११ बैशाख २०८१, मंगलवार

बुवाको काजकिरिया नगरेपछि सामाजिक प्रहार




गोदावरी/ कैलालीको गोदावरी नगरपालिका–१० ओलानीगाउँका गणेश विकले यतिबेला सामाजिक प्रहारको सामना गर्नुपरेको छ । बुवाको निधनपछि काजकिरिया नगरेपछि उनले सामाजिक प्रहार बेहोर्नु परेको छ ।

गत फागुन २५ गते ७६ वर्षीय अर्जुन विकको निधन भयो । उनका जेठो र माईलो छोरा रोजगारीको शिलशिलामा भारतमा छन् । घरमा रहेका कान्छो छोरा गणेशले बुवाको काजकिरिया गर्ने पारिवारिक सल्लाह भयो । तर, उनी काजकिरिया नगर्ने पक्षमा उभिए । उनीमाथि परिवार र समाजले बुवाको काजकिरिया गर्न दवाव दिए । तर, उनले मानेनन् ।

गणेशले भने– मैले बुवाको काजकिरिया गर्रिन भने । भारतबाट दाजुहरु आएपछि किरिया गर्नेे सल्लाह गरे । दाजुहरु आउन दुई दिन लाग्यो । त्यतिन्जेलम्म बुवाको शव घरमै रह्यो ।

उनका दुवै दाजुहरु फागुन २७ गते घर आइपुगे । बुवाको अन्तिम दाहसंस्कार भयो । उनका जेठा दाई शिव किरियामा बसे ।
शिवले भने– भाई पढेलेखेको छ । उसले धेरै कुरा बुझेको होला, तर भाई (गणेश) का कारण परिवार, समाजले हामीलाई धर्मविरोधी भनेर दवाव दिएको छ । समाजका लागि भए पनि परम्परा मान्नुपर्ने रहेछ ।

गणेशले अंग्रेजी विषयमा एमएड गरेका छन् । उनी ओलानीस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गर्छन् । २०६५ सालदेखि शिक्षण पेसामा रहेका गणेशले जातीय छुवाछूत तथा सामाजिक विभेद र कुसंस्कारविरुद्ध आवाज उठाउँदै आएका छन् ।

उनी भन्छन्– म भौतिकवादमा विश्वास गर्छु । देखिने कुरामा मात्र विश्वास गर्छु । अदृश्य शक्ति ईश्वर, देवता भगवान, पुनरजन्म, स्वर्ग र नर्कमा मलाई विश्वास छैन् । मान्छेको मृत्युपछि समाजलाई देखाउनकै लागि काजकिरिया गर्ने परम्पराको म विरोधी हुुँ ।
उनले हिन्दूशास्त्र अनुसार ब्राह्मणले मात्रै कर्मकाण्ड गराउने व्यवस्था पनि गलत भएको दाबी गरे । दलित समुदायकोमा अछुत भनेर ब्राहमण आउँदैनन् । मान्छे मान्छेमा विभेद गर्ने परम्पराको विरुद्ध आफू उभिएको बताए ।

गणेशका हजुरबुवा नयाँरामले भारतको बनारसबाट मेट्रिक पास गरेका थिए । उनका हजुरवुवो २५ वर्ष अघि मृत्यु भएको थियो । गणेशले आफ्नो हजुरवुवाले दलित समुदायमा धार्मिक परम्परा र कर्मकाण्डको काम गर्ने गरेको बताए ।

उनकी आमा केशुदेवीले काजकिरिया गर्ने परम्परा सही वा गलत के हो भन्ने आफूलाई थाहा नभएको बताइन् । उनले भनिन्– जेठो र माइलो छोराले बुवाको किरिया गरे । तर कान्छो छोराले नगरेपछि दुःख लागेको छ ।

तर, गणेशको निर्णयलाई केहीले भने प्रशंसा समेत गरेका छन् । ६२ वर्षीया चम्फा विकले गणेशले काजकिरिया नगर्ने निर्णय राम्रो लागेको बताईन् । उनले भनिन्– मैले पनि छोरालाई काजकिरिया नगर्नु भनेर भनेको छु । जिउँदो हुँदा रेखदेख नगर्ने, तर मरेपछि समाजलाई देखाउनकै लागि बाहुनलाई दानदक्षिणा दिएर खुसी पार्ने काम गलत हो ।

गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेमसिंह बडैलाले धर्म निरपेक्ष मुलुक भएकोले काजकिरिया गर्ने वा नगर्ने व्यक्तिको स्वतन्ताको कुरा भएको बताए । शिक्षक कृष्ण विकले गणेशको निर्णयलाई सामाजिक विद्रोह भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार