२५ पुष २०८१, बिहीबार

व्यवसायीहरू पुनःआन्दोलनमा




भोली धनगढीमा विरोध र्याली

धनगढी/ बैंक ब्याजदर बृद्धिका कारण अर्थतन्त्र धरासायी हुने अवस्था आएको भन्दै व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले लामो समयदेखि सरकारसँग बैङ्क ब्याज घटाउन माग गर्दै आएका छन् । तर, सरकारले कुनै सुनुवाई नगरेपछि पुनःआन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरूले जनाएका छन् ।

कैलाली उद्योग बाणिज्य संघको आह्वानमा तथा ११ वटा व्यवसायिक संस्थाहरूको ऐक्यवद्धतामा सरकारसामु १० वटा माग प्रस्तुत गर्दै निजी क्षेत्रले आन्दोलनको घोषणा गरेको हो ।

आज सोमबार कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा धनगढीमा भोली मंगलबार विरोध र्याली निकालिने जानकारी दिइयो ।

सो अवसरमा व्यवसायीहरूले “बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा ब्याजदरमा बृद्धि गरेकोले समग्र अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको” दोहोराए । व्यवसायीहरूले “कर्जा ब्याजदर कम गर्न बारम्बार माग गरे पनि सुनुवाई नभएकोले” आन्दोलनमा उत्रिनु परेको बताए ।

मागपत्रमार्फत व्यवसायीहरूले माग गरेका छन्– निजी क्षेत्रले ब्याजदर र निक्षेप ब्याजदर बृद्धि गर्दा पनि निक्षेप नबढेको सन्दर्भमा उद्योगका लागि एक अंक नपुग्ने गरी र व्यापारमा बढीमा दुई प्रतिशत मात्र थप गरी लगानीयोग्य पुँजीको व्यवस्थापन गर्नुपर्छ ।

व्यवसायीहरूले बैङ्कहरूको खर्च न्युन गरी स्पेडदर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा दुई प्रतिशत मात्र थप प्रिमियन लिन पाउने व्यवस्था मिलाउन माग गरेका छन् । भनेका छन्– बैङ्कहरूले गरेको सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी निगोसिशन शुल्कमा दोब्बर बृद्धि हटाउनु पर्छ । हालका कर्जाहरूलाई चालू आर्थिक वर्षसम्म पुनःतालिकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्ने र लिलाम प्रक्रियालाई हाल स्थगित गरिनु पर्दछ ।

व्यवसायीहरूले हालको चालूपुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, व्यवसायीहरूलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न र किस्ता र ब्याज तिर्ने समयसीमा बढाउन समेत माग गरेका छन् । मागपत्रमा “कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न र पर्यटनलाई प्राथमिकताप्राप्त क्षेत्र घोषणा गरी कर्जा प्रवाह गर्न” माग गरिएको छ ।
व्यवसायीहरूले “कुल निक्षेप नबढे पनि निक्षेपमा ब्याजदर बढाउन आधारदर बढेको दाबी गर्दै पछिल्लो ६ महिनामा कर्जा ब्याजदर दोब्बर बनाउँदा आधिकारिक व्यापार विस्थापित हुन पुगेको र अनाधिकृत व्यापारले प्रश्रय पाएकोप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

पत्रकार सम्मेलनमा कैलाली उद्योग बाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बैङ्क, ऋणी र निक्षेपकर्ताबीच अहिलेको बाह्य परिस्थितिका कारण एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था रहेको बताए । उनले व्यवसायीहरूका उचित मागहरूप्रति पुरा गरेर निजी क्षेत्रलाई सहज ढंगले काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

संघले आह्वान गरेको आन्दोलनमा कैलाली होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदाी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, कैलाली हार्डवेयर व्यवसायी संघ, कैलाली निर्माण व्यवसायी संघ, सुदूरपश्चिम व्युटीपार्लर एसोसिएसन, कैलाली तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोवाइल्स डिलर्स एसोसिएसनले ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार