११ बैशाख २०८१, मंगलवार

धामीझाँक्रीको भर पर्दा एक गर्भवतीसँगै शिशुको ज्यान गुम्यो



मृतक कल्पना

स्याउले (गोदावरी)/ धामीझाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८ स्याँउलेगाउँमा एक गर्भवती महिलाले ज्यान गएको छ । चेतनाको अभावमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा विभिन्न खालका विमारीलाई धामीझाँक्रीसंग उपचार गराउने परम्परा छ ।

अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो । कल्पनाको परिवारका अनुसार फागुन ३ गते बिहान २ बजेतिर अस्वस्थ भएपछि उनलाई अस्पताल लग्नुको साटो धामीलाई घरमा बोलाएर उपचार सुरु गरिएको थियो । तर, धामीले कल्पनालाई निको पार्न सकेनन् ।

दिउँसो उनलाई करिब चार किलोमिटर टाढा रहेको गौरीगंगा नगरपालिका, बनबेहडामा अर्को धामीको घरमा पुर्याइयो । त्यहाँ पनि धाँमीले उनलाई निको पार्न सकेनन् । केही सीप नलागेपछि ३० घण्टापछि कल्पनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

स्याँउलेगाँउको ६ किलोमिटरको दूरीमा रहेको अत्तरियामा निजी अस्पतालहरु छन् । २० किलोमिटरको दूरीमा रहेकोे धनगढीमा प्रादेशिक अस्पताल र सुविधासम्पन्न दर्जन बढी निजी अस्पताल छन् । छोटो रुटबाट धनगढी पुग्न भने १२ किलोमिटर छिचोल्नुपर्छ ।

मृतक कल्पनाका ससुरा प्रेम विकले बुहारीलाई जिब्रो बाहिर आउने, शरीर काप्ने, र्याल काँड्ने, झड्का आउने समस्या देखिएपछि छरछिमेकी सबैले “भूत लागेको” भनेपछि धामीको भरमा परेको बताए ।

कल्पना गर्भवती भएपछि नियमित स्वास्थ जाँच गर्दै आएकी थिइन। अन्तिम पटकको स्वास्थ्यजाँचको बेला उनी अस्वस्थ भइन । उनले फागुन ४ गते स्वास्थ्यजाँच गर्नु पर्ने थियो । तर, उहाँ ३ गते विहान २ बजे नै बिरामी परिन । दिनभरी धामीको भरमा पर्नु भएकी कल्पनालाई अस्पताल पुर्याउनु अघि नै उहाँको पेटको बच्चा (भ्रुण) मरेको बताइन्छ ।

कल्पनालाई सेती प्रादेशिक अस्पतालमा १७ दिनसम्म सघन उपचार कक्ष (आयुसियु) मा राखेर उपचार गरिएको थियो । उनको उपचारमा संलग्न डाक्टर खगेन्द्र भट्टले समयमैमा अस्पतालमा पुर्याइएको भए कल्पना र उनको बच्चालाई बचाउन सकिने बताए ।

डाक्टर भट्टका अनुसार कल्पनाको ब्लडप्रेसर बढेको थियो । फोक्सो, कलेजो लगायतका अंगहरुले काम गर्न छोडेका थिए । उनको शरीरभरी व्याक्टोरिया भाइरस फैलिसकेको थियो । उनले भने– हामीले उनलाई बचाउन निकै प्रयास गरयौ, तर सकेनौ ।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धाँमीझाक्री, औषधि नियमित नखाने, चेकजाँच नियमित नगर्ने, समयैमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यसवर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्यो भन्दा अघिल्लो वर्ष २० जना गर्भवतीको समयमै उपचार नपाउदा मृत्यु भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशभरी साउनदेखि फागुसम्ममा २१, २०७६/०७७ मा १९, २०७६/०७८ मा २४, २०७८/०७९ मा २१ जनाको गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिइन ।

स्याउले गाउँका राजेश विक र कल्पनाको गत बैशाखमा मागी विवाह भएको थियो । राजेशले श्रीमतीको नियमित स्वास्थ्यजाँच गराएको बताइन । उनले भने– एकपटकको मात्र बाँकी थियो । म तीन साताअघि रोजगारीका लागि भारतको मुम्वई गए । घरमा यस्तो विपत्ति आइलाग्यो ।

उनले श्रीमती विमारी भएको खबर पाएपछि उनी विमारी परेको तीन दिनपछि धनगढी पुगेको बताउनुभयो । फागुन २० गते सुत्केरी हुने समय थियो । अस्पताल भर्ना भएको १७ दिनमा फागुन २१ गते हामीले कल्पनालाई गुमायौ राजेशले भने ।

विहेको एक वर्ष नपुग्दै ज्यान गयो
स्याउलेका राजेश विक र कल्पनाको ०७९ साल बैशाखमा मागी विहे भएको थियो । राजेशले भने, बच्चाको लालनपालनमा सहयोग होला भनेर कमाउन गए तर यस्तो अवस्था भयो ।

मृतक कल्पना र उनका श्रीमान राजेश

शुरुमा अस्पतालको आइसियुको रुपियाँ तिर्नु पर्यो पछि विपन्न परिवार भनेर छुट त पाइयो तै पनि तीन लाख जति उपचारमा खर्चभयो राजेशले भने, श्रीमतीको ज्यान बच्ला कि भनेर ऋण सापटी गरेर त्यो रकम जम्मा गरेको थिए ।

उनी फेरि मुम्वइ जाने तयारीमा छन् । मुम्वइमा उनी होटलका सेफ हुन ।

सुख खोज्न आएको परिवारलाई जीवन धान्नै कठिनाइ
तराईमा काम पाइन्छ , परिवार पाल्न सजिलो हुन्छ भनेर चार वर्षअघि प्रेम विक श्रीमती, चार छोरा र एक छोरी बोकेर डोटीको बोगटान फुडसिल गाउँपालिका‐६ गगुडा कटिगाउँबाट कैलाली झरेका थियो ।

मृतक कल्पनाको घर

उनी स्याउलेमा चौकीदारी गर्छन । तर पाँच धुर ऐलानी प्रति जग्गा घर भएको उनको परिवारलाई घर चलाउन गाह्रो भएपछि तीन छोरालाई भारतको मुम्वई पठाए ।

अहिले पनि घरमा बस्ने एक छोरा, एक छोरी, एक बुहारी, एक नातिनी र आफ्नो दम्पतीलाई छाक टार्न गाह्रो भएको उनले बताए ।
बुहारीको उपचार गर्दा ऋण लागेपछि अहिले साँझविहानको छाप टार्ने खाद्यान्न नै नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार