पार्टीको भएपनि भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नुहुँदैन् ।’

उनले भ्रष्टाचारको जालो अब च्यात्नुपर्ने बेला आएको बताईन् । उनले भनिन्–‘कसैले पनि लामो हात गर्ने नसोचोस । कानूनी कठघरामा उभिने डर राखोस । अब मुलुकमा भ्रष्टाचारको अन्त्य हुने ढोका खुलेको छ । जहाँसम्म भुटानी शरणार्थी प्रकरणको कुरा छ, यो भ्रष्टाचारमात्रै होईन । यो राज्यविरुद्धको गम्भीर अपराध हो । राष्ट्रघात हो । आफ्नो स्वाभिमान, स्वाधिनता बेचेर नक्कली शरणार्थी खडा गरेर विदेश पठाउने काम भएको छ, यसलाई भ्रष्टाचारको रुपमा मात्रै व्याख्या नगरियोस । यसले राष्ट्रिय स्वाधिनतामा खलल पुर्याएको छ । गलत गर्नेहरु सजायको भागिदार हुनुपर्छ ।’

उनले प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले चालेको कदम सफल होस भन्ने शुभकामना पनि दिईन् । उनले भनिन्–‘यो प्रकरणमा अनुसन्धानमा कहीँकतैबाट अवरोध नहोस । दोषीलाई सजाय दिनुपर्छ । निर्दोषलाई उन्मुक्ति दिनुपर्छ । सबैको भूमिका यसप्रति सकारात्मक हुन जरुरी छ । नेपालको भ्रष्टाचारको अन्त्य गर्ने कुरा गर्दा सबैबाट पनि सकारात्मक सोच र दायित्व उत्तिकै महत्व हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार