२० बैशाख २०८१, बिहीबार

पत्रकार उपाध्याय पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा स्वर्ण पदकबाट दिक्षित




विराटनगर/
लामो समयदेखि वातावरण पत्रकारितामा सक्रिय पत्रकार लक्ष्मीप्रसाद उपाध्याय पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तह आम सञ्चार तथा पत्रकारिता विषयमा स्वर्ण पदकबाट दिक्षित भएका छन् ।

आम सञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा सर्वाेकृष्ट अंक प्राप्त गरेका उपाध्यायले विश्वविद्यालयद्वारा प्रदान स्वर्ण पदक प्राप्त गरेका हुन् ।

आइतबार विराटनगरमा आयोजित विश्वविद्यालयमा ११ औँ दिक्षान्त समारोह प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपाध्यायलाई दिक्षित गरेका हुन् ।

उपाध्याय विगत दुई दशकदेखि विशेष गरी वन, वनस्पति, वन्यजन्तु संरक्षण, वातावरण, ऊर्जा, विकासका क्षेत्रमा कलम चलाउँदै आएका छन् । विशेष गरी जलवायु परिवर्तनले नेपालमा पारेको असरका विषयमा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा काम गरिसकेका उपाध्यायले राष्ट्रिय निकुञ्ज वरीपरीका स्थानीय बासिन्दा र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न बनेको सरकारी कार्यदलमा रहेर काम गरेका छन् ।

वैज्ञानिक वन व्यवस्थापनका आवश्यकता र औचित्यको विषयमा संसदीय अध्ययन समितिमा रहेर काम गरेका उपाध्यायले जलवायु अनुकुलन, स्वच्छ ऊर्जा, हरित रोजगारी, शहरी विकास र बसाई सराईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनका अधिकांश शत्रमा नेपालका तर्फबाट भाग लिएका उनले नेदरल्याण्ड, जर्मन, पोल्याण्ड, स्पेन, बेलायतमा नेपाली पत्रकारिताको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन् ।

फ्रान्समा आयोजना भएको आइयूसिएन विश्व सम्मेलन, जैविक विविधताको संरक्षण सम्बन्धी क्यानडामा आयोजित विश्व सम्मेलनमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार