२८ पुष २०८१, आईतवार

हिउँदमा पनि कर्णाली नदीमा डल्फिन




धनगढी/ प्रायः वर्षायाममा कैलालीका कर्णाली, मोहना, पथरैया, कान्द्रा लगायतका नदीमा देखापर्ने दुर्लभ स्तनपायी जलचर डल्फिन हिउँदमा पनि देखा परेका छन् ।

कर्णाली नदीमा अहिले फाटफुट रुपमा डल्फिन देखापरेको स्थानीयले बताए । स्थानीयका अनुसार टीकापुर नगरपालिका वडा नम्बर ८ मा रहेका श्रीलंका र अरुणाफाँटा सहित कर्णाली नदीमा डल्फिन देखापरेका छन् ।

कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा, कान्द्रा लगायतका नदीमा वर्षायाममा डल्फिन देखापर्ने गर्दछन् । तर, कर्णाली नदीमा भने बाह्रै महिना डल्फिनको बासस्थान रहेको मानिन्छ ।

गंगटिक प्रजातीको डल्फिन सफा र गहिरो पानी भएको नदीमा बस्ने गर्दछन् । वर्षायाममा कर्णालीका सहायक नदीहरुमा जलस्तर बढ्ने भएकोले डल्फिनहरु चरनका लागि आउने गरेको संरक्षणकर्मीहरु बताउँछन् ।

गंगेटिक प्रजातिको डल्फिन दुर्लभ स्तनपायी जलचर हो । वयस्क डल्फिनको तौल एक सयदेखि एक सय ५० किलोसम्म हुने गर्दछ । गंगेटिक प्रजातिको डल्फिन २५ वर्षसम्म बाँच्ने गर्दछ ।

स्वास फेर्न पानी बाहिर निस्कने र स्वास फेर्दा स्वाँ आवाज आउने भएकोले स्थानीयले डल्फिनलाई सोंसु वा स्वासुँ पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार