सडकमा ओर्लिए व्यवसायीहरू
धनगढी/ बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय लगातार कर्जा ब्याजदरको चर्को बृद्धिको विरुद्धमा कैलालीका व्यवसायीहरू सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले एकैचोटी व्याजदर १७ प्रतिशतसम्म पु¥याएकोमा विरोध गर्दै आएका छन् ।
कर्जा ब्याजदर बृद्धिको विरोधमा व्यवसायीहरूले मंगलबार धनगढी र अत्तरियामा विरोध प्रदर्शन गरे । “बैंक हामीलाई प्यारो हो, तर ब्याजदर वृद्धिले गाह्रो भो” लगायतका प्लेकार्डहरू बोकेर आन्दोलनतर व्यवसायीहरूले विरोध प्रदर्शन गरे ।
व्यवसायीहरूले केही महिनाअघिसम्म ७ प्रतिशतमा रहेको कर्जा ब्याजदर एकैचोटी १७ प्रतिशत पु¥याइएकोले व्यापार व्यवसाय धरासायी हुने अवस्थामा पुगेको गुनासो गरे । कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाएकोले अर्थतन्त्र नै धरासायी हुने अवस्थामा पुगेको बताए । उनले बढाइएको ब्याजदर घटाइएन भने आन्दोलनका थप कार्यक्रम अघि बढाइने बताए ।
आन्दोलनरत व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले मनोमानी ढंगले ब्याजदर बढाएका कारण व्यवसायीहरूले पेसाबाट पलायन हुनुनपर्ने अवस्था सिर्जना भएको बताए । उनीहरूले भने– केही समयअघि एक अंकमा रहेको ब्याजदर दुई अंकमा पुराएपछि व्यवसायीहरूले तिर्न नसक्ने अवस्था आएको छ ।
उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर बढाएको सेवा शुल्क र कर्जा स्वीकृति शुल्क पनि घटाउन माग गरेका छन् । उनीहरूले चालू पूँजीकर्जा निर्देशिका स्थगित गर्न माग गरे ।
कैलाली उद्योग बाणिज्य संघसहित १२ वटा व्यवसायी संस्थाले ब्याजदर र निक्षेप ब्याजदर बृद्धि गर्दा पनि निक्षेप नबढेको सन्दर्भमा उद्योगका लागि एक अंक नपुग्ने गरी र व्यापारमा बढीमा दुई प्रतिशत मात्र थप गरी लगानीयोग्य पुँजीको व्यवस्थापनको माग गर्दै आन्दोलन शुरु गरेका छन् ।
आन्दोलनरत व्यवसायीहरूले “बैंकहरूको खर्च न्युन गरी स्पेडदर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा दुई प्रतिशत मात्र थप प्रिमियन लिन पाउने व्यवस्था मिलाउन” माग गरेका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले गरेको सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी निगोसिशन शुल्कमा दोब्बर बृद्धि पनि हटाउन माग गरिएको छ । उनीहरूले हालका कर्जाहरूलाई चालू आर्थिक वर्षसम्म पुनःतालिकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्ने र लिलाम प्रक्रियालाई हाल स्थगित गर्न समेत माग गरेका छन् ।
व्यवसायीहरूले कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न र पर्यटनलाई प्राथमिकताप्राप्त क्षेत्र घोषणा गरी कर्जा प्रवाह गर्न माग गर्दैआएका छन् ।
संघले आह्वान गरेको आन्दोलनमा कैलाली होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, कैलाली हार्डवेयर व्यवसायी संघ, कैलाली निर्माण व्यवसायी संघ, सुदूरपश्चिम व्युटीपार्लर एसोसिएसन, कैलाली तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोवाइल्स डिलर्स एसोसिएसनले ऐक्यवद्धता जनाएका छन् ।