१६ चैत्र २०८०, शुक्रबार

कैलालीमा हात्तिपाइलेको औषधि खान शुरु



धनगढी / कैलालीसहित देशका १० जिल्लामा शनिबारदेखि आम औषधि सेवन अभियान शुरु भएको छ । हात्तीपाईले रोग निवारण गर्ने उद्देश्यले कैलालीसहित देशभरी नै आम औषधि सेवन अभियान सञ्चालन गरिएको हो ।

जिल्लामा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खडकाले सो औषधि सेवन गरि अभियानको शुभारम्भ गरेका थिए । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा मन्त्री खडकाले औषधि सेवन गर्दै भने –भ्रमका पछि नपरी सबै नागरिकले यो औषधि सेवन गरि अभियानलाई सफल बनाउन सहयोग गर्नुहोला ।

उनले हात्तीपाईले रोगविरुद्धको औषधिबारे समाजमा भ्रम बढी फैलिरहेको बताए । नागरिकलाई स्वास्थ्य राख्न सरकारले आवश्यकता अनुसार समयमा समयमा विभिन्न किसिमका अभियानहरु चलाउने गरेको छ’ उनले भने –‘आम औषधि सेवन अभियानपनि नागरिकलाई हात्तीपाईले र हाइड्रोसिल रोगबाट बचाउन अघि बढाईएको हो । तर, यसबारे बढी अफवाह फैलदा अभियान विफल बन्दै गएको छ ।

मन्त्री खडकासंगै मन्त्रालयकी सचिव रिता भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायत सञ्चारकर्मीहरुले सो औषधि सेवन गरेका थिए ।

दशौं चरणको अभियान अन्तर्गत शनिबारदेखि शुरु भएको अभियान सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा मात्र जारी रहेको छ ।

कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ ।

आठ लाख ९७ हजार तीन सय ८२ जनसंख्यामध्ये आठ लाख ६९ हजार आठ सय ६९ जनालाई सो ओषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्थानीय तहहरूमार्फत सञ्चालन भइरहेको यो अभियान चैत १५ गतेसम्म केन्द्र र घरदैलोमार्फत औषधि सेवन गराइने बताइएको छ ।

विगतमा एल्बेन्डाजोल र डिइसी चक्कीमात्र सेवन गर्नुपर्ने थियो भने यस वर्ष आइभरमेक्टीन पनि सेवन गर्नुपर्ने रहेको छ । हात्तीपाइलेसंगै यो औषधि लुतो, जिम्रा पर्ने, मलेरिया लाग्न नदिन पनि काम गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन ।

‘आम औषधि सेवन कार्यक्रमले हात्तीपाईले रोगी र हाइड्रोसिलका विरामीमा कमी हुँदै आएको भएपनि अझै पनि निवारण भने हुन सकेको छैन’ कार्यालय प्रमुख धामीले भने ।

कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७४÷७५ मा ६७ दशमलव नौ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ६९ प्रतिशतले औषधि सेवन गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कैलालीमा लक्ष्यको ७५ दशमलव दुई प्रतिशत व्यक्तिले हात्तीपाइले रोग विरुद्धको औषधी खाएका थिए । आर्थिक वर्ष ७७/७८ मा ७६ दशमलब दुई प्रतिशले सो औषधि खाएको तथ्यांक रहेको छ ।

२०७६ सालमा गरिएको अध्ययन अनुसार जिल्लामा नौ दशमलब ८४ प्रतिशतले सो औषधि एक पटक पनि खाएका थिएनन भने ९० दशमलब १६ प्रतिशतले एक पटकमात्र औषधि सेवन गरेका थिए भने ४६ दशमलब ७२ प्रतिशतले हरेक वर्ष औषधि खाएका थिए ।

त्यस्तै, २०७८ मा गरिएको अध्ययनमा अहिलेसम्म सो औषधि नखाने पाँच दशमलब तीन प्रतिशत रहेको थियो । ९४ दशमलब सात प्रतिशतले एक पटकमात्र औषधि सेवन गरेका थिए भने ४८ दशमलब पाँच प्रतिशतले हरेक वर्ष औषधि खाएका थिए ।

लक्ष्य अनुसार सबैलाई यो औषधी खुवाउनु पर्ने भएकाले कैलालीमा दशौं चरणको अभियान सञ्चालन गर्नुपरेको उनले बताए ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा अठ सय ११, आर्थिक वर्ष २०७४/७५ मा आठ सय ५२, आर्थिक वर्ष २०७५/७६ मा दुई सय दुई, आर्थिक वर्ष २०७६/७७ मा एक सय ६४ हाइड्रोसिलका विरामीको शल्यक्रिया गरिएको थियो भने क्रमशः एक सय ४५, एक सय ३८, ६९, ५३ र ३२ जना हात्तिपाईलेको विरामी रहेका थिए ।

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोगविरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो । अहिलेसम्म ५३ जिल्लाहरूमा हात्तीपाईले संक्रमण समुदायस्तरमा रोकिसकेको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफनै उपस्थितिमा खुवाउनुपर्ने वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर बताउँछन ।

उनले हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण कैलालीमा हात्तीपाईले निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताए ।

हात्तीपाइलेको औषधि खाँदा हुन सक्ने असरबारे स्वास्थ्यकर्मीहरूले पनि राम्रोसँग मानिसलाई बुझाउन नसकेको बताए । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्यु भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या कम हुनसकेको छैन ।

हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिनसक्ने डाक्टर कमरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार