४ बैशाख २०८१, मंगलवार

डडेल्धुरा मेडिकल कलेजमा पोष्ट ग्राजुएट कक्षा सञ्चालनको तयारी



धनगढी/ डडेल्धुरा मेडिकल कलेजमा पोष्ट ग्राजुएट (एमडिएमएस) तहको कक्षा सुरु गर्ने तयारी गरिएको छ । एमबिबिएस कक्षा सञ्चालन गर्न निकै समय लाग्ने भएपछि अहिले पोष्ट ग्राजुएट कक्षा सञ्चालनको तयारी गरिएको बताइएको छ ।

सङ्घीय सरकारको चालू आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम र बजेटमा “सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने” उल्लेख भएअनुसार हाल भौतिक संरचना निर्माण तथा अन्य कार्यहरू जारी छ ।

सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमा डडेल्धुरा मेडिकल कलेजका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

डडेल्धुरा अस्पताल सङ्घीय सरकारको मातहतमा रहेको छ । सो अस्पताललाई अहिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालन गर्ने गरी घोषणा गरिएको छ । डडेल्धुरा मेडिकल कलेज स्थापना र सञ्चालनका लागि सङ्घीय शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको छ ।

डडेल्धुरा अस्पतालमा हाल अस्पतालमा एक सय ५० सैया रहेका छन् । सरकारले एक वर्षअघि डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको थियो । मेडिकल कलेज स्थापनाका लागि करिब दुई सय ५० रोपनी जग्गाको व्यवस्थापन भइसकेको बताइएको छ ।

मङ्गलबार धनगढीमा डडेल्धुरा मेडिकल कलेजबारे आयोजित छलफल कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले आवश्यक विज्ञ जनशक्ति र अन्य केही पूर्वाधार व्यवस्थापन भएपछि पोष्ट ग्राजुएट तहको पढाई सञ्चालन गरिने बताए । उनले बढिमा दुई वर्षभित्र पोष्ट ग्राजुएट कक्षा सञ्चालनमा आउने बताए ।


केन्द्रीय सरकारले डडेल्धुरा मेडिकल कलेजका लागि तीन महिनाअघि न्युरो विशेषज्ञ प्रा.डा. हेमनाथ जोशीलाई डडेल्धुरा मेडिकल कलेजको डिनमा नियुक्त गरिसकेको छ । तर, अन्य आवश्यक कर्मचारी पदपूर्ति भने गरिएको छैन । त्यस्तै, भवनसहितका भौतिक संरचना निर्माण कार्य पनि पुरा भएको छैन ।

छलफलका क्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, डडेल्धुरा मेडिकल कलेजका डिन प्रा.डा. जोशीले भने– एमबिबिएस तहको कक्षा सुरु गर्न बढि समय लाग्छ । किनकि त्यसका लागि होस्टेल, भवन, अस्पताल आदिको व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले हामीले अहिले एमडिएमएस तहको पढाई सुरु गर्ने गरी तयारी गरिरहेका छौ ।

एमडिएमएस अर्थात पोष्ट ग्राजुएट कक्षा सञ्चालनका लागि तीन सय सैयाको अस्पताल सञ्चालन हुनुपर्ने हुन्छ । डिन प्रा.डा. जोशीका अनुसार प्रत्येक विभागमा एक जना प्रोफेसर र एक जना एसोसिएट प्रोफेसरले ३० बेड सञ्चालन गर्न पाउने र दुई जना विद्यार्थीलाई अध्यापन गर्न पाउँछन् ।

डडेल्धुरा मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्न करिब दुई अर्ब रुपैयाँ आवश्यक हुने बताइएको छ ।

पोष्ट ग्राजुएट कक्षा सञ्चालनका लागि पाठ्यक्रमको मस्यौदा बनाएर पठाइसकेको डिन प्रा.डा. जोशीले बताए ।

मङ्गलबार धनगढीमा भएको छलफल कार्यक्रमको संयोजन गरेका डडेल्धुराबाट निर्वाचित प्रदेश सभा सदस्य डा. तारा जोशीले “पछिल्ला दिनमा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशंका सिर्जना भएकोले स्पष्ट पार्नु जरुरी रहेको” बताए ।

उनले भने– मेडिकल कलेजका लागि भवनसहितको भौतिक संरचना निर्माण कार्य शुरुमा निकै तीब्र गतिमा अघि बढेको थियो । तर, पछिल्लो समय निर्माणको गति केही सुस्त भएको छ । त्यसैमा अहिले सरकार परिवर्तन भएको छ । यसले गर्दा आम जनतामा यो मेडिकल कलेज बन्छ वा बन्दैन भन्ने खालको आशंका बढेको छ । उनले आम नागरिकमा बढेको आशंका निवारण गर्न सबैमा आग्रह गरे ।

प्रदेश सभा सदस्य जोशीले विगतमा कैलालीस्थित गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेजबारे विभिन्न पक्षबाट अन्योलपूर्ण धारणाहरू आउने गरेको चर्चा गरे ।

छलफलमा सहभागी कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले “निहीत स्वार्थका लागि विभिन्न पक्षबाट गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेजबारे भ्रामक धारणा व्यक्त हुनेगरेको” बताए ।

छलफलका क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. जोशीले डडेल्धुरा मेडिकल कलेजका लागि सरकारले विनियोजन गरेको रकम तत्काल निकासा गर्न र जनशक्ति तथा अन्य आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्न जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई आग्रह गरे ।

निर्माण भइरहेका डडेलधुरा मेडिकल कलेजका भवन।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार