१३ बैशाख २०८१, बिहीबार

समाजलाई एकतावद्ध बनाउन भुँवो पर्व सहयोगी हुन्छ : प्रदेश प्रमुख जोशी



धनगढी / सुदूरपश्चिममा बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाउने भुँवो पर्व धनगढीमा शुरु भएको छ ।

सो पर्वको आइतबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले उद्घाटन गरे । पर्वको उद्घाटन गर्दे उनले धर्म, संस्कृति परम्परा र भेषभुषा जोगाउन यस्ता कार्यक्रम एकतावद्ध भएर बनाउनु पर्नेमा जोड दिए ।

प्रदेश प्रमुख जोशीले भने, भुँवो पर्व जस्ता परम्परागत हरेक वर्षपिच्छे मनाउदा पहिचान जोगिनुका साथै समाज एकतावद्ध हुन मद्धत पुग्छ ।

सो पर्व शुरु हुने पूर्वसन्ध्यामा परम्परा अनुसार आइतबार विहान कार्यक्रमस्थल रहेको धनगढीस्थित पुरानो एअरपोर्टको खुलामञ्चमा मुढा बालिएको थियो । भुवा पर्व धनगढीमा दुई दिनसम्म मनाउने कार्यक्रम छ ।

भुवा नृत्य देखाउँदै पुरानो एअरपोर्टमा पुस १८ र १९ गते भुवा पर्व मनाइने बाजुरा सेवा समाजले बताएको छ ।

बाजुरा पुख्र्यौली घर भइ धनगढी बस्ने व्यक्तिहरु थुप्रै रहेकाले परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ भुवा नाच कार्यक्रमको आयोजना गर्न लागेको बाजुरा सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।

हरेक वर्ष पुसको औंसीबाट यो पर्व मनाउन सुरु गर्ने गरिएको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि विजयी जुलुसको रुपमा भुवा पर्व नाच्ने गरेको बताइन्छ ।

तरवार र ढाल नचाउँदै विजयी उत्सवको रुपमा भुवा नाच नाचिने गरेको अध्यक्ष थापाले बताए ।

यसैबीच, भुवा पर्वको अवसर पारेर आइतबार सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्ला बाजुरा, बझाङ र अछाममा एक दिने सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार