८ बैशाख २०८१, शनिबार

अमरगढीमा पोषणमैत्री वडा घोषणा



डडेल्धुरा/ डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच डडेल्धुरा जिल्ला समन्वय समिति प्रमुख गंगासिंह भण्डारीले पोषणमैत्री वडा घोषणा गरे ।

पोषणमैत्री स्थानीय कार्यान्वयन निर्देशिका, २०७८ जारी भएपछि नेपालमा पोषणमैत्री वडा घोषणा भएको यो पहिलो पटक हो । यसअघि अछामको साँफेबगर नगरपालिकाले आफैंले निर्देशिका बनाएर केही वर्षअघि वडा नम्बर १ र ६ लाई पोषणमैत्री वडा घोषणा गरेको थियो ।

डडेल्धुरामा युरोपियन युनियन, युनिसेफ, युएसएआइडी र सु–आहारासंगको सहकार्यमा अमरगढी नगरपालिकाले २०७६ साल भदौदेखि पोषणमैत्री अभियान सुरु गरेको थियो ।

पोषणमैत्री वडा घोषणाका लागि आवश्यक पूर्वाधारहरू पुरा भएपछि घोषणा गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकीय प्रबन्धसमेत सात शिर्षकमा ७६ वटा सूचकहरूमा सन्तोषजनक नजिता प्राप्त भएपछि वडा १० लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।

सो वडामा तीन सय २० घरधुरी रहेका छन् । पोषणमैत्री वडा घोषणाका लागि मुल रुपमा सुद्ध खानेपानी, जुठो भाँडा माझेर सुकाउने स्थान, जुठ्यान व्यवस्थापन, करेसाबारी, कुहिने र नकुहिने फोहोर व्यवस्थापन, गर्भवतिको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण र विद्यालयमा नर्सको व्यवस्था सूचक रहेका छन् ।

त्यस्तै, गर्भवती र महिनावारी भएका महिलालाई आईरन चक्की, धुँवारहित चुलो, विद्यार्थीहरूलाई घरमा पकाइएको खाना (खाजा) लगायत ७६ वटा सूचक रहेका छन् । वडाध्यक्ष खेमराज भट्टले आवश्यक ७६ सूचकहरूमा वडा १० ले ८० बढी अंक प्राप्त गरेको जानकारी दिए ।

पोषणमैत्री वडा घोषणाका क्रममा जिल्ला समन्वय समिति प्रमुख भण्डारीले स्थानीय सरकारले पोषणमैत्री वडालाई दीगो बनाउन आग्ह गरे ।

उनले नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य अन्तरगत पोषणमैत्री समाज प्रमुख आधार रहेको चर्चा गर्दै दीगो विकास लक्ष्य प्राप्त गर्न सबै तहका सरकारहरूले समन्वय र सहकार्य गर्दै काम गनुएपर्ने बताए ।

कार्यक्रमका सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार