२० बैशाख २०८१, बिहीबार

जानकीको कृषक पोत्साहन नीति सिक्ने कि ?



नेपालीहरु प्राय सबैको पेशमा कृषि भन्ने शव्द उल्लेख हुन्छ । सबैले पेशामा कृषि लेख्दा लाग्छ कि सबै नेपालीले साच्चिकै कृषि पेशा अगाल्दै आएका छन् । तर वास्तविकतामा भने नेपालीहरु कृषि पेशाबाट विमुख हुँदै आएका छन् । पहाडी क्षेत्रमा त अहिले पूरै जग्गा बाँझै छन भन्दा पनि हुन्छ । पहाडमा आर्गेनिक चीजहरु कोदो, जौ लगायतका खाद्यान्न बस्तु फल्ने जग्गा बाँझै छन् । हो धान फल्ने खेतमा मात्र मुस्किलले धान रोप्ने गरिन्छ । पहाडमा सिंचाइ नपुग्ने जग्गामा पनि धान उत्पादन हुन्छ तर ती सुख्खा जमिन पनि खाली हुँदै गएका छन् ।

खेती नलगाउने रोग पहाडको रोग अव तराईमा पनि फैलिन थालेको छ । एकातिर कृषि पेशा सीमा क्षेत्र भारतबाट सस्तोमा उत्पादन आउने भएकोले महंगो हुँदै छ जसले गर्दा लगानी उठ्दैन र किसानहरु त्यो पेशाबाट विमुख हुँदैछन् । अर्कोतिर विदेश जाने फेशन चल्नाले पनि खेतवारीमा खेती गर्ने जनशक्तिको अभाव छ ।

खेती गर्ने युवा जनशक्ति विदेशिनु, मल,वीउ समयमै नपाउनु, आफ्नो उत्पादनले लगानी अनुसारको मूल्य नपाउनुले कृषकहरु कृषि पेशाबाट विमुख हुनु अस्वभाविक पनि होइन । तर पनि आत्मनिर्भर रहन, कृषिबाटै रोजगारी वा जिविकोपार्जन गर्न वा गराउन कृषि पेशालाई पुर्नजीवन दिनैपर्छ । त्यसका लागि तीनवटै तहका सरकारले आफूहरुले सक्ने काम गर्नुपर्छ ।

यसक्रममा कैलालीको जानकी गाउँपालिकाले वास्तविक किसानलाई गहुँ उत्पादनमा दिन खोजेको राहत अनुदान कार्यक्रम उचित छ । यसले कृषकलाई यही पेशामा लाग्न प्रेरित त गर्छ नै । संघीयता आएपछि गाउँमा सिंहदरवार आयो भन्ने मान्यतालाई पनि विश्वासमा परिणत गर्छ । जनता वा कृषकका लागि चालिले यस्ता कदमले संघीयतालाई बलियो बनाउन मद्धत पुग्छ ।
वास्तवमा जानकी गाउँपालिकाले अनुदान दिदा पनि जिम्मेवार भएर दिएको देखिन्छ ।

प्रदेश र संघका कृषि कार्यालय वा निकायबाट दिएका कतिपय अनुदान काजगमा सीमित छन् । वास्तविक किसान भन्दा कागज मिलाउन सक्ने टाठाबाठाले त्यस्ता अनुदान लिएका छन् । तर जानकीले गहुँ लगाउने बेला कतैबाट अनुदान नलिएकालाई अनुदानका लागि निवेदन दिन लगाउने, गहुँ पाकेपछि बाली हेरेर उत्पादनको मात्रा निकाल्ने र तोकिएको मापदण्ड भन्दा (प्रतिकट्टा ६६/६ किलोग्राम) बढी उत्पादन भएपछि मात्र प्रति किलोग्राम उत्पादनको सात रुपियाँ अनुदान दिने नीति निक्कै प्रशंसनीय छ ।

यो कार्यक्रमले पालिकाको सुविधाबाट वास्तविक कृषक कोही नछुट्ने कोही नदोहोरिने अवस्था ल्याउछ । जानकी गाउँपालिकाको गहुँ कृषक पोत्साहन नीति अरुले पनि सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार