१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने




धनगढी/ सुदूरपश्चिम महोत्सव, २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबार (मंसिर २२ गते) देखि धनगढी–१, पशुपतिटोलमा महोत्सव सञ्चालन हुँदैछ । महोत्सवको एक विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएकोे छ ।

कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ । यो महोत्सवको यो १६ औं संस्करण हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक र भौतिक विकासका प्रमुख आधारहरुलाई सरकारसामु माग रुपमा प्रस्तुत गर्दै आएको संघले यस पटक धनगढीमा प्रदर्शनीस्थल निर्माणलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी समेत गरेको छ ।

पहिलो महोत्सवदेखि नै संघले धनगढी अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरिफन्टा सीमानाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनीस्थल, सितगृह, लगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ ।

महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकारसम्मेलनमा संगले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । सो अवसरमा आयोजक प्रचारप्रचार समितिका संयोजक मनोज अग्रवालले भने– यो महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कलासंस्कृति, खानपान, भाषाको संरक्षणसहित व्यवसायिक रुपमा सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास गरेका छौं ।
उनले हामी समृद्ध सुदूरपश्चिम प्रदेश बनाउने अभियान अन्तर्गत महोत्सवको १६ औं संस्करणमा आइपुगेको चर्चा गर्दै सुदूरपश्चिमकै एक प्रमुख पर्वका रुपमा स्थापित भइसकेको महोत्सवलाई बनाउन सबैको सहयोगका लागि आग्रह गरे ।

संघका अनुसार यस पटक महोत्सवमा चार सय बढि स्टलहरू रहने छन् । महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोवाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सय बढि स्टल रहने छन् । पत्रकार सम्मेलनमा आयोजक मूलसमितिका संयोजक तथा संघका अध्यक्ष पुष्पराज कुँवरले विगतका वर्षहरूमा बढिमा तीन सयसम्म स्टल रहने गरेकोमा यस वर्ष चार सय बढि नाघेको बताए ।

उनले धनगढीमा प्रदर्शनीस्थलको अभाव भएका कारण ठूला महोत्सव, सभासमारोह गर्न निकै कठिनाई भइरहेको बताए । उनले भने– यस पटक हामीले प्रमुख रुपमा प्रदर्शनीस्थलको विषयलाई मागका रुपमा सरकारसामु राख्ने तयारी गरेको छौं ।

संघका महासचिव ओमबहादुर बिष्टका अनुसार महोत्सव सञ्चालनमा दुई करोड रुपैयाँ बढि खर्च हुने छ । उनले महोत्सव अवधिभरी पाँच लाख बढि व्यक्तिले अवलोकन गर्ने र सात करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए ।

यस पटक महोत्सवमा बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताका साथै ताजा तरकारी, माछा, दूग्धजन्य पदार्थ, पोल्ट्री, च्याउ आदि उपजलाई प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्र र समुदायका मौलिक कलासंस्कृतिको प्रवद्र्धन र गीतसंगीतको क्षेत्रका स्थापित र उदयमान कलाकारहरूलाई विशेष ग्राहता दिइएको छ ।

महोत्सवस्थलमा सुरक्षाका लागि निजी सुरक्षाकर्मीहरू समेत परिचालन गरिने छ । त्यस्तै, महोत्सव स्थलमा २६ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । जेष्ठ नागरिक तथा फरक क्षमता भएका दर्शकका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीहरूलाई ५० रुपैयाँ र अन्यलाई एक सय रुपैयाँको टिकटको प्रबन्ध गरिएको छ ।

“यसै महोत्सवबाट हामी प्रतिटिकट पाँच रुपैया व्यवसायीहरूका लागि विपद कोषमा राख्ने व्यवस्था मिलाएका छौं” संघका अध्यक्ष कुँवरले भने– त्यस्तै, प्रतिटिकट दुई रुपैयाँ असहाय, अशक्त, अनाथ तथा सडक व्यक्तिलाई आश्रय दिइरहेका संघसंस्थाहरूको सहयोगका लागि छुट्याउने प्रबन्ध गरेका छौं ।

महोत्सवमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका कम्तिमा एउटा सांस्कृतिक झाँकी तथा थारु, रानाथारु, सौका लगायतका समुदायका मौलिक संस्कृति प्रदर्शनीको तयारी गरिएको उनले बताए ।

महोत्सवमा सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । विगतमा प्रदेश प्रहरीको खेलमैदानमा आयोजना हुँदै आएको महोत्सव गत वर्षदेखि धनगढी–१, पशुपतिटोलको व्यक्तिको निजी जमिनमा सञ्चालन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार