१५ चैत्र २०८०, बिहीबार

अस्पतालमा फोहोरलाई मोहरमा बदल्ने अभियान




टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा रहेको टीकापुर अस्पतालले फोहोरलाई मोहरमा बदल्ने कार्य अघि बढाएको छ ।

अस्पतालले रातो, निलो र हरियो रंगका बाल्टिनको व्यवस्था गर्नुका साथै काँचका बोतल, सुई र रगतजन्य पदार्थ लागेका सामग्री राख्नका लागि छुट्टै बाल्टिनको व्यवस्था गरेको छ ।

अस्पतालले फोहोरहरू छुट्टयाएर तोकिएको भाँडामा राखेका सामग्री फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरेर बिक्री गर्ने गरेको छ । टीकापुर अस्पतालले सो कार्यबाट एक महिनामा २८ हजार रुपैयाँ आम्दानी भएको जनाएको छ ।

अस्पतालमा प्रयोग भैसकेका प्लाष्टिक र काँचका बोतल, प्लाष्टिक, कागज, पञ्जा, सिरिञ्ज, पाइप, प्याड लगायतका सामग्रीहरू अटोक्लेभ मेशिनमा राखेर निर्मलीकरण गर्ने काम हुने गरेको छ ।

निर्मलीकरण गरिएका रगतजन्य पदार्थ खाल्डोमा गाड्ने, प्याड सुकिसकेपछि आगोले जलाउने र अन्य सामग्रीहरू पुनःप्रयोगका लागि विक्री गरिने गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालमा निस्कने फोहोर अन्यत्र विसर्जन गर्न नमिल्ने र अस्पतालभित्रै जलाउँदा प्रदूषण हुने समस्या भएकोले अटोक्लेभ मेसिनको प्रयोग गरेर समस्या समाधान गरिएको बताए ।

उनले पोखरा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास सिकाएर दुई जनालाई सेती प्रादेशिक अस्पतालमा तालिम दिएपछि फोहोर व्यवस्थापनको काम शुरु गरिएको बताए । फोहोर व्यवस्थापनका लागि अस्पताललाई कोइका र विश्व स्वास्थ्य संगठनले एकएक वटा अटोक्लेभ मेशिन प्रदान गरेको उनले बताए ।

अस्पतालका दुई जना कर्मचारीले दैनिक छ घण्टा जति काम गरिरहेका छन् । डेढसय लिटर क्षमताका दुई वटा मेशिन भए पनि हाल अस्पतालको फोहोर मात्रै निर्मलीकरण गर्न एउटै मेशिनबाट काम भइरहेको छ ।

फोहोर बर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिता गर्ने हो भने नगरपालिकाको फोहोर पनि प्रशोधन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार