१५ चैत्र २०८०, बिहीबार

भोलीदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव




“साहित्य पुनर्जागरणको नयाँ उचाई”

धनगढी/ धनगढीमा भोली (१० गते) शुक्रबारदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदैछ । महोत्सव आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा हुने महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नेपाली साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

साहित्य समाजले यसअघि २०७६ सालमा सात दिन सञ्चालन भएको विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिसकेको छ । त्यस्तै, गत वर्ष नेपाली साहित्य महोत्सव आयोजना भएको थियो ।

आयोजक साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बिहीबार अबेर रातीसम्म भारतका केही राज्य र नेपालका विभिन्न शहरबाट अतिथि साहित्यिक स्रष्टाहरू धनगढी आइपुगेको जानकारी दिए । “अतिथिहरू आउने क्रम जारी छ” उनले भने– यो क्रम महोत्सवको अन्तिम दिनसम्म जारी रहने छ ।

साहित्य समाजको प्रांगणमा आकर्षक पण्डाल निर्माण भएको छ । महोत्सवमा चार दिनसम्म विभिन्न २४ वटा शिर्षकमा साहित्य संवाद सत्र सञ्चालन हुनेछन् । महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति– गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र रनपुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौंरा थारुको लठौवा नाच प्रस्तुत हुने अध्यक्ष पाण्डेयले बताए ।

महोत्सवमा अद्भूत प्रतिभा बालिका प्रेन्सा रेग्मी, विलक्षण साहित्यिक व्यक्तित्व झमक घिमिरे, स्थापित सामाजिक नेतृत्व अनुराधा कोइराला, प्रशिद्ध साहित्यिक स्रष्टा राजेन्द्र विमल लगायतका मुर्धन्य साहित्यिक सर्जकहरूको उपस्थिति उल्लेख्य रहने छ ।
अध्यक्ष पाण्डेयले साहित्य समाजद्वारा स्थापना गरिएको एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई प्रदान गरिने छ ।

अध्यक्ष बनेको एक वर्षभित्रै यति ठूलो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ? अनुमोदनसँगको कुराकानीमा संस्थाका अध्यक्ष पाण्डेयले भने– यसले (विश्व नेपाली नारी साहित्य महोत्सव) सुदूरपश्चिमको भाषा, साहित्य, कला, बांगमयको क्षेत्रमा नयाँ उचाईं थप्ने विश्वास गरेका छौं ।

उनले २०७६ सालमा आयोजना भएको विश्व नेपाली साहित्य महोत्सवले नै सुदूरपश्चिमलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विश्वस्तरमै परिचय गराइसकेको बताए । भने– साच्चै भन्ने हो भने धनगढी साहित्यिक शहरका रुपमा स्थापित भइसकेको छ ।

समाजका निवर्तमान अध्यक्ष तथा स्थापित साहित्यकार रामलाल जोशीको अनुभूतिमा २०७६ र २०७८ सालमा आयोजित साहित्य महोत्सवले “सुदूरपश्चिमलाई साहित्यको उज्यालो प्रदेश” का रुपमा विश्वभरी परिचित गराएको छ । उनी भन्छन्– विगतमा मुलुकका अन्य भाग र विश्वभरीले सुदूरपश्चिम सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा पछाडि परेको अध्याँरो प्रदेशका रुपमा बोध गरिन्थ्यो, तर हामीले विश्व नेपाली साहित्य महोत्सव आयोजना गरेपछि यो भ्रम पूर्ण रुपमा टुटेको छ ।

उनको शब्दमा “धनगढीमा तीन वर्षको अवधिमा तेस्रो पटक विश्वस्तरीय साहित्य महोत्सवको आयोजनाले सुदूरपश्चिमलाई नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचानप्रति निकै गम्भीर र संवेदनशील रहेको प्रदेशका रुपमा स्थापित गरेको” छ ।

तेस्रो महोत्सवको पनि संयोजकको भूमिका निर्वाह गरिरहेका संस्कृतिविद् यज्ञराज उपाध्यायको शब्दमा महोत्सवले “नेपाली भाषा, साहित्यको उद्गम स्थल देवभूमि सुदूरपश्चिमसंग स्वदेश तथा विदेशका मुर्धन्य साहित्यिक स्रष्टाहरूले साक्षत्कार गर्ने अवसर प्राप्त गरेको” छ । उनले भने– वास्तवमा धनगढी चेतना, साहित्य र बौद्धिकताको शहरका रुपमा स्थापित भएको छ ।

संयोजक उपाध्यायले कुनैवेला दुर्गम र पिछडिएको ठान्ने सुदूरपश्चिममा अहिले मुलुकका स्थापित स्रष्टाहरूका साथै विश्वभरीका नेपाली साहित्य सर्जकहरू आउन लालायित रहेको बताए । भने– तीन वटा ठूला साहित्य महोत्सवपछि सुदूरपश्चिमको भाषा, साहित्य, कलाबांगमयले सगरमाथाको उचाई प्राप्त गरेको छ ।

आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सवले नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रुपमा रहेको काली–कर्णाली क्षेत्रको गौरवगाथा तथा प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य, उद्योग, व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्न योगदान पुर्याउने विश्वास गरेको छ । साहित्य समाजले प्रकाशित गरेको कार्यक्रम पुस्तिकाको भूमिकामा उल्लेख छ– यस क्षेत्र (सुदूरपश्चिम प्रदेश) बाट उद्गम भएको नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बोकेर संसारका विभिन्न देशमा पुगेका नेपालीभाषी वीर जातिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएका छन् ।

साहित्य समाजले विश्वास व्यक्त गरेको छ– यही गौरवगाथालाई आत्मसात गर्दै संसारभरीका नेपालीभाषीहरूलाई जोड्न र नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा जुटेका संसारभरीका नेपालीभाषी साधकहरूले एकै मञ्चमा आराधना गर्न विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार