१२ बैशाख २०८१, बुधबार

श्रवणशक्ति गुमाएकाहरूका लागि रोजगारमूलक तालिम




धनगढी/ तत्काल रोजगारी उपलब्ध गराउने उद्देश्यसहित धनगढीमा श्रवणशक्ति नभएकाहरूका लागि वेटर तथा हाउसकिपिङ तालिम भएको छ ।

परिलक्षित संस्थाले नेपाल बहिरा संघ, कैलालीको समन्वय तथा होटल सनलाइट प्रालिको व्यवस्थापनमा १३ दिने वेटर तथा हाउसकिपिङ तालिम सञ्चालन गरेको हो ।

तालिममा दुई महिला र दुई पुरुषको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा बुधबार बहिरा संघ, कैलालीका अध्यक्ष दिनेश पनेरुले संस्थाले बहिरा बालबालिको शिक्षादेखि रोजगारीका लागि तालिम लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले कैलालीमा दुई हजार तीन सय बढी बहिरा रहेको बताए । उनले भने– तर, बहिरा व्यक्ति रोजगारीमा रहेको संख्या निकै कम छ । उनले स्वयं अभिभावक तथा परिवार पनि बहिरा छोराछोरीलाई शिक्षादिक्षा तथा रोजगारीमा लगाउनेतर्फ सजग देखिँदैनन् ।

उनले बहिरा युवायुवतिलाई आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुन आग्रह गरे । भने– तपाईं आत्मनिर्भर बन्नुभयो भने समाजमा सम्मानपूर्वक बाच्ने आधार प्राप्त हुनेछ ।

कार्यक्रममा कैलाली होटल व्यवसायी संघका अध्यक्ष तथा होटल सनलाइटका सञ्चालक कलमबहादुर बमले सपाङ्ग व्यक्तिभन्दा बहिरा व्यक्तिले चाढो सीप सिक्ने गरेको आफूले अनुभव गरेको बताए । उनले वेटर तथा हाउसकिपिङ तालिम लिएकाहरुलाई तत्काल रोजगारी दिने बताए ।

परिलक्षित संस्थाका फिल्ड कार्यक्रम अधिकृत हरिप्रसाद जोशीले अपाङ्गता भएका व्यक्तिहरुको सर्वांगिण विकासका लागि काम गर्ने लक्ष्यसहित काम गरिरहेको बताए । उनले भने– हामी अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गरी परियोजनाले काम गरिरहेको छ ।

कार्यक्रममा प्रशिक्षार्थी चन्द्र खोलाउलाले तालिम अवधि कम भएका कारण धेरै सिक्न नसके पनि काम गर्न सक्छु भन्ने विश्वास पलाएको बताए ।

अर्का प्रशिक्षार्थी जीवन चौधरीले आफूलाई काम गर्ने इच्छा भएकोले संस्थाहरुलाई सहयोगका लागि आग्रह गरे ।
त्यस्तै, हाउसकिपिङ तालिम लिएका प्रियंका चौधरी र निलम चौधरीले आफूहरुलाई काम गर्ने इच्छा रहे पनि अभिभावकको मन्जुरी चाहिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार