१६ चैत्र २०८०, शुक्रबार

अक्सिजन प्लाण्ट बन्यो तर किन्नु पर्ने अवस्था हटेन



टीकापुर / टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट बने पनि अक्सिजन किन्नु पर्ने वाध्यता यथावतै छ ।

कोभिडको दोस्रो लहर आउदा अक्सिजन अभाव भएपछि टीकापुर अस्पतालमा ७९ लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ तर प्लाण्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्ने उपकरण नजोड्दा अस्पतालमा आउने बिरामीलाई आवश्यक पर्ने अक्सिजन किनेरै प्रयोग गर्नु परिरहेको छ ।

“त्यतिबेला प्लान्टको मात्रै डेण्डर गरियो फिलिङ बुस्टर राखिएन यो नहुँदा सिलिण्डरमा भर्न सकिदैन” अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डाक्टर रेमकुमार राईले भने, “सङ्घीय सरकाररबाट आएको ७५ लाख रुपियाले प्लाण्ट बन्यो समयमा प्लाण्ट जडान नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले दिने भनेको बजेट फ्रि भयो स्थानीय पालिकाले प्रतिवद्धता गरे अनुसारको रकम पनि पाइएको छैन् ।”

फिलिङ बुस्टर भैदिए टीकापुर अस्पतालमा भएको प्लाण्टले दैनिक ६० सिलिण्डर अक्सिजन भर्न सकिने र यस वरिपरिका पालिकामा रहेका स्वास्थ्य संस्थालाई पनि दिन सकिने अस्पतालका स्टोर किपर सञ्जिव शाह बताए ।

स्टोर किपर शाहका अनुसार अहिले टीकापुर अस्पतालले मासिक एक लाख जतिको अक्सिजन किनेर प्रयोग गरिरहेको छ । अस्पतालमा जडान भएको अक्सिजन प्लाण्टबाट आईसीयू र एचडीयू कक्षमा पाइपमार्फत अक्सिजन आपूर्ति भैरहेको छ ।

यस बाहेक दैनिक शल्यक्रिया हुने कक्ष, वार्ड, आकस्मिक कक्ष लगायतका कक्षमा सिलिण्डरबाटै अक्सिजन आपूर्ति भैरहेको छ । अहिले आईसीयू र एचडीयू कक्षका लागि मात्रै अक्सिजन आपूर्ति गर्न प्लाण्ट चलाउदा विद्युत खर्च पनि बढिरहेको छ ।

टीकापुर अस्पतालमा स्थापना भएको अक्सिजन प्लाण्टले उत्पादन गरेको अक्सिजन सिलिण्डरमा भर्न २५ देखि ६० लाखसम्म रुपियाँ पर्ने पर्ने फिलिङ बुस्टर जोडनु पर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय वा स्थानीय पालिकाले दिने प्रतिवद्धता जनाएको बजेट आएमा फिलिङ बुस्टर जोडिने अस्पतालका निमित्त मेसु डाक्टर राईले बताए ।

टीकापुर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्न टीकापुर नगरपालिकाले २० लाख, भजनी नगरपालिका र जानकी गाउँपालिकाले १५÷१५ लाख रुपियाँ बजेट दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार