४ बैशाख २०८१, मंगलवार

कैलाली क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द सम्मानित




धनगढी/ कैलाली जनपुस्तकालय धनगढीले यस वर्षको शिव बिमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्दलाई प्रदान गरेको छ।

शनिबार धनगढीमा भएको कैलाली जनपुस्तकालयको ६६ औ वार्षिकोत्सव समारोहमा प्राध्यापक चन्दलाई प्रमुख अतिथि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र पुस्तकालयका अध्यक्ष डा.टीएन जोशीले नगद पुरस्कारसहित सम्मानित गरेका थिए ।

प्राध्यापक चन्द हाल काम विशेषले देश बाहिर भएकाले उनका भाइ गणेश चन्दले पुरस्कार र सम्मान पत्र ग्रहण गरेका थिए। पुरस्कार स्वीकार गर्दे प्रा. चन्दले पुरस्कारस्वरूप प्राप्त २५ हजार रकम आफ्ना पिता माताको सम्झनामा कैलाली जनपुस्तकालयको निर्माणाधीन स्मार्ट लाइब्रेरी भवन निर्माणार्थ दान गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीबाट प्राध्यापक सुरेन्द्र चन्दको तर्फबाट उनका भाइ गणेश चन्द पुरस्कार र सम्मान पत्र ग्रहण गर्दे ।

झण्डै ४० वर्ष सुदूरपश्चिममा रही शिक्षा क्षेत्रमा अनवरत साधनातर चन्द कैलाली क्याम्पसका राजनीति र अर्थशास्त्रका प्राध्यापक थिए । चन्दले दर्जनौ सामाजिक तथा शैक्षिक संघसंस्थासंग आबद्ध रहेर योगदान पुर्याएका छन्। कैलाली क्याम्पसको भौतिक संरचना विकास तथा शैक्षिक गुणस्तर सुधारमा चन्दको विशेष भूमिका रहेको छ।

कैलाली क्याम्पसका पूर्व प्राध्यापक शिवराज श्रेष्ठले आफ्नी दिवंगत धर्मपत्नी स्व. बिमा श्रेष्ठको सम्झनामा कैलाली जनपुस्तकालयमा पाँच लाखको अक्षयकोष राखी शिव बिमा राष्ट्रिय शिक्षा सेवा पुरस्कारको स्थापना गरेका हुन्। पुरस्कारको राशि पच्चिस हजारसहित सम्मानपत्र रहेको छ।

यसै गरि शिव बिमा जेहन्दार छात्रबृत्ति २०७९ पुस्तकालयले प्रतिभाशाली बिद्यार्थी धरणीधर भट्टलाई प्रदान गरिएको छ।समारोहमा छात्र भट्टलाई नगद ११ हजार सहित सम्मानित गरियो।

डोटी शिखर नगरपालिका १ कपल्लेखीका धरणीधर भट्टले बिबिएममा त्रिविमै उत्कृष्ट अङ्क ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार