२० बैशाख २०८१, बिहीबार

प्रदेशमा मातहतमा आएपछि टीकापुर अस्पताल सुधार हुँदै



२० वर्षअघि नाममा प्राथमिक स्वास्थ्य केन्द्र र सेवा प्रवाह जिल्ला अस्पताल सरह दिनुपर्ने भएकाले टीकापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल घोषणा गरिएको थियो । अस्पताल व्यवस्थापन र प्रशासनको यो मागलाई स्वास्थ्यको निर्देशनालय र विभागले शुरुमा अस्वभाविक मानेको थियो पछि जायज माग स्वीकार गर्यो ।

टीकापुर अस्पताल घोषणा त भयो तर अस्पताललाई आवश्यक बजेट र दरबन्दी कहिल्यै पाएन् ।टीकापुर अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा आएपछि भने नागरिकलाई गुणस्तरीय सेवा दिन सक्ने तर्फ अग्रसर हुन थालेको छ । अस्पतालमा संघ प्रदेश, स्थानीय तह र दातृ संस्थाको सहयोगमा १२ जना विशेषज्ञ र त्यतिकै संख्याका मेडिकल अधिकृतले सेवा दिइरहेका छन् ।

दैनिक ३०० देखि ५०० बिरामी आउने अस्पतालका चिकित्सक र नेतृत्वको टीम वर्कले सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास पलाएपछि रेडियोबाट सूचना गरेरै सेवा लिन आउन र चित्त नबुझे सिधै मेसु, अध्यक्ष वा अस्पताल प्रशासनमा गुनासो गर्न फोन नम्बर दिएको छ । अस्पतालको यो प्रयासले सेवाग्राहीलाई सेवा लिन सहज बनाउदै छ ।

टीकापुर अस्पतालमा पूर्व कैलाली, पश्चिम बर्दिया, सुर्खेत, डोटीका केही भाग र स्वास्थ्य विमा र टीकापुर अस्पतालमा विभिन्न विशेषज्ञ सेवा थपिएपछि पहाडी जिल्ला अछाम कालिकोटबाट पनि रेफर लिएर आउने गरेका छन् । जिल्ला भित्रैबाट पनि उपचारका लागि नेपालगञ्ज, कोहलपुर जाने बिरामीले टीकापुरमै सेवा पाउन थालेका छन् । बिरामीको चाप बढन थालेपछि सेवाहरु दुरुस्त गर्न अस्पताल प्रशासनलाई पनि दवाव परेको छ र सेवा ईकाईलाई फराकिलो पार्नु परेको छ, औषधिको काउण्टर थप, लाइन मिलाउन टोकन प्रणाली, ल्याव सेवा, फार्मेसी, ओपीडी कक्ष थप गर्नुका साथै सधैं भिडभाड र सेवाग्राहीका साइकल लगायतका सामान चोरी हुनबाट रोक्न अस्पतालको परिसर व्यवस्थापनका लागि सुरक्षा गार्ड पनि राख्नु राम्रो कुरा हो ।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालपछि धेरै बिरामीको चाप हुने टीकापुर अस्पतालमा अहिले गरेको लगानी प्रयाप्त भने छैन । ५१ शैयाको मात्रै अनुमति पाएको टीकापुर अस्पतालमा त्यसका लागि चाहिले दरबन्दी अनुसारका चिकित्सक, नर्स, त्यसका लागि चाहिने सञ्चालन खर्च नभए पनि ७८ शैया चलिरहेको छ । टीकापुरमा एक सय शैयाको अस्पताल माग भैरहेको छ त्यसको तयारी हुदैछ ।

आवश्यकतानुसारको समयमै सरकारी सहयोग प्रदान भयो र नतिजा दिने गरी व्यवस्थापकीय काम गर्ने नेतृत्व भएमा सरकारी संस्थाहरु प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सक्छन भन्ने कुरा टीकापुर अस्पताललाई हेरेर स्वीकार गर्न सकिन्छ र सरकारी सेवा राम्रो हुदैन भन्ने भ्रम हटाइ सेवाबाट नागरिकलाई सुरक्षित बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार