१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्रीद्वारा सुदूरपश्चिम महिला क्रिकेट टिलाई बधाई




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिएका छन् ।

मुख्यमन्त्री रावलले आइतबार बधाई सन्देश दिँदै सुदूरपश्चिम प्रदेशको महिला क्रिक्रेट टोलीले प्रदेशको नाम, शान र मान अझै उचो बनाएकोमा शुभकामना तथा बधाई व्यक्त गरेका छन् ।

शनिबार भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ६ विकेटले हराउँदै उपाधी उचालेको हो ।

प्रदेश १ ले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले एक बल बाँकी छँदै चार विकेट गुमाएर पुरा गरेको थियो । सुदूरपश्चिमका सम्झना खड्काले अविजित २७ र डोली भट्टले २२, कविता जोशीले १९ रन कविता कुँवरले १२ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ का काजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुवीना चौधरीले १४ रन बनाएका थिए ।

उपाधीसँगै सुदूरपश्चिम प्रदेशले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । भने उपविजेता प्रदेश १ ले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय टिम गरी ८ टिम सहभागी थिए ।

मुख्यमन्त्री रावलले शुभकामना तथा बधाई सन्देशमा भनेका छन्– भौगोलिक विकटता, सीमित साधन स्रोत, भौतिक संरचनाको अभाव भए पनि खेल कौशल र क्षमता प्रदर्शन गरेकोमा उच्च प्रसंशा गर्दछु ।

उनले खेलकुदको माध्यमबाट कुशल, अनुशासित र स्वस्थ जनशक्ति तयार हुनुका साथै सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार गर्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री रावलले प्रदेश सरकार क्रिकेट लगायत सम्पूर्ण खेल विधाको विकासका लागि ठोस, नीति र दृष्टिकोण बनाएर अगाडि बढ्ने बताएका छन् ।

उनले बधाई सन्देशमा “शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यसंग खेलकुदले गहिरो सम्वन्ध राख्ने” उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार