१३ बैशाख २०८१, बिहीबार

भिनाजुद्वारा सालाको हत्या




धनगढी/ कैलालीको जोशिपुर गाउँपालिका–६, कुमारीबागमा एक अधवैशे व्यक्तिले धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरेका छन् ।

हिजो मंगलबार राती ९ बजेतिर जोशीपुर–६ कुमारीबागका ५० वर्षीय गौरिलाल ढुंगानाले सोही वडाको भगतपुरका ३३ वर्षीय पदमराज भण्डारीलाई हसिया प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । ढुंगानाले पदमराज र ४० वर्षीय जयराज भण्डारीमाथि हसियाले आक्रमण गरेको बताइएको छ । अभियुक्त गौरिलाल र मृतक पदमराज तथा घाइते जयराज नाताले भिनाजु–साला रहेको खुलेको प्रहरीले जनाएको छ ।

हसियाको आक्रमणबाट गम्भीर घाइते दुवै जनालाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा डाक्टरले पदमराजलाई मृत घोषणा गरेका थिए । गम्भीर घाइते जयराजलाई थप उपचारका लागि मंगलबार मध्यराती नै कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

जोशिपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज, प्रहरी नायव निरीक्षक चंखबहादुर कडायतले घटनापछि फरार रहेको गौरिलालको खोजतलास कार्य भइरहेको बताए । उनले घटनाको कारणबारे अझै खुल्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार