१४ बैशाख २०८१, शुक्रबार

मातृ मृत्युदरमा अझै कमी आएन




धनगढी/ यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्वन्धि कानुनी प्रावधान बारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार मातृ मृत्यु दरमा कमी आउन सकेको छैन ।

धनगढीमा मंगलबार आयोजित यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्वन्धि पत्रकारहरुसंगको छलफलमा मातृ मृत्यु दरमा सुधार ल्याउन अझै धेरै प्रयास गर्नुपर्ने पनि बताइयो ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रजनन स्वास्थ्य फोकल पर्सन रमा गिरीले पर्याप्त चेतनामुलक कार्यक्रम सञ्चालन नहुँदा अन्धविश्वास कायम रहँदा गर्भवतीहरु समयमै स्वास्थ्य संस्था नआउदा, गर्भपतन सम्वन्धी कानुनी प्रावधान बारे जानकारी नहुँदा र नजिकै स्वास्थ्य संस्था नहुँदा मातृ मृत्यु दर घट्न नसकेको चर्चा गरिन् ।

कैलालीमा यस वर्ष चार जना, आर्थिक वर्ष २०७८/०८९ मा नौ जना र आर्थिक वर्ष २०७७/०७८ मा २० जना गर्भवतीको मृत्यु भएको थियो ।

गर्भपतनको कानुनी अवस्थाबारे प्रस्तुती गर्दे आइपास नेपालका माधवी बर्जाचार्यले २०६० सालदेखि कानुनीरुपमा गर्भपतन गर्न पाउने सुविधा रहेको बताइन् । उनले तर त्यसबारे पर्याप्त जानकारी नहुँदा अनिच्छित गर्भधारणको असुरक्षित तरिकाले गर्भपतन गराउने कार्यले पनि मातृ मृत्यु दरमा कमी आउन नसकेको बताइन् ।

उनले गर्भपतन गर्ने मान्यता कुन संस्थाले पाएको छ ? गर्भपतन गराउने प्राविधिकले आवश्यक तामिल लिएको छ वा छैन ?, कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ ? गर्भपतनको औषधि खादा कति मात्रा खाने ? आदिबारे जानकारी नहुँदा पनि गर्भवतीको मृत्यु हुने गरेको बताइन् ।

नेपालमा अहिले पनि गर्भवतिमध्ये सात प्रतिशत महिलाको गर्भपतनका कारण मृत्यु हुने गरेको छ ।

कैलालीमा सुरक्षित गर्भपतन गराउनेको संख्या भने हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य कैलालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा एक हजार ९५१ जनाले सुरक्षित गर्भपतन गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ६२९ र आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् ।

ती मध्ये २०७६/७७ मा १८७, २०७७/७८ मा २१७ र २०७८/७९ मा ३६५ जना २० वर्ष मुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा १७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहे पनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोरकिशोरी मैत्री संस्था रहेको बताइन् । कैलालीमा एक हजार २६१ जना महिला स्वास्थ्य स्वयमसेवक रहेका छन् ।

कार्यक्रमको सहजीकरण फाया नेपालका निर्देशक शेरबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, कैलालीका जिल्ला अध्यक्ष हिमाल जोशी समेत स्रोत व्यक्ती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार