१८ पुष २०८१, बिहीबार

कृष्णपुरमा सक्षमको सामाजिक परीक्षण




धनगढी/ साना किसान, मुक्त कमैयाँ, हलिया, अपाङ्गता भएका व्यक्ति, कृषक समुह तथा कृषि सहकारी संस्थासहितलाई लक्षित गरी सञ्चालन गरिएको सक्षम परियोजनाको सोमबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सामाजिक परीक्षण भएको छ ।
लिवर्डद्वारा सञ्चालित सक्षम परियोजनाको सामाजिक परीक्षणका क्रममा सहभागीहरूले परियोजनाबाट लक्षित व्यक्ति तथा समुहमा परेको प्रभाव, समस्या र चुनौति तथा अझ बढी उपलब्धीमूलक बनाउन सुझावबारे छलफल भएको थियो

सो अवसरमा परियोजनाबाट सन् २०२२ मा सञ्चालित विभिन्न कार्यक्रमबारे जानकारी दिइएको थियो । लिवर्डले सक्षम परियोजनामार्फत कृष्णपुर नगरपालिकाका वडा १, २, ४, ५ र ९ मा तरकारी खेती, फलफूल खेती, धान तथा गहुँबाली, वीऊ पुँजी कोष, पशुपालन प्रवद्र्धन कोष, साना सिंचाई आयोजनाका साथै विभिन्न सीपमूलक र आयआर्जनमूलक कार्यक्रम, कृषक अवलोकन भ्रमण लगायतका गतिविधि सञ्चालन गरेको छ । लिवर्डले सक्षम परियोजनामा नगरपालिकाका एक हजार दुई सय व्यक्तिलाई सहभागी गराएको छ ।

सामाजिक परीक्षण कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको कृषि कार्यक्रमहरू एकीकृत रुपमा अघि बढाउने नीति रहेको बताए । उनले कृष्णपुर नगरपालिकाले कृषि तथा पशुपालन विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । उनले भने– नगरपालिकाले तरकारी खेतीसहित कृषिमा निकै ठूलो लगानी र कार्यक्रम अघि बढाएको छ । सरकार, कृषक, संघसंस्था र जनप्रतिनिधिबीच समन्वय गरेर यो कार्यक्रम सफल बनाउनु पर्छ ।

कार्यक्रममा नगर उपप्रमुख द्रोपती रानाले किसानहरूले सधैं अनुदानमुखी बन्ने सोच नराखेर व्यवसायिक रुपमा काम गर्नेतर्फ ध्यान दिन आग्रह गरिन् । उपप्रमुख रानाले साना किसानको आर्थिक अवस्था सुधारमा लिवर्डले गरिरहेको प्रयास प्रशंसायोग्य रहेको बताइन् ।

कार्यक्रममा वडा ९ का अध्यक्ष कैलाशबहादुर बलायर, वडा ४ का अध्यक्ष धर्मबहादुर सिंह, वडा १ का अध्यक्ष मोहन बस्नेत र राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल देउवा, कृषि विकास अधिकृत लालबहादुर धामी तथा पशु विकास अधिकृत गोपालसिंह बोहराले कृष्णपुर नगरपालिकाका सबै वडामा कृषिको विकासका लागि सिंचाई, वीऊबिजन, आधुनिक तरकारी तथा अन्नबाली खेती, पशुपालन लगायतका कार्यक्रम अघि बढाइएको चर्चा गरे ।

सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरू माया कुमारी चौधरी, लक्ष्मी चौधरी, बन्ध्या डगौंरा, डिल्लीराज ओझा, शोभा खुना, लगायतले सक्षम परियोजनाबाट लक्षित समुहमा उत्साह बढेको चर्चा गरे ।

कार्यक्रम लिवर्ड सक्षम परियोजनाका टिम लिडर इन्देश्वर मण्डलको अध्यक्षतामा भएको थियो । सामाजिक परीक्षण कार्यक्रममा परियोजनाका कार्यक्रम अधिकृत दिव्या जोशीले परियोजना अन्तर्गत कृष्णपुर नगरपालिकामा सन् २०२२ मा भएका गतिविधि तथा सन् २०२३ का लागि प्रस्तावित कार्यक्रम र बजेट बारे जानकारी गराएकी थिइन् । सामाजिक परीक्षणको पत्रकार मनमोहन स्वारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार