१५ चैत्र २०८०, बिहीबार

महिलालाई पिँधबाट माथि उठाउन अझै काम गर्नुपर्छ





टीकापुर/ ‘आन्दोलन गर्दा सडकको पीडा खुर्सानी जस्तो लाग्थ्यो, सदनको पीडा झन गुलियो विष जस्तो हुँदो रहेछ ।

आन्दोलनकारीका रुपमा वार्ता गर्न सिंहदरबार प्रवेश गर्दा परिचय खुल्ने कागज थिएनन् । प्रदेश सभा सदस्य भएर मन्त्रीसंग योजना माग्दा पावर पुगेन” टीकापुर साहित्य महोत्सवको आइतबारको एक सत्रमा मञ्चबाट उमा देवी बादी धाराप्रवाह बोलिरहँदा कार्यक्रममा उपस्थित दर्शक, स्रोताहरु चुपचाप मग्न भएर सुनिरहेका थिए ।

बादी अधिकार आन्दोलनको नायक नै बनिसकेकी पूर्व प्रदेश सभा सदस्य समेत रहेकी उमा देवी आइतबार ‘बैकिनीका आँसुमा डुब्छ सुदूरपश्चिमको धर्ती’ शिर्षकमा बहसमा सहभागी थिइन् । उनले भनिन्– भाषणमा महिला, शासनमा महिला र आसनमा महिला देख्दा हामीलाई वनि खुसी लाग्छ ।

हामीले पनि सरकारसंगको वार्तामा सबै बालबालिकाले आमाको नामबाट नागरिकता पाउनु पर्ने सम्झौता गर्यौं, तर अहिले आमाको होइन, मामाको थर झुण्ड्याउनु पर्ने नियम बन्यो । मामालाई पत्याउने सरकारले आमालाई पत्याएन । उनले वेदनाका साथ आक्रोसित हुँदै प्रश्न गरिन्– महिलालाई स्थान दिंदा गाह्रो हुन्छ ? अधिकार दिनेलाई जन्माउन महिलालाई गाह्रो नहुने, तर अधिकार दिन किन गाह्रो ?

उनले दैनिक १७ घण्टा काम गर्ने महिलालाई केही गर्दैनन्, घरैमा बस्छन् भनेर न होच्याउन आग्रह गरिन् । उनले भनिन्– सुदूरपश्चिम प्रदेशमा वादी महिला मात्रै होइनन्, सबै महिलाको अवस्था कमजोर छ ।

“जसको कोही छैन उसको दृष्टि फाउण्डेशन छ’ भन्दै बेसहारा महिलाको उद्धार, आश्रय र पुनःस्थापनामा सक्रीय दृष्टि फाउण्डेशनका सञ्चालिकक कल्पना भट्टले अनुभव सुनाइन्– सडकमा कोही वेवारिस महिला भेटिन्छन्, उनको गर्भमा बच्चा हुन्छ, तर बा को हो ? थाहा हुदैन । कानुनी राज्यमा कोही पनि महिला सडक छाप बन्नु हुँदैन ।

उनले थपिन– मलाई राम्रो काम गर्नुभएको छ भनेर धन्यवाद दिनुहुन्छ, तर म त सेवक हुँ । धन्यवाद होइन, राज्य अभिभावक भएर जिम्मा लिनुपर्छ ।

उनले सुदूरपश्चिममा महिलाले गरेका काम पनि हेला हुने गरेको बताइन् । भनिन्– मैले बेसहारा महिलाको सहयोगका लागि दृष्टि फाउण्डेशन चलाउदा मेरै आमाले पनि स्वीकार्नु भएन ।

उनले ‘समाजले आफूलाई कामको समर्थन गर्नुको साटो ज्वाँइ र नाति नभएको कुरा गरेर आमामाथि दवाव दिने गरेको” तितो अनुभव सुनाइन् । उनले भनिन्– एक जना २१ वर्षीया महिलाले तीनपटक बच्चा जन्माइन्, सबै मरे । चौथो बच्चा गर्भमा हँुदा उद्दार गरेर पुनस्थापना गरेका छौ, तर पनि परिवार खुशी छैन ।

बहसमा सहभागी हुुँदै पत्रकार उन्नती चौधरीले कोभिड अवधिमा बलात्कारका घटना बढेको, तर ७२ प्रतिशत जबरजस्ती करणीका मुद्दा पीडकका पक्षमा फैसला भएको दाबी गरिन् । बहसको सहजीकरण पत्रकार आरती चटौतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार