२३ बैशाख २०८१, आईतवार

बडिमालिका नगरपालिकाले बनायो पर्यटन गुरुयोजना



बाजुरा / बाजुराको बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ ।

नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख पदमबहादुर बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ ।

उनले नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा निर्माण गरिएको सो गुरुयोजनामा दीर्घकालीन पर्यटन विकास योजना समेटिएको जानकारी दिए । जिल्लाका नौवटा स्थानीय तहमध्ये पर्यटन गुरुयोजना बनाउने बडीमालिका पहिलो पालिका हो ।

पालिकाभित्रका नौवटै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र, स्थानीय रैथानले बाली उत्पादनको पकेट क्षेत्रसहितको विवरण उल्लेख हुने गरी योजना निर्माण गरिएको नगर उपप्रमुख कविता विष्टले बताइन ।

उनले नगरपालिकाको लागि बनाइएको गुरुयोजना प्रारम्भिक विवरणसहित २०० पृष्ठ लामो गुरुयोजनाको सरोकारवाला बीचको छलफल तथा सुझाव संकलन गरिएको बताइन ।

नगरभित्रका पर्यटन, धार्मिक र सांस्कृतिक तथा रैथाने बालीको अध्ययन गरी तयार पारिएको गुरुयोजनालाई अन्तिम रूप दिन पर्यटन क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरूस“ग सुझाव संकलन लिने कार्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सिंगो नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्यांकसहितको विवरण गुरुयोजनामा समेटिएको छ ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले नगरको आर्थिक विकास र समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गरिएको बताए । बडीमालिका, कालाजाग्रा, दुनालेख, त्रिवेणी पाटन, वीरे झरना पोरखे क्षेत्रसहितका प्रमुख गन्तव्यलाई गुरुयोजनामा विशेष स्थान दिइएको पाइएको छ ।

योजनामा केलबकारदेखि पैदलयात्रा, सडक बाटोबाट विमानस्थलका विषयलाई समेत समेटिएको छ । छिमेकी स्थानीय तहस“गको सहकार्यमा नै थप परिमार्जन र एकीकृत योजना निर्माण गरेर अघि बढ्न सके योजनाले दीर्घकालीन महत्व राख्ने गुरुयोजना निर्माण समितिका संयोजक एवं पर्यटनविज्ञ डा प्रनिलकुमार उपाध्यायले बताए ।

गुरुयोजनामा धार्मिक आस्थादेखि, धरोहर, स्थानीयवासीको पेशा व्यवसायदेखि उत्पादन र नगरभित्रका होटल व्यवसायदेखि व्यापारको प्रकृतिको विषयलाई समेत समावेश गरिएको छ । एक महिना लामो अध्ययन र स्थलगत अवलोकन तथा स्थानीयवासीस“गको बृहत् छलफलपछि योजनाको मस्यौदा तयार पारिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय मौलिक संस्कृति, भाषा एव्म वेषभूषालाई यहाँको पर्यटन र उत्पादनस“ग जोडेर विकास गरिने बताउदै संयोजक उपाध्यायले स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्ने नीति अंगिकार गरिएको उल्लेख गरे । गुरुयोजनामा नगरस्तरीय पर्यटन विकास समितिसहितको परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार