१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस महाधिवेशन : कैलाली ५ मा पार्टी, प्रदेश तथा स्थानीय तहमा रहेकाहरु लोकप्रिय



धनगढी / सुदूरपश्चिमका धेरै ठाउँमा पार्टी र स्थानीय तहको प्रमुखको जिम्मेवारी लिइरहेका काँग्रेस नेताहरु पराजीत हुने क्रम बढी रहेको बेला कैलाली क्षेत्र नम्बर ५ मा भने फरक अवस्था देखिएको छ ।

क्षेत्र नम्बर ५ बाट धनगढी उपमहानरपालिकाका मेयर नृपवहादुर वड सवैभन्दा बढी ३७७ मत पाएर महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । ५३८ प्रतिनिधि रहेकोमा धनगढीमा ५२८ जनाले मतदान गरेका थिए त्यसअनुसार १५१ जनाले भने उनलाई मतदान गरेनन् ।

यसैगरेर नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह पनि मेयर वडपछि सबैभन्दा बढी मत पाउने छन् । उनले ३६२ मत पाएका छन् । शाह कैलाली काँग्रेसको पछिल्लो दुई कार्यकाल लगातार सभापति छन् ।

तेस्रो मत नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले ३४६ मत पाए । उनी नेविसंघको कार्यवहाक सभापति भइसकेका छन् भने कैलाली वहुमुखी क्याम्पसका उपसभापति पनि भएका छन् ।

चौथो मत भने प्रकाश देउवाले पाएका छन् । काँग्रेस केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा तथा नेतृ डा. आरजु देउवा राणाको सचिवालयमा कार्यरत देउवाले ३०३ मत पाएका छन् । उनी नयाँ अनुहार मानिए पनि राम्रो मतले विजयी भएका छन् ।

प्रदेश सभा सदस्य डिल्लीराज पन्त पनि विजयी भएका छन् । उनले २०३ मत पाए ।

धनगढी नगरपालिका ‐ ५ का तत्कालिन वडाअध्यक्ष तथा सफल व्यवसायी कृष्णबहादुर महराले भने अपेक्षा अनुसार मत ल्याउन सकेनन् । उनले २१० मत पाएर महाधिवेशन प्रतिनिधि छानिए ।

महाधिवेशन प्रतिनिधि छानिनेमा जिल्ला सभापतिका दावेदारहरु गणेशबहादुर देउवा २२६ र नारायण भटट् २०६ मतले विजयी भए । १० जना खुला सदस्यका लागि भएको मतदानमा उद्धव विष्ट १९४ र हरिश खड्का १८७ मत पाएर विजयी भए ।

अहिलेका जिल्ला सचिव पूर्ण कुँवर छ मतले प्रतिनिधि छानिन सकेनन् । उनले १८१ मत पाएका थिए ।

कैलाली क्षेत्र नम्बर ५ मा फरक काममा रहेर काँग्रेस राजनीतिमा आउन खोजेकाहरु भने पराजीत भएका छन् । पराजीत हुनेमा व्यवयसायी हिक्मतबहादुर शाह, युवा व्यवसायी रविनकान्त पन्त, पत्रकारहरु मनमोहन स्वाँर, उमीदप्रसाद वागचन, वुद्धिजीवि कमलराज जोशी पराजीत भएका छन् । पराजीत हुनेमा पुराना नेता मानबहादुर सिंह, युवा नेता रविन्द्रप्रताप सिंह पनि छन् ।

१० खुला सदस्यका लागि २९ जना चुनावी मैदानमा थिए ।

र यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार