१५ चैत्र २०८०, बिहीबार

धनगढी उपमहानगरपालिका कागजमा मात्रै उत्कृष्ट नहोस्



धनगढी उपमहानगरपालिकाले उत्कृष्ट नगरको पुरस्कार पाएको छ । नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा विभिन्न सूचकहरुको मूल्यांकनका आधारमा उत्कृष्ट नगर छनोट गर्दै आएको छ । धनगढी उपमहानगरपालिका अघिल्लो कार्यकालमा पनि उत्कृष्ट नगर घोषित भएको थियो ।

विभिन्न सूचकमा प्राप्त अंकका आधारमा त्यस वेला पनि धनगढी उपमहानगरपालिका उत्कृष्ट नगर बनेको थियो । तर, गत निर्वाचनमा मुख्य चुनावी मुद्दा नै विकास वा समृद्धि बनेको थियो । अर्थात्, धनगढीका मुख्य सडकको दुरावस्था, डुवान, अव्यवस्थित बसोबास र वस्ती विस्तार, नदी तथा खोलानाला अतिक्रमण, असन्तुलित विकास जस्ता मुद्दालाई नै उम्मेदवार तथा दलहरुले चुनावी नारा बनाएका थिए ।

विगतका जनप्रतिनिधिहरुले राम्रो काम गर्न नसकेको, मुख्य समस्याहरुको सम्बोधन गर्न नसकेको तथा समृद्धिको गति अघि बढाउन नसकेको दाबी सहित उम्मेदवारहरुले मतदातासामु एक से एक प्रतिवद्धता र कार्यक्रम प्रस्तुत गरेका थिए । नयाँ नेतृत्व आएको दश महिना भइसकेको छ । यो अवधिमा धनगढीको मुख्य बजार क्षेत्रको सडक फराकिलो बनाउन पुरानो संरचना पुरै हटाइएको छ । केही अतिक्रमित क्षेत्रमा डोजर चलाइएको छ । त्यस्तै, अरु केही काम पनि भएका छन् । कर्मचारी प्रशासनमा सुधारको प्रयास गरिएको छ । सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास गरिएको छ ।

धनगढीलाई उत्कृष्ट नगरको पुृरस्कार प्राप्त भएको छ । तर, यो नै सबैभन्दा ठूलो उपलब्धी हो भनियो भने आत्मरतीमा रमाउनु मात्रै हुन्छ । मुख्य सवाल धनगढीको आर्थिक, सामाजिक विकासका लागि के कस्ता ठोस योजना र कार्यक्रम अघि बढाइयो ? भन्ने नै हो । विकास वा समृद्धिको अर्थ केही किलोमिटर सडक फराकिलो बनाउने वा केही सडक सफा गर्ने मात्रै पक्कै हुनसक्दैन ।

समृद्धिको सबैभन्दा ठूलो सरोकार त्यहाँका बासिन्दाको जीवनस्तरमा कस्तो परिवतृन आउँछ भन्नेले निर्धारण गर्छ । रोजगारीका अवसरहरु कत्तिको सिर्जना भए ? नागरिकको मानसिकता, आनिबानी र व्यवहारमा कस्तो परिवर्तन आयो ? सेवा प्रवाह कत्तिको प्रभावकारी बन्यो ? सरकारको सेवा प्रवाहबाट आम नागरिकको सन्तुष्टिको स्तरमा कत्तिको बढोत्तरी आयो ? जस्ता आधारहरुले नै समृद्धिको स्तर निर्धारण गर्छ । त्यस्तै, सामाजिक न्यायसहितको समानुपातिक विकास, कृषि तथा गैरकृषि उत्पादनमा सुधार, सेवा क्षेत्रमा सुधार, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा समयानुकुल सुधार, सामाजिक–सांस्कृतिक विकासका सवालमा के कस्ता दीर्घकालीन योजना बने र लागू गरिए ? भन्ने पनि उत्तिकै मुख्य आधारहरु हुन् ।

सुन्दर, सफा, हरियाली, व्यवस्थित र समृद्ध धनगढी प्रायः सबै मञ्चमा व्यक्त हुने नारा हुन् । अहिले पनि धनगढीलाई के विशेषताका लागि परिचित गराउने ? भन्ने सवाल यथावत छ । यो मुलतः व्यापारिक शहर हो । यद्दपि धनगढी उपमहानगरपालिकाको ठूलो हिस्सा अहिले पनि ग्रामीण क्षेत्र रहेको छ । तीब्र गतिमा बजार विस्ता भइरहेको छ । खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ । यी केही वस्तुस्थिति मात्रै हुन् । मुख्य सवाल उत्कृष्ट नगरको सम्मानपत्र प्राप्त गरेकै भरमा ठूलो उपलब्धी हासिल भयो ? भन्ने कदापि हुनसक्दैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार