६ चैत्र २०८०, मंगलवार

कर्जा ब्याजदरको बृद्धिको तीब्र विरोध




कालो पोशाकमा व्यवसायीद्वारा विरोध र्याली

धनगढी/ बैंक तथा वित्तीय संस्थाहरूले गरेको कर्जा ब्याजदरको चर्को विरोधमा रहेका व्यवसायीहरूले बुधबार धनगढीमा विरोध र्याली निकालेका छन् । उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको “चालू पुँजी मार्गनिर्देशन, २०७९” लाई स्थगित गर्न र आवश्यक सुधारको माग समेत दोहोराएका छन् ।

राष्ट्र बैंकको नयाँ नीति तथा बैंक तथा वित्तीय संस्थाहरूको गरेको कर्जा ब्याजदर बृद्धिको विरोधमा बुधबार कैलाली उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीहरूले ट्राफिक चौराहदेखि राष्ट्र बैंक कार्यालयसम्म विरोध र्याली गरे ।

संघले “बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो पटक गरेको कर्जा ब्याजदर बृद्धि तथा राष्ट्र बैंकको चालू पुँजी कर्जा मार्गनिर्देशन, २०७९ र बैंकको नीतिनियमविरुद्ध आन्दोलनको घोषणा” गरिसकेको छ । आन्दोलित व्यवसायीहरूले बुधबार कालो पोशाकमा शान्तिपूर्ण विरोध र्याली निकालेका थिए ।

“७ प्रतिशत ब्याजमा लिएको ऋण १५ प्रतिशतमा कसरी तिर्ने ?”, “बैंकको ब्याजदर एकल विन्दू कायम गर”, व्यवसायीमाथिको व्यापार बन्द गर”, “बैंकको उच्च सेवा शुल्क बन्द गर”, अर्थतन्त्र धरासायी बनाउने एउटा, चोट पाउने अर्कै” लगायतका नाराअङ्कित प्लेकार्डहरूसहित व्यवसायीहरूले मौन विरोध र्याली गरेका थिए ।
विरोध र्यालीबीच आन्दोलित व्यवसायीहरूले धनगढीस्थित राष्ट्र बैंकमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

आन्दोलनरत व्यवसायीहरूले ज्ञापनपत्रमार्फत राष्ट्र बैंकलाई “पटकपटकको ब्याजदर बृद्धि तथा कर्जा भुक्तानीका क्रममा दिइने मानसिक यातना र चर्को सेवाशुल्क अब निजी क्षेत्रले धान्न नसक्ने” तर्फ ध्यानाकर्षण गरेका छन् ।

व्यवसायीहरूले राष्ट्र बैंकले जारी गरेको “चालू पुँजी मार्गनिर्देशन स्थगित गर्दै आवश्यक सुधार गर्न अनुरोध समेत गरेका छन् ।
विरोध र्यालीका क्रममा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना महामारीले थला परेको अर्थतन्त्र उकालो नलाग्दै औद्योगिक क्षेत्रमा कर्जाको सीमा घट्ने सम्भावनाले देशको कुल ग्राहस्थ उत्पादन प्रभावित हुने देखिएकोले राष्ट्र बैंकको चालू पुँजी मार्गनिर्देशनमा सुधार गर्न आग्रह गरे ।

उनले बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप बृद्धि नभए पनि निक्षेपमा ब्याजदर बढाउने आधारदर बढेको भन्दै पछिल्लो ६ महिनाको अवधिमा कर्जा ब्याजदर दोब्बर बनाउँदा आधिकारिक व्यापार विस्थापित भएर अनाधिकृत व्यापारले प्रश्रय पाउनेतर्फ सरकारले ध्यान दिन आग्रह गरे ।

बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा ब्याजदर बृद्धि तथा राष्ट्र बैंकको नयाँ नीतिप्रति असहमत हुँदै आन्दोलनमा उत्रिएका व्यवसायीहरूले समस्याको तर्कपूर्ण सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । संघका बरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाका अनुसार आन्दोलनका आगामी कार्यक्रमबारे छलफल भइरहेको छ । उनले भने– हामी छलफलमा छौं, छिट्टै आन्दोलनका आगामी कार्यक्रम अघि बढाउँदै छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार