१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री देउवा पनि महाधिवेशन प्रतिनिधिमा छानिए



डडेलधुरा / केन्द्रीय समितिमा भएकाहरु स्वतह प्रतिनिधि हुने व्यवस्था भए पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि डडेल्धुराबाट प्रतिनिधि छानिएका छन् ।

देउवाले ७९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रवहादुर वमले बताए । देउवाको नाम मतपत्रको १९ नम्बरमा रहेको थियो । देउवा पत्नी आरजु देउवा राणा भने यसअघि नै खुला महिला कोटाबाट निर्विरोध प्रतिनिधि छानिएकी थिइन ।

१२ सय ८४ मतदाता रहेकोमा निर्वाचनमा ८४६ मत खसेको थियो । खसेको मतमा ५५ जनाले देउवालाई मतदान गरेन्न । देउवाले शतप्रतिशत मत पाउने अपेक्षा थियो ।

महाधिवेशन प्रतिनिधिमा खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् ।

खुला महिलातर्फबाट देउवा पत्नी आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत भए ।

महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्न राज भट्ट निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन् ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधीमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित हुनु भए । समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ख अल्पसंख्यक तर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिए ।

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेर केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा बसेका छन् ।

मल्लले डडेल्धुरामा केन्द्रबाट सिधै पठाएका क्रियाशिल सदस्य हटाएर वडादेखि नै फेरि अधिवेशन गर्नु पर्ने माग राखेका छन् ।

काँग्रेस सम्वन्धी थप समाचार हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार