काँग्रेसको १४ औ महाधिवेशन शुरु
काठमाडौं / नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजदेखि शुरु भएको छ । दिउँसो झण्डै साढे १ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन शुरु भएको हो ।
महाधिवेशनको एक समारोहकाबिच प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समुदघाटन गरेका थिए ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकार बन्नुअघि देशभर त्रास भएको तर आफू प्रधानमन्त्री भएर आएको भोलिपल्टै त्यसबाट मुक्ति मिलेको दाबी गरेका छन् ।
मेरो सरकार बन्नुअघि देशभर डर र त्रास थियो । म प्रधानमन्त्री बनेको भोलिपल्टै त्यसबाट मुक्ति मिलेजस्तो भयो, प्रधानमन्त्री देउवाले भने ।
यो महाधिवेशनले डर त्रासबाट मुक्त समाज बनाउनका लागि निर्णय गर्नुपर्ने उनले बताएका थिए । ‘त्यो निर्णय गरेको अवस्थामा आउँदो निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसको बन्नेछ । त्यो मेरो जिम्मा भयो, देउवाले दाबी गरे ।
उनले त्यसका लागि महाधिवेशनमा आफूलाई जिताउन भने आवश्यक रहेको सर्त अघि सारेका थिए । एकपल्ट मलाई जिताइदिनुस् देउवाले भने, ‘डर त्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ । नेपालमा कांग्रेस शासन ल्याइन्छ ल्याइन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।
कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए । उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिवार्ताको पहिलो श्रेय नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जाने बताए । नेपालमा शान्तिवार्ता गर्ने पहिलो श्रेय वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै जान्छ, उनले भनेका थिए, उहाँले नै पहिलो पटक मलाई पत्र लेख्नु भएको थियो । त्यसपछि विस्तारैपछि शान्त सम्झौता भएको थियो ।
राजनीतिक दल सत्तामा पुग्दा विचलित हुने गरेकाले यसको खोजी गर्न पनि उनले आग्रह गरेका थिए । ‘किन सुशासन दिन सक्दैनन् किन भ्रष्टाचार रोक्न सक्दैनन्, किन सत्तामा पुग्दा विकृति र विसंगतीको लिप्सामा हुन्छन् ? यसको खोजी गरौं मन्थन गरौं, उनले भने ।
गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै विस्तृत शान्ति सम्झौतामा आफूले हस्ताक्षर गर्दा आजको अवस्था आएको उनको भनाइ थियो ।
एकल पार्टी वा संयुक्त रुपमा सत्तामा जाँदा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकिएकाले अब समिक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
म आफै गणतन्त्रपछिको ठूलो पार्टी भएर सत्तामा पुग्दा दम्भ आउने र जनतास“गको सम्बन्ध टाढा हुने तितो अनुभव मैले गरेको छु उनले भनेका थिए ।
सत्तारुढ गठबन्धनप्रति लक्षित गर्दै उनले एक्लै हिड्नुपर्छ भन्ने अहंकार नगर्न उनले आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि खतरा रहेको भन्दै सचेत रहन आवस्यक रहेको बताए ।
‘तानाशाही त्यसरी नै आउँछ । हामी सचेत हुन जरुरी छ प्रचण्डले भने ।
त्यस्तै आफूहरुले बेलाबेला चर्काचर्का कुरा गरे पनि मिल्ने गरेको बताए । हामी आपसमा बेलाबेलामा चर्को प्रतिष्पर्धा गर्ने गरेका छौ । हामी हातेमालो गरेर प्रधानमन्त्री बनाउने पनि गरेका छौ प्रचण्डले भने ।
उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिदै नेपालले यस्तो चेतावनी दिएका हुन् ।
उनले देशको राजनीतिमा कालो बादल मडारिएको बताए । उनले भने, सावधान देशमा कालो मादल मडारिएको छ ।
राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।
एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए ।
नेकपा मालेका महासचिव सीपी मैनालीले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । उनले विगतमा ओलीले रातिमा संसद विघटन गरेको भन्दै व्यंग्य गरेका छन् ।
सयौ अध्यादेशहरु छन् कानुन बनाईदैन । प्रतिपक्षी अवरोध गरिरहन्छ । सुरु भयो अवरोध हुने हो कि । सरकार भनेको देशको अभिभावक हो । देश र जनताको हित रक्षा गर्नुपर्छ । शान्ति र स्थिरतालाई देख्दैनन् भने सरकार कति गतिलो भयो भन्ने प्रश्न उठेको छ ।
संसदीय व्यवस्थामा सत्तापक्षले हिजैदेखि भागबण्डा गरेर सरकार चलाउँथ्यो । न्यायपालिका समेत भागबण्डामा फसेको छ भने त्यो कसरी हुन्छ । यो व्यवस्था हामीले तेस्रो पटक ल्यायौ उनले भने ।
त्यस्तै नेपालमा धेरै व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन नआएको भन्दै प्रश्न समेत गरे । यसैगरी नेपालमा बाह्य प्रभावहरु बढेको समेत आरोप लगाए । प्रजातन्त्र, गणतन्त्र आए पनि नेपालमा बाह्य हस्तक्षेप नबदलिएको बताए ।
व्यवस्थामा परिवर्तन भएन अवस्थामा भएन । ठूलो प्रश्न छ । बीपीलगायतको अगुवाइमा प्रजातान्त्रिकरण सुरुवात भयो । अवाञ्छित बाह्य प्रवाहहरु पनि आयो । प्रजातन्त्र गणतन्त्र आयो तर बाध्य हस्तक्षेप बदलिएन उनले भने, हिजो भन्दा आज हामी अझ तटस्थ हुनुपर्ने छ ।
सहयोग अससंलग्नताको मूल्यमा होइन । हिजोको द्वन्द्वमा भन्दा बढी नोक्सानी बेहोर्नुपर्छ । ७ मा प्रजातन्त्र ल्यायौँ दुर्घटनामा पग्यो । राति संसद विघटन गरिन्छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशमा भारतीय जनता पार्टीका प्रतिनिधि हर्षवर्द्धनले शुभकामना दिएका छन् । भृकुटीमण्डपमा भइरहेको उद्घाटसत्रमा बोल्दै उनले कांग्रेसलाई शुभकामना दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,नरेन्द्र मोदी र भारतीय जनता पार्टीको तर्फबाट हृदयको गहिराइबाट शुभकामना दिन चाहन्छु ।
उनले नेपालको राजनीतिक संस्कारका बारेमा प्रशंसा गर्दै भने, ‘मैले दुनियाँमा यस्तो संस्कार कहीँ देखेको छैन, देशका सबै ठूला दलका प्रतिनिधिहरुले एकै ठाउँमा जम्मा भएर अर्को पार्टीको सफलताका लागि शुभकामना दिएको कही देखेको छैन ।
उनले थपे, प्रधानमन्त्रीजस्तो ठूलो पदमा रहेर समेत शेरबहादुुर देउवा नेकपा एमालेलाई शुभकामना दिनको लागि दुई–तीन घण्टाको यात्रा गरेर कार्यक्रमस्थल पुग्नुभयो, यो सबैभन्दा ठूलो राजनीतिक संस्कार हो ।
यस्तो किसिमको संस्कार संसारमा कही पनि नदेखेको र नरहेको उनको भनाइ थियो ।
उनले नेपाल र भारतबीचको गहिरो सम्बन्ध रहेको भन्दै एकातिर समस्या पर्दा अर्कोतिर पीडा हुने बताए । सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको उनले बताए ।
उनले नेपाल र भारतबीचको सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।