२७ पुष २०८१, शनिबार

सक्षमको सामाजिक परीक्षण




धनगढी/ कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालित समानुकुलित जिविकोपार्जनका लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम) परियोजनाको आइतबार सामाजिक परीक्षण भएको छ ।

लिवर्डद्वारा सञ्चालित सक्षम परियोजनाअन्तर्गत लालझाडी गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ६ का एक हजार दुई सय साना किसान, मुक्त कमैयाँ, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति, हलिया सहितका सिमान्तकृत परिवारलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

सक्षम परियोजना अन्तर्गत लालझाडी गाउँपालिकाका दुई वटा कृषि सहकारी संस्था तथा विभिन्न कृषक समुहलाई वीऊ प्रवद्र्धन कोष, पशु प्रवद्र्धन कोष, पशु बिमा कार्यक्रम कार्यक्रम सञ्चालन गरिएका छन् ।

त्यस्तै, बर्से तथा हिउँदे तरकारी खेती, धान तथा गहुँ खेती, फलफूल, गोठ सुधार, जलवायुमैत्री नमुना गाउँ, सिंचाई कार्यक्रम, तथा घर बगैचा कार्यक्रम सञ्चालनमा रहेका छन् । सक्षम परियोजना अन्तर्गत लक्षित समुहलाई विभिन्न तालिम तथा अवलोकन भ्रमणको अवसर प्रदान गरिएको छ ।

सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले ९० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको लालझाडी गाउँपालिकामा किसानलाई सक्षम बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेकोमा लिवर्डलाई धन्यवाद व्यक्त गरे ।

उनले गाउँपालिकाले परियोजनासँगको समन्वयमा कृषक समुह र सहकारी संस्थाहरुलाई सहयोग कार्यक्रम अघि बढाइएको बताए । उनले गाउँपालिकाका सबै वडामा सक्षम परियोजना विस्तार गर्न आग्रह गर्दै विद्युतीय सिंचाईं सेवा सबैलाई उपलब्ध गराउने प्रयास भइरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले कृषक समुहहरुको छाता समुह आवश्यक रहेको बताए । उनले कृषि उत्पादन बृद्धिका साथै बजारीकरणमा ध्यान दिइएको बताए ।

सामाजिक परीक्षण कार्यक्रममा वडाध्यक्षहरु हर्कनारायण जोशी, आशाराम राना, प्यारेलाल राना र बहादुर राना र पशु शाखा प्रमुख विसनसिंह बिष्टले कृषि तथा पशु पालनको विकासका लागि ठोस कार्यक्रमहरु सञ्चालनमा रहेको बताए ।

सो अवसरमा सहभागीहरु अनमोल कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष श्रीकृष्ण राना, अध्यक्ष आशाराम चौधरी, इन्द्रावती राना, देव कुमारी राना, नगिना राना लगायतले सक्षम परियोजनाबाट कृषक समुह तथा लक्षित समुहमा परेको सकारात्मक प्रभावहरुबारे चर्चा गरेका थिए ।

कार्यक्रममा सक्षम परियोजनाका टिम लिडर इन्देश्वर मण्डलले परियोजनाका लक्ष्य र उद्देश्यबारे जानकारी गराएका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा परियोजनाका कार्यक्रम दिव्या जोशीले लालझाडी गाउँपालिकामा सन् २०२२ मा भएका कार्यक्रम तथा सन् २०२३ मा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।

सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार