७ बैशाख २०८१, शुक्रबार

१५ लाख भारु तथा गहनासहित तीन जना पक्राउ




धनगढी/ कञ्चनपुरको पुनर्बास नगरपालिका–४ आनन्दबजार, कारगिलडाँडामा प्रहरीले १५ लाख बढी भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको एक टोलीले शनिबार कारगिलडाँडाबाट कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नम्बर ३५ गण कञ्चनपुरका अनुसार गस्ती टोलीले उनीहरूको साथबाट १५ लाख २८ हजार भारु (२४ लाख ४४ हजार आठ सय नेपाली रुपैयाँ) र गरगहना बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलका अनुसार तीनै जनालाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिलडाँडा गस्ती टोलीले पक्राउ गरेको छ । उनीहरूको साथबाट बरामद भएको रकमको स्रोत नखुलेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले उनीहरूबाट सुनको चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीले तीनै जनालाई नगद र गरगहनासहित थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार