२१ बैशाख २०८१, शुक्रबार

नेकपा (एस) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई समर्थन दियो



धनगढी / नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको पहिलो बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

संसदीय दलको बैठक नेकपा (एस) का जेष्ठ प्रदेश सभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको थियो । बैठकपछि नेकपा (एस) का प्रदेश सांसद दुर्गा कुमारी विकले संसदीय दलले एकमतले वर्तमान प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्– संसदीय दलको बैठकले एकमतले वर्तमान प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गर्यो । आज (सोमबार) ढिलो भएकोले भोली (मंगलबार) समर्थन सम्बन्धी पत्र संसद सचिवालयलाई दिने छौं ।नेकपा (एस) संसदीय दलले भट्ट सरकारलाई समर्थन गर्ने निर्णय गरेसंगै सरकारले बहुमत प्राप्त गरेको छ ।

एमालेमा विवाद चर्किदा एमालेका माधव नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई संसदमा विश्वासको मत दिएका थिए ।
एमाले विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एस) बनेपछि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजिनामा दिएका थिए । यससंगै एमाले सरकारबाट बाहिरिएको थियो ।

हाल प्रदेश सभामा ५२ जना प्रदेश सांसद छन् । प्रदेश सभामा नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ (सभामुख सहित) र जनता समाजवादी पार्टीका दुई सांसद रहेका छन् ।

नेकपा (एस) को सोमबारको संसदीय दलको बैठकले सांसद विकेको संयोजकत्वमा कुलवीर चौधरी र अमरबहादुर साउद सदस्य रहेको विधान मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार