२४ बैशाख २०८१, सोमबार

छोरा जन्मदिनमा खाद्यान्न तथा लत्ताकपडा वितरण




धनगढी/ धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा रहेको दिपु फाउण्डेशनले बिहीबार दृष्टि फाउण्डेशनलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ ।

अनाथ, बेसहारा तथा मानसिक समस्या रहेका व्यक्तिहरूलाई आश्रय दिइरहेको दृष्टि फाउण्डेशनलाई एक संक्षिप्त कार्यक्रमबीच खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरिएको थियो ।

धनगढी–१, पशुपतिटोलका दिपेन्द्र स्वारको २१ वर्षको युवावस्थामा केही वर्षअघि कैलालीमा सडक दुर्घटनामा निधन भएको थियो । स्वर्गीय दिपेन्द्रका आमा तथा दिपु फाण्डेशनका संरक्षक बाशु बम स्वार तथा परिवारका अन्य सदस्यहरुले दृष्टि फाउण्डेशनलाई खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

दिपु फाण्डेशनका अनुसार दौरासुरुवाल, जाकेट, भेष्ट, हाफपाइन्ट, ट्रयाक सुट, फ्राक, भोटो सहित ५२ थान कपडा वितरण गरिएको थियो ।

त्यस्तै, १६ जोर ठुलो कुर्तासुरुवाल, ३३ जोर मोटो कुर्तासुरुवाल, ५ थान स्वीटर, ७ थान टाउजर, ६ थान सल आदि कपडा पनि हस्तान्तरण गरियो ।

युवा दिपेन्द्रको २०७४ सालमा सडक दुर्घटनामा निधन भएको केही महिनापछि उनको परिवारले उनको स्मृतिमा फाउण्डेशन स्थापना गरेको थियो ।

फाउण्डेशनले हरेक वर्ष बालबालिकालाई शैक्षिक सामग्री, लुगाकपडा, संघसंस्थाहरूलाई खाद्यान्न तथा लुगाकपडा वितरण गर्नुका साथै खेलकुल र अन्य सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार